Ad Area

दाङमा लाइसेन्स प्राप्त नौ सय बढी हतियार


घोराही, ८ चैत । दाङमा लाइसेन्स प्राप्त हतियारहरू नौ सय बढी रहेको पाइएको छ । जिल्ला प्रशासन कार्याल दाङबाट विभिन्न समयमा नौ सय ७६ वटा हतियार राख्नका लागि इजाजत प्राप्त भएको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिनुभएको छ ।

लाइसेन्स प्राप्त हतियार प्रत्येक बर्ष नविकरण गर्नुपर्ने व्यवस्था भएपनि अत्यन्त न्यून मात्रामा नविकरण हुने गरेका छन् । जिल्लामा चालुआर्थिक बर्षको फागुन महिनासम्म लाइसेन्स प्राप्त हतियारमध्ये ६७ वटा हतियारको मात्रै नविकरण गरिएको प्रमुख जिल्ला अधिकारी सुवेदीले बताउँनुभयो । लाइसेन्स प्राप्तमध्ये धेरै हतियारको नविकरण हुन सकेको छैन । नौ सय ७६ हतियारमध्ये एक नाले हतियार सात सय ३ र बारबोरलगायत ठुला हतियार दुई सय ६३ वटा रहेको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

जिल्लामा लाइसेन्स प्राप्त हतियारको अवस्था के कस्तो छ र उक्त व्यक्तिले हतियार राख्नुपर्ने अवस्था हो कि होइन भनेर बुझ्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी सुवेदीले बताउँनुभयो । प्रमुख जिल्ला अधिकारी सुवेदीले भन्नुभयो,‘जिल्लामा विभिन्न व्यक्तिहरुसँग नौ सय बढी साना ठुला लाइसेन्स प्राप्त हतियार रहेको देखिन्छ । यीमध्ये अधिकांश हतियार नविकरण समेत नभएकाले बुझ्ने तयारी भइरहेको छ ।’
लाइसेन्स प्राप्त हतियारबाट दुरुपयोग हुने समेत जोखिम भएकाले समयमा नविकरण नहुने र राख्नुपर्ने अवश्यकता नभएका व्यक्तिहरुको हतियारहरु जफत समेत गरिने प्रमुख जिल्ला अधिकारी सुवेदीले बताउँनुभएको छ ।

लाइसेन्स प्राप्त हतियार राख्नेमा विशिष्ट व्यक्तिहरूसँगै सुरक्षाथ्रेट भएका र केही हुने खाने वर्गका नागरिकहरु रहेको बताउँनुभएको छ । जिल्लामा व्यक्तिगत सुरक्षा तथा हुने खाने वर्गका नागरिकहरुले सोकिङका कारण राख्ने गरेको प्रमुख जिल्ला अधिकारी सुवेदीले बताउनुभएको छ । उहाँका अनुसार बारबोर,पेस्तोल,राइफ, भरुवा बन्दुकलगायतका हतियार राख्नका लागि इजाजत दिइएको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ ।

उक्त हातहतियारहरूको दुरूपयोग बढ्न सक्ने भएका कारण जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर हतियार नविकरण तथा नविकरणका लागि नआउनेसँग जफत गर्ने तयारी गरेको प्रमुख जिल्ला अधिकारी सुवेदीले बताउँनुभयो । प्रमुख जिल्ला अधिकारी सुवेदीले भन्नुभयो,‘लाइसेन्स प्राप्त हतियारको अवस्था पत्ता लगाउनका लागि नविकरणको सूचना जारी गर्ने र नविकरणका लागि नआएमा दर्ता खारेजसँगै ट्याकिङ गरेर जफत गर्ने तयारीमा प्रशासन लागेको छ ।’

Blog Post Ad Blog Post Ad

Blog Post Ad