बढ्दै वन डढेलो, छैन निभाउने प्रविधि र जनशक्ति

घोराही, २९ चैत । वर्षेनी वन डढेलोका कारण ठूलो मात्रामा क्षति हुने गरेको भएपनि रोकथामका लागि चाहिने पूर्वाधार निकै कमजोर रहेको छ । जसले गर्दा वर्षेनी वन डढेलो नियन्त्रण गर्न चुनौति हुने गरेको छ ।
डिभिजन दाङ अन्तरगत ८ वटा सवडिभिजन रहेको छ । यसमा ८४ हजार हेक्टर वन क्षेत्र रहेको बताईएको छ । डिभिजन वन दाङमा सामुदायिक वन समुहको संख्या ३ सय ८५ वटा छन् । वन डढेलो नियन्त्रण गर्न अपनाउनुपर्ने विधि प्रकृया सबै अपनाउने गरिएपनि वर्षेनी वन डढेलो बढ्दै गएको तथा जोखिम पनि थपिँदै गएको डिभिजन वन कार्यालय दाङका प्रमुख मोहन श्रेष्ठ बताउनुहुन्छ ।
‘वन डढेलो नियन्त्रणमा चुनौति थपिँदै गएको छ । यसले पार्ने असरको त कुरै छाडौँ, वन डढेलो रोकथामका प्रयास भईरहे पनि बारम्बार मानवीय कारणबाट रोकथाम गर्न चुनौति हुने गरेको छ’ उहाँले भन्नुभयो ‘यही कारण आर्थिक र पारिस्थिकीय प्रणालीमा असर परिरहेको छ ।’
सबै डढेलाका बारे परिचित हुनुपर्ने भएपनि बढ्दो लापरवाहीले जोखिम थपिने क्रम छ । ‘समुदाय स्तरमा सचेतना बढाउने क्रम जारी छ । सामुदायिक वनको वन व्यवस्थापन कार्ययोजना अनुसार कामभईरहेको हुँदा जोखिम कम गर्न सहयोग पुगोस् भन्ने हाम्रो अपेक्षा हो तर अपेक्षा अनुसार काम हुन सकेको हुँदैन अनि क्षति व्यहोर्नु पर्ने अवस्था आईलाग्छ’ उहाँले भन्नुभयो ‘वन डढेलो लाग्यो भने आगो नियन्त्रण गर्न वा रोक्न कसले के गर्ने भ्रम चिर्न चुनौति छ । कतिपय ठाउँमा छेवैमा लागेको आगो निभाउने दायित्व आफ्नो पनि हो भन्ने नठानेर पन्छिन खोज्ने प्रकृतिले पनि जोखिम बढेको छ ।’
यति मात्रै होईन दाङमा वन डढेला नियन्त्रणका लागि तालिम प्राप्त जनशक्ति अभाव छ भने प्रविधि पनि छैन । ‘वनमा आगो लाग्यो भने निभाउन जाँदा ज्यान जाने खतरा छ । दमकल, ट्यांक, जनशक्ति केही छैन । अहिले हामीसँग ६ जना सशस्त्र वन रक्षक छन् । वन डढेलो नियन्त्रण दस्ताबाट काम भईरहेको छ । उपलब्ध श्रोत साधनबाट कोशिस जारी छ तर यो अपर्याप्त हो’ उहाँले भन्नुभयो ।
हरेक सामुदायिक वनलाई श्रोत पहिचान गरि दस्ता बनाउन लगाएको डिभिजन वन प्रमुख श्रेष्ठले बताउनुभयो । यद्यपि, सचेतनाका कार्यक्रम भएपनि ९६ प्रतिशत वन डढेलोको घटना मानवीय कारणले हुने गरेको वन कार्यालयको भनाई छ । बाँकी ४ प्रतिशत अरु प्राकृतिक कारणले हुने गरेको बताईएको छ । अहिले पनि जीविकोपार्जनलाई जोड्नका लागि वन नजिकका बस्तीका मानिसले आगो लगाई दिने, घाँस पलाउँछ भन्दै रुखपात जलाउने, चोरी सिकारी गर्न आगो लगाउने तथा आवादी बढाउन बुट्यानहरुमा आगो लगाउँदा डढेलो फैलिएर सिंगो वन क्षेत्र नै खरानी हुने गरेको डिभिजन वन कार्यालय दाङका प्रमुख श्रेष्ठको भनाई छ ।
वनमा आगो लागि हालेमा नियन्त्रणका लागि प्रविधि पनि नरहेको हुँदा वर्षेनी जोखिम बढ्दै गएको उहाँ बताउनुहुन्छ ।
अहिले दाङमा ७–८ ठाउँमा डेढ सय हेक्टरमा डढेलो लागेको डिभिजन वनको भनाई छ । नियन्त्रण लिने काम हुँदै आएको भएपनि सुक्दा मौसम र अनि मानवीय लापरवाहीले जोखिम थपिएको छ । गत वर्ष दाङमा २२ सय हेक्टरमा वन डढेलो लागेको थियो ।
वन डढेलो नियन्त्रणका लागि अन्तरक्रिया
डिभिजन वन कार्यालय दाङले वन डढेलो नियन्त्रणका लागि सरोकारवालासँग अन्तरक्रिया गरेको छ । सुक्खा मौसम शुरुभएसँगै वन डढेलोको जोखिम बढेको हुँदा निम्तन सक्ने जोखिम न्यूनीकरणका लागि मंगलबार घोराहीमा एक कार्यक्रम गरी वन डढेलो नियन्त्रणमा सरोकारवालाको भूमिका सम्बन्धमा अन्तरक्रिया गरिएको हो ।
जिल्ला समन्वय समिति प्रमुख नित्यानन्द शर्माको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम गरी अहिलेको अवस्थामा देखा परेका चुनौति र समाधानका उपाय कसरी अपनाउन सकिन्छ भन्ने बारेमा वृहत छलफल भएको हो ।
प्राणी जगतको अस्तित्वसँग जोडिएको वन वातावरण जोगाउने, संरक्षण गर्ने काममा सबैको हातेमालो आवश्यक रहेको नगरप्रमुख चौधरीले बताउनुभयो । उहाँले पर्यावरण जोगाउँदै हरित उपमहानगर बनाउने अभियानमा पालिकाले पछिल्लो समय थुप्रै असल अभ्यास गर्दै आएको जनाउँदै यसमा नागरिकको सहकार्य पनि जरुरी रहेको बताउनुभयो । कुनै बेला सुक्खा डाँडा हरियाली बन्दै गएको, बाँझा खेतबारीमा हरियाली छाउँदै गएको बताउँदै उहाँले पानीको श्रोत जोगाउने विरुवा रोपणदेखि दर्जनौँ जलाशय बनाएर पर्यावरणको क्षेत्रमा काम भएको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले विपदजन्य घटना न्यूनीकरणका लागि जिल्लामा गठीत सबै संयन्त्र जिम्मेवार रुपमा क्रियाशील हुन सके कुनै पनि विपदजन्य घटनाबाट नोक्सान कम हुने बताउनुभयो । अहिले वन डढेलोको जोखिम बढेको बेलामा स्थानीय स्तरमा गठीत संयन्त्र तथा सन्जालले आफ्नो भूमिका बढाउँदै सचेतना प्रदान गर्न लाग्नुपर्ने बताउनुभयो ।
सो अवसरमा डिभिजन वन अन्तरगत अहिलेसम्म भएका प्रयास र जोखिम पहिचान भएका स्थानमा अपनाईएका अतिविधीका बारेमा डिभिजनल वन प्रमुख मोहन श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
गर्मी तथा सुक्खा मौसम शुरुभएपछि जिल्लामा वन डढेलो नियन्त्रणमा चुनौति थपिने गरेको बताउनुभयो । वन डढेलोका कारण आर्थिक तथा पारिस्थिकीय प्रणालीमा असर पर्ने गरेको डिभिजन वन प्रमुख श्रेष्ठले बताउनुभयो ।
सचेतनाका कार्यक्रम भएपनि वन डढेलोका घटना ९६ प्रतिशत मानवीय कारण रहेको उहाँको भनाई थियो । बस्ती नजिकका वनलाई जीविकोपार्जनका रुपमा लिईनु, गाईबस्तुका लागि घाँस पलाउन, चोरी सिकारी गर्न, फडान क्षेत्रबाट झाडी हटाउन पनि डढेलो लगाउने गरिएको बताउनुभयो । तर यसले सिंगो वन क्षेत्र र पर्यावरणमा पार्ने असर बारे ध्यान नदिँदा भविष्यमा आईपर्ने जोखिम आफैले निम्त्याउने गरेको उहाँले बताउनुभयो ।
यसैबीच, १२ वटा वन डढेलो नियन्त्रण सन्जाललाई अग्नि नियन्त्रण सामग्री हस्तान्तरण गरिएको छ । डिभिजन दाङ अन्तरगत ८ वटा सवडिभिजन मातहत रहेका सन्जालमध्ये यो पटक १२ वटा सन्जाललाई वन डढेलो नियन्त्रणका लागि जमसुट, ग्लोभ्स, हेलमेट, जेट सुटर विथ वाटर ब्याग, रेक, रेक हो, स्वाटर गरि ६ प्रकारका अग्नि नियन्त्रक सामग्री हस्तान्तरण गरिएको वन प्रमुख श्रेष्ठले बताउनुभयो ।
जसअन्तरगत घोराही १२ को बडडाँडा सामुदायिक वन, बंगलाचुली ८ को दैलोढुंगा सामुदायिक वन, घोराही ४ को बसन्तपुर सामुदायिक वन, घोराही ३ को भोटेदह सामुदायिक वन, घोराही १८ को अम्बे सामुदायिक वन, तुलसीपुर १३ को महालक्ष्मी सामुदायिक वन, तुलसीपुर ६ कोे श्री गणेश सामुदायिक वन, तुलसीपुर १३ को झाँक्री ढुंगा सामुदायिक वन, बबई ३ को मनसुता सामुदायिक वन, बबई ५ को पदमपुर सामुदायिक वन, बबई २ को तीनतले सामुदायिक वन र घोराही २ को गौरी सामुदायिक वन घोराही समुहलाई ती सामग्री हस्तान्तरण गरिएको हो । कार्यक्रममा ८ वटा सवडिभिजन प्रतिनिधि, विभिन्न कार्यालयका प्रमुख प्रतिनिधि, संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण वन अधिकृत अर्जुन चापागाइँले गर्नुभएको थियो ।