Ad Area

सिकलसेल प्रभावितलाई आत्मनिर्भर बनाउन सिलाईकटाई तालिम


घोराही, १५ चैत । सिकलसेल प्रभावितहरुलाई सिलाईकटाई तालिम दिन थालिएको छ । ग्रामीण महिला उत्थान केन्द्र दाङ र मेटलाईफ ईन्सोरेन्स कम्पनी लिमिटेडको साझेदारीमा तालिम व्यवस्था गरिएको छ ।

ग्रामीण महिला उत्थान केन्द्र दाङका संस्थापक अध्यक्ष आसमानी चौधरीको अध्यक्षता तथा संस्थाका संस्थापक सल्लाहकार सोगतवीर चौधरीको प्रमुख आतिथ्यमा बिहीबार तालिमको उद्धघाटन गर्दै सीप सिकाउन थालिएको हो । घोराही उपमहानगरपालिका १० नारायणपुरमा रहेका ८ जना सिकलसेल एनिमियाका प्रभावितलाई तालिम दिन थालिएको संस्थाले जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथि चौधरीले ३ महिनासम्म संचालन हुने तालिमले महिलाहरुको सीप निखार्दै आत्मनिर्भर र सक्षम बनाउन सघाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले सिकलसेलबाट प्रभावितहरुमा आत्मविश्वास जगाउँदै उनीहरुको परिवार नै आर्थिक रुपमा अगाडी बढाउने तालिमको भरपूर उपयोग गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष चौधरीले महिलाहरु आत्मनिर्भर र सक्षम बने मात्रै सशक्त समाजको परिकल्पना पूरा गर्न सकिने बताउनुभयो । उहाँले हरेक महिलाहरु आत्मनिर्भर बन्नु आजको आवश्यकता रहेको बताउनुभयो । सिकलसेलका बिरामीहरुलाई गह्रौ काम गर्न स्वास्थ्यले पनि त्यत्ति साथ नदिने हुँदा सिलाईकटाई तालिमले आगामी दिनमा आर्थिक उर्पाजनका लागि भरपुर सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।

तालिक प्रशिक्षक चित्रा सेनले हातमा सिप, काम गर्ने मेहनत र ईमान्दारिता भए कसैलाई पनि परनिर्भर बस्न नपर्ने बताउनुभयो । संस्थाका कोषाध्यक्ष मिरा चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण संस्थाका सुचना अधिकारी पार्वती बस्नेतले गर्नुभएको थियो ।