बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु,पछाडी सवार घाइते

घोराही, २७ चैत । दाङमा यात्रु बहाक बसले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
घोराही–लमही सडक खण्डअन्तर्गत घोराही उपमहानगरपालिका–१७ बेलभारस्थित तुलसीपुरबाट काठमाडौ जादै गरेको तुलसीपुर यातायात प्रालिको ना ६ ख १४८६ नम्वरको बसले गोग्लीबाट घोराहीतर्फ आउँदै गरेको लु ४१ प ८०९२ नम्वरको मोटरसाइकलाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल चालक घोराही उपमहानगरपालिका–१७ निवासी २३ बर्षीय सौगात वलीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ । त्यसैगरी दुर्घटनामा मोटरसाइकलमा सवार तुलसीपुर उपमहानगरपालिका–११ निवासी ३५ बर्षीय शरद लामिछाने गम्भिर घाइते भएका छन् ।
लामिछानेको दाहिने खुट्टालगायतका ठाउँमा चोट लागेको र अहिले घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । प्रहरीले बस चालक तुलसीपुर उपमहानगरपालिका–७ निवासी २९ बर्षीय राजेश परियारलाई नियन्त्रणमा लिएर घट्ना बारेमा थप अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख किरणप्रकाश मल्लले जानकारी दिनुभएको छ ।