Ad Area

लुम्बिनीका मुख्यमन्त्रीले चैत २२ गते विश्वासको मत लिने


दाङ,२० चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले चैत २२ गते विश्वासको मत लिने भएका छन् । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै लुम्बिनीमा माओवादी केन्द्रले गत फागुन २३ गते समर्थन फिर्ता लिएको थियो ।

दुई वा दुईभन्दा बढी पार्टी मिलेर सरकार निर्माण भएकाले सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार मुख्यमन्त्री चौधरीले विश्वासको मत लिन थालेका हुन ।

मुख्यमन्त्री चौधरीले चैतको २२ गते दिउँसो ४ बजे विश्वासको मत लिने कार्यक्रम रहेको छ । त्यसका लागि प्रदेश सभा बैठक आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस पठाइएको प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेयले जानकारी दिएका छन्।

लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादी केन्द्रका १० (सभामुख बाहेक), राप्रपा र नागरिक उन्मुक्तिका चार–चारजना रहेका छन् । राप्रपाका जानकीलाल यादव भ्रष्टाचारको मुद्दा दायर भएपछि निलम्बित छन् ।

जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीका तीन–तीनजना सांसद छन् भने एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक–एकजना सांसद छन् । एकजना स्वतन्त्र सांसद छन् । नयाँ गठबन्धनमा रहेका एमाले, माओवादी, जसपा र नेकपा एसका सांसद संख्या ४३ छ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad