Ad Area

दाङमा वार्षिक ६ सय मेट्रिक टन माछा उत्पादन


दाङ, ८ मंसीर ।
दाङमा माछामा खपत बढ्दै गएको छ । केही वर्ष अघिसम्म भारतबाट ल्याएर खपत हुने गरेकोमा अहिले आन्तरिक उत्पादनले बजार धान्न थालेको छ । कुनै समय माछाका लागि अरु जिल्लाको भर पर्ने दाङले अहिले वर्षेनी करीव ६ सय मेट्रिक टन माछा उत्पादन गर्ने गरेको भेटेरीनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र दाङका मत्स्य विकास अधिकृत महेन्द्रप्रसाद यादवले जानकारी दिएका छन् ।

उनका अनुसार जिल्लामा अहिले करीव १ सय ४१ हेक्टर क्षेत्रफलमा माछापालन हुने गरेको छ । जिल्लाका करीव २ सय २५ जना व्यावसायिक कृषक माछापालनमा आवद्ध छन् । कुनै समयमा कार्प प्रजातिका माछामात्रै पालन हुने गरेको जिल्लामा माछा व्यवसायमा अहिले पंगास प्रजातिका माछा पालन हुन थालेसँगै माछा उत्पादनमा बढोत्तरी भएको मत्स्य विकास अधिकृत यादवले बताए । ‘पहिलेपहिले कार्प प्रजातिमा कमन, सिल्भर, रोहु, नैनीलगायत माछा पालन हुन्थ्यो अहिले त पंगास प्रजातिका बैखालगायत माछा पालन हुन थालेसँगै माछाको उत्पादन पनि बढेको छ,’ मत्स्य विकास अधिकृत यादवले भने ।

जिल्लामा वार्षिक रुपमा उत्पादन हुने माछाको बजार भने बाह्रै महिना धान्ने अवस्थामा नपुगेको उनले बताए । खासगरी, चैत्र, बैशाख, जेठ महिनामा अहिले पनि बाहिरी जिल्ला वा भारतको माछाको भर पर्नु पर्ने अवस्था रहेको छ । बाँकी समयभने यहीको उत्पादनले बजारको माग धान्ने गरेको छ । व्यावसायिक रुपमा माछा पालन गर्ने कृषकको आकर्षण बढ्दै गएको र राज्यले माछा पालनका लागि कृषकहरुलाई पनि सहुलियत प्रदान गर्ने नीति बनाएकाले यस तर्फ कृषकको रुची बढ्दै गएको उनि बताउछन् । यद्यपि, माछा खाने उपभोक्ताको अवस्थामा भने सुधार आउन चुनौतिपूर्ण रहेको मत्स्य विकास अधिकृत यादवले बताए । स्वास्थ्यका दृष्टिकोणले पनि माछा लाभदायक भएपनि काँडाको डरले माछा खानेको संख्या अपेक्षा अनुरुप बढ्न नसकेको बताए ।

‘माछा खानेहरुको संख्या मासु खानेको अनुपातमा कमी देखिन्छ, मानिसहरु रेड मिटमा आकर्षित छन्, जिल्लामा माछाको अपत बढाउन सचेतना पनि आवश्यक छ जस्तो लाग्छ,’ उनले भने । माछा उत्पादनको सिजनमा माछाको खपत हुन नसक्दा जिल्ला बाहिर पनि निर्यात हुने गरेको उनले बताए । उनका अनुसार अहिले पनि जिल्लामा माछाको खपत हुन नसकेको अवस्थामा रुकुम, रोल्पा, सुर्खेतसम्म कृषकले माछा बिक्रिका लागि पठाउने गरिएको छ । माछाका्े बजार राम्रो रहेकाले कृषकले माछामा घाटा व्यहोर्नु पर्ने अवस्था नरहेको भेटेरीनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र दाङले जनाएको छ ।

विज्ञ केन्द्रका प्रमुख डा. बेदबहादुर केसीले जिल्लामा माछाको खपत बढाउन र बाह्रै महिना उपलब्ध हुन सक्ने गरी याजनाका साथ कार्य विधि बनाएर काम गर्न थालिएको जानकारी दिएका छन् । उनका अनुसार जिल्लामा अहिले पनि वार्षिक प्रतिव्यक्ति १ दशमलव ०८ केजी माछा मात्रै खपत हुने गरेको छ । जबकी वार्षिक रुपमा कम्तिमा ५ केजी माछा प्रति व्यक्ति खपत हुनुपर्नेहुन्छ ।

जिल्लामा माछाको उत्पादन बढाउन र कृषकलाई मत्स्य पालनमा टेवा दिन चालु आर्थिक वर्ष २०७८–०७९ का लागि प्रदेश सरकारबाट फिस मिसन कार्यक्रमका लागि ५० लाख बजेट विनियोजन भएको मत्स्य विकास अधिकृत यादवले बताए । उक्त बजेट पोखरी निर्माणका लागि माछा पालक कृषकलाई सहुलियतमा प्रदान गरिनेछ । जस अन्तर्गत प्रतिहेक्टर पोखरी निर्माणका लागि ५ लाख विनियोजन गरिएको उनको भनाई छ । यद्यपि, यो कार्यक्रमका लागि प्रदेश सरकारबाट अझै कार्य विधि आई नसकेकाले सूचना प्रकाशन नगरिएको जानकारी दिएका छन् ।

Blog Post Ad

उता, नदीको पर्यावरणीय सन्तुलन कायम राख्न दाङको बबई नदीमा माछाका भुरा छोडिएको छ । भेटेरीनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र दाङले विश्व मत्स्य दिवसको अवसर पारेर घोराही उपमहानगरपालिका ५ सिसहनियाँस्थित बबई नदीमा माछाका भुरा छोडेको हो ।

रहुु र नैनी जातका ६ हजार माछाका छुराहरु बबई नदीमा छोडिएको मत्स्य विकास अधिकृत यादवले बताए । नदीको पर्यावरणीय सन्तुलन कायम गर्न र नदीमा माछाको संख्या बढाउन भुरा छोडिएको यादवको भनाई छ । नदीको जैविक विविधिता कायम गर्न, पानी शुद्ध राख्न र पानीमा अक्सिजनको मात्रा बढाउन माछाको भूमिका महत्वपूर्ण हुने यादवले बताए ।

Blog Post Ad Blog Post Ad