देश बचाउन एमाले-कांग्रेस एक ठाउँमा आउनुको विकल्प छैन : डा कोईराला
घोराही, २९ चैत । नेपाली कांग्रेस वरिष्ठ नेता डा. शेखर कोईरालाले संविधानमा उल्लेख भएको निर्वाचन प्रणालीको गलत प्रयोग हुन थालेकाले मुलुकको विकासको वाधक बन्दै गएको हुँदा सच्याउन ठूला दल लाग्नुपर्ने बताउनुभयो ।
नेपाली कांग्रेस दाङको दोश्रो जिल्ला सम्मेलनलाई बिहीबार घोराहीमा सम्बोधन गर्दै वरिष्ठ नेता डा. कोईरालाले मिश्रित निर्वाचन प्रणालीका कारण अहिले कुनै पनि दलको बहुमत आउने अवस्था नबन्दा मुलुक अस्थिरता तर्फ धकेलिने क्रम बढेको हुँदा मुलुकको हीतका लागि अब दुई ठूला दल एक ठाउँमा आउनु पर्ने बताउनुभयो ।
‘यतिका समय लगाएर लेखिएको संविधानको अपव्याख्या गर्दै अघि बढेका केही दलका कारण देश बन्धक बन्न हुँदैन, जो अभ्यास अहिले सरकारको नेतृत्व गरिरहेको पार्टी नेताबाट भईरहेको यही प्रणाली नै मुलुकको विकासको वाधक हो’ उहाँले भन्नुभयो ‘अहिले कुनै पनि दलको एकल बहुमत आउने अवस्था छैन, अनि मुलुक अस्थिर बन्छ । जुन नियति अहिले देशमा ज्वलन्त उदाहरण बनेको छ ।’
उहाँले स्थिर सरकारका लागि नेपाली कांग्रेस र एमाले अब एक ठाउँ उभिँदै निर्वाचन प्रणाली बदल्न लाग्नुपर्ने तर्क गर्नुभयो । आफुले देशको नियति देख्न नसकेर यसकै लागि कोशी प्रदेशबाट आँट गरेको खुलासा पनि गर्नुभयो । नेतृत्वले पहिलो प्राथमिकता राष्ट्र बन्नु पर्छ भन्नेमा आफु स्पष्ट रहेको बताउँदै देशका लागि अहिले स्थिरता, सुशासन अनि आर्थिक विकास चाहिएको बताउनुभयो ।
‘प्रत्यक्ष निर्वाचनमा जान अब दुई ठूला दल एक ठाउँमा उभिनुपर्छ । अब यो अति आवश्यक पनि देखिएको छ । नेपाल र नेपालीको पक्षका काम गर्न स्थिर सरकारका लागि नेपाली कांग्रेस र एमाले अब एक ठाउँ उभिनुपर्छ । के कारण भन्दा यो अस्तव्यस्त बनेको निर्वाचन प्रणाली बदल्नका लागि’ उहाँले भन्नुभयो ‘निर्वाचनको समावेशी व्यवस्था वैज्ञानिक बनाउनुपर्छ । शासकीय स्वरुप बदल्न अब दुई ठूला दल एक ठाउँमा आउनु पर्छ । यसकै लागि मैले कोशी प्रदेशबाट आँट गरेको हुँ । नेतृत्वले पहिलो प्राथमिकता राष्ट्र बन्नु पर्छ भन्नेमा म स्पष्ट छु । जो कामको थालनी मबाट शुरु भईसकेको छ ।’
देशका लागि अहिले स्थिरता, सुशासन अनि आर्थिक विकास चाहिएको बताउँदै सरकारको नेतृत्वकर्ताबाट यो काम हुन नसकेको बताउनुभयो । देशको अवस्था एकातिर अनि नेतृत्वकर्ता अर्को बाटोमा हिँडेर मुलुक नबने उहाँले बताउनुभयो ।
‘राष्ट्र, पार्टी अनि व्यक्ति अहिलेको आवश्यकता हो । तर, हामी ठिक उल्टो तरिकाले हिडेका छौँ, यो सच्याउनु पर्छ’ उहाँले भन्नुभयो ‘देश बनाउने हो भने अब अब मुलुकमा राजनीतिक स्थिरता, सुशासन अनि आर्थिक विकासको विकल्प छैन ।’
नेपालको आर्थिक क्षेत्र कमजोर बन्दै जाँदा व्यापार व्यवसाय खस्कँदो अवस्थामा पुगेको उहाँको भनाई थियो । ‘देशमा व्यापार गर्ने पचास प्रतिशत सटर बन्द छ । उत्पादन क्षेत्र लगानी भएन, गलत ठाउँमा लगानी भयो अहिले आर्थिक स्थिति नाजुक बन्यो । पैसा चलायमान बन्न सकेन अनि कसरी देशको अर्थतन्त्र चलायनमान बन्छ, नेतृत्वले सोँच्नु पर्दैन’, उहाँले भन्नुभयो ।
कार्यक्रममा कांग्रुस केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीले पार्टीमा अनुशासित एकता चाहिएको बताउनुभयो ।
संविधानमा उल्लेख गरिएका विषयको ईमानदार प्रयोग हुन नसक्दा देशले दुख पाईरहेको बताउनुभयो । अब यी सबै कुरा सच्याउन बलियो कांग्रेस निर्माण लाग्नुपर्ने बताउनुभयो ।
पूर्व गृहराज्य मन्त्री देवेन्द्रराज कँडेलले राजनीतिक रुपमा अपराधीलाई उन्मुक्ति दिने प्रवृत्ति गलत रहेको हुँदा यसबाट कांग्रेस अलग रहन सक्नुपर्ने बताउनुभयो । ‘राम्रो काम गर्ने निरुत्साहित हुने प्रवृत्ति प्रति नेतृत्व सजग हुनुपर्छ’ उहाँले भन्नुभयो ‘समानुपातिकका नाममा परिवारवाद हावी हुदै गएको छ । समानुपातिक प्रतिनिधित्वको गलत प्रयोगबाट सच्चिनु पर्छ ।’
केन्द्रीय सदस्य योगेन्द्र चौधरीले हिजो माओवादीलगायत दलसँग गठबन्धन गर्दा गरिएको वाचाबाट कांग्रेस विचलित नभएको बताउनुभयो । जनभावनालाई आत्मसात गरेर अघि बढेको हुँदा बलियो कांग्रेस बनाउने शक्ति मिलेको तर्क गर्नुभयो । अर्का केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेले काम गर्ने क्रममा कमजोरी भएपनि देशमा भएको परिवर्तन र उपलब्धि कांग्रेस कै कारण भएको बताउनुभयो ।
केन्द्रीय सदस्य गेहेन्द्र गिरीले पार्टीको विधान परिमार्जन जरुरी रहेको औँल्याउनुभयो । उहाँले वडा, क्षेत्रमा कार्य समिति बैठक बस्न नसकेको, एउटा कार्य समितिले अर्काे कार्य समितिलाई नचिनेको कुराको ध्यानाकर्षण गराउनुभयो । प्रदेश सभापति अमरसिंह पुनले पार्टीलाई विधि पद्धतिमा पार्टी हिँडाउन लाग्नुपर्ने बताउनुभयो ।
सम्मेलनलाई कांग्रेसका विभिन्न तहका नेताहरुले पनि सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण सचिवद्वय अर्जुनकुमार योगी र बालिका लम्सालले गर्नुभएको थियो ।