Ad Area

बुद्ध अस्पतालमा बालकको मृत्युपछि आफन्त आन्दोलित


घोराही, ३० फागुन । घोराहीस्थित बुद्ध ईन्टरनेशनल हस्पिटलमा उपचारका क्रममा एक बालकको मृत्युु भएको घटनालाई लिएर मृतकका आफन्तले आन्दोलनमा उत्रिएका छन् ।

गाला सुन्निएर बुधबार बिहान करिव ९ बजेतिर उपचारका लागि अस्पतालमा भर्ना भएकोमा उपचारका क्रममा १ घण्टापछि बालकको मृत्यु भएपछि चिकित्सकको लापरवाहीले घटना भएको भन्दै मृतक आफन्त आक्रोशित हुँदै दिनभर नाराबाजीगर्दै अस्पताल तोडफोडसमेत गरेका छन् । मृतकका आफन्तको ढुंगा प्रहारबाट अस्पतालको झ्यालका सीसा फुटेका छन् ।

‘घाँटीमा सुन्निएको थियो । त्यही उपचारका लागि घोराही आएका थियौ’ मृतकका आफन्त सपना बुढाले भन्नुभयो, ‘अस्पतालमा भर्ना भएको बच्चाको केही समयमै मृत्यु भयो । त्यसैले हामीलाई शङ्का लागेको छ ।’

अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि आफन्तले विवाद गर्दा केही समय अस्पतालमा समस्या भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभयो । घटनाबारे विस्तृत विवरण अस्पताल प्रशासनले ल्याएको छैन ।

प्रहरी नायव उपरीक्षक मल्लले भन्नुभयो, ‘बिरामीको मृत्यु भएपछि अस्पतालमा बिरामीका आफन्तले विरोध गर्दा सेवा प्रवाहमा समस्या भएको छ, घट्ना के कसरी भयो, त्यो बुझ्ने क्रममा छौँ ।’ मृतकका आफन्तका अनुसार एक साताअघि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बालकको उपचार गराएर घर लगिए पनि ठिक नभएपछि बुधवार बुद्ध अस्पतालमा उपचारका लागि लगिएको थियो ।

मृतकका आफन्त सपना बुढाका अनुसार, राजपुर गाउँपालिका वडा नम्बर १ का ९ वर्षका सुरेश कुँवरको उपचार क्रममा मृत्यु भएको हो । कुँवरको उपचारका क्रममा चिकित्सकीय लापरवाहीले मृत्यु भएको भन्दै कडा कारवाहीको माग गर्दै अस्पतालको सेवामा रोक लगाएर आन्दोलन गरेका हुन् । यो समाचार तयार पार्दासम्म अस्पताल अशान्त छ । दिनभर पटक- पटक सहमतिको प्रयास गर्दा पनि जुट्न सकेकाे छैन।

Blog Post Ad

यता अस्पताल पक्षले भने बालकको ओपिडी जाँच गर्ने क्रममै मृत्यु भएको बताएको छ । जाँचका लागि सुई लगाएर नमुना संकलन गर्नेक्रममा रगत बग्न सुरु गरेपछि बालकको मृत्यु भएको अस्पतालको भनाई छ । स्थिति नियन्त्रणमा लिन दिनभर उल्लेख्य रुपमा प्रहरी परिचालन गरिएको छ ।

सो अस्पतालमा यसअघि पनि यस प्रकारका घटना बारम्बार हुने गरेको नागरिकको भनाई छ । केही समय अघि पनि एक महिलाको उपचारका क्रममा मृत्यु भएको घटनालाई लिएर आफन्तले दुई दिन अस्पताल सेवा ठप्प पारेका थिए भने गत माघमा घोराही १७ चौघेराकी एक महिलाको उपचारका क्रममा असावधानी अपनाउँदा बिरामीको स्थिती अत्यन्तै नाजुक बनेपछि आफन्तले काठमाडौ लगेर उपचार गरेका थिए ।

Blog Post Ad Blog Post Ad