लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री महराले आज विश्वासको मत लिँदै
दाङ, ३० चैत्र । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिँदै छन् । विश्वासको मत लिने प्रयोजनका लागि सभामुख तुलाराम घर्ती मगरले आज दिउँसो १ बजे लुम्बिनी प्रदेशसभा बैठक बोलाएका छन् ।
महरा ४८ जना प्रदेशसभा सदस्यको समर्थनमा चैत २३ गते शुक्रबार लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । २३ गते प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त गरेका महराले चैत २५ गते सपथ ग्रहण र पदभार ग्रहण गरेका थिए ।
महरालाई गठबन्धन दल एमालेका २९, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, नेकपा एस १ र स्वतन्त्र सांसद खड्क बस्नेत गरी ४८ जना प्रदेशसभा सदस्यले समर्थन रहेको छ ।
मुख्यमन्त्रीसँगै विनाविभागीय मन्त्री बनेका एमालेका चेतनारायण आचार्य, जनता समाजवादीका भण्डारीलाल अहिर र माओवादीका दीपेन्द्र पुनलाई अहिलेसम्म कुनै जिम्मेवारी तोकिएको छैन । मुख्यमन्त्री महराले विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार र जिम्मेवारी प्रदान गर्ने बताइएको छ ।