Ad Area

सडक बत्तीको एक करोड बढी बक्यौता उठ्न बाँकी


घोराही, २९ चैत । दाङमा सडक बत्तीको एक करोड बढी विद्युत बक्यौता उठ्न बाँकी रहेको छ । जिल्लामा नेपाल विद्युत प्राधिकरण घोराही र तुलसीपुर वितरण केन्द्रअन्तर्गत विभिन्न सडकमा जडान गरिएको सडक बत्तीको बक्यौता एक करोड ३८ लाख ६५ हजार पाँच सय ५६ रुपैयाँ उठ्न रहेको छ ।

जसमध्ये सवैभन्दा धेरै नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रअन्तर्गत एक करोड ३५ लाख २८ हजार दुई सय ११ रुपैयाँ रहेको शाखा प्रमुख शिवनारायण गोसलीले जानकारी दिनुभएको छ । उहाँका अनुसार २०७४ सालदेखि तुलसीपुर क्षेत्रका विभिन्न स्थानमा जडान गरिएका सडक बत्तीको अहिलेसम्म विद्युत बक्यौता उठ्न सकेको छैन ।

लामो समयसम्म विद्युत बक्यौता नउठेपछि केही महिनाअघि तुलसीपुर उपमहानगरपालिका प्रमुख तथा प्रशासकिय अधिकृतसँग भेटेर समस्या समाधानका बारेमा कुरा राखेको भएपनि समस्या समाधान नभएकाले अहिले दुई स्थानको लाइन काटिएको बताउनुभएको छ ।

कार्यालय प्रमुख गोसलीले भन्नुभयो,‘लामो समयसम्म पनि विद्युत महसुल नउठेपछि केन्द्रको निर्देशन अनुसार अहिले विद्युतलाइन काट्न थालेका छौ । जसअन्तर्गत तुलसीपुर बजारक्षेत्रका तीन स्थानमा जडान भएकोमा दुई ठाउँको काटेका छौ अव एक स्थानको काट्न बाँकी रहेको छ ।’ उहाँका अनुसार सडक बत्ती बाफत माघ महिनामा पाँच लाख रुपैयाँ मात्र उठेको बताउनुभयो । नियमित रुपमा किस्तामार्फत बुझाउने तुलसीपुर उपमहानगरपालिकासँग सहमति भएपनि नबुझाएको उहाँले बताउनुभएको छ ।

त्यसैगरी घोराही उपमहानगरपालिका क्षेत्रमा सडक बत्ती बालेवापत तिर्नुपर्ने करिव साढे तीन लाख रुपैयाँ विद्युत महसुल तिरेको छैन । उपमहानगरले सडक बत्ती प्रयोग गरेबाफतको तीन लाख ३७ हजार रुपैयाँ तिर्न बाँकी रहेको नेपाल विद्युत प्राधिकरण घोराही वितरण केन्द्रका सहायक इन्जिनियर नन्दलाल शर्माले जानकारी दिनुभएको छ ।
इन्जिनियर शर्माका अनुसार घोराहीमा सडक बत्तीवापतको महसुल साढे ५ वर्षदेखि तिरेको छैन । यो रकम जरिवाना बाहेकको भएको र यसमा २५ प्रतिशत जरिवाना लाग्ने बताउनुभएको छ । शर्माले भन्नुभयो,‘पालिकालाई सडक बत्तीको रकम तिर्न पटक–पटक आग्रह गर्दा पनि बुझाएको छैन ।’

केन्द्रको निर्देशन अनुसार सडक बत्तीको लाइन काट्न सुरु गरेको शर्माले जानकारी दिनुभएको छ । तर लमही वितरण केन्द्रअन्तर्गत सडक बत्तीको विद्युत महशुल उठ्न समस्या नरहेको लमही शाखा प्रमुख युवराज रावतले जानकारी दिनुभएको छ । नियमित रुपमा विद्युत महशुल बुझाउने गरेकाले लमहीमा समस्या नदेखिएको शाखा प्रमुख रावतले बताउनुभयो ।