Ad Area

सडक स्तरोन्नतिको काम अन्तिम चरणमा


घोराही, ६ बैशाख  । सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । दाङको पहाडी क्षेत्र हाँसीपुर हुँदै प्रदेश राजधानी भालुवाङ जोड्ने बीपी मार्गअन्तर्गत सिमलतारा–मुलाबारी–हाँसीपुर–बाङ्गेसाल सडक खण्ड विस्तारसँगै स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ ।

घोराही उपमहानगरपालिका–१ सिमलतारादेखि बंगलाचुली गाउँपालिकाको हाँसीपुरसम्मको करिव १७ किलोमिटर सडक स्तरोन्नतिको काम ८० प्रतिशत सकिएको प्रदेश सडक पूर्वाधार कार्यालय दाङका प्रमुख इन्जिनियर मनिष अर्यालले जानकारी दिनुभएको छ । उहाँका अनुसार बंगलाचुली गाउँपालिकाको पहाडी क्षेत्रसँगै प्रदेश राजधानी क्षेत्रलाई जोड्ने गरि विस्तार भइरहेको सडकको काम चालुआर्थिक बर्षभित्र सक्ने गरि भइरहेको बताउनुभयो ।

दुई बर्षभित्र सडक स्तोन्नतिको काम सक्ने गरि २०७९ असार १४ गते वाइवा एन्ड लामा तिरुपाते सिद्धान्त जेभीसँग सम्झौता भएको थियो । सम्झौता अनुसार सडक विस्तारसँगै नाला, वाल निर्माण, खोलामा कल्भर्ट निर्माणसँगै ग्राभेल गर्ने काम भइरहेको प्रदेश सडक पूर्वाधार कार्यालय दाङका प्रमुख अर्यालले जानकारी दिनुभयो । उक्त सडकअन्तर्गत अनेत्रको काम सकेर अहिले निर्माण कम्पनीले घोराही उपमहानगरपालिकाअन्तर्गत सुकाखोला र बंगलाचुलीको हाँसीपुर क्षेत्रमा सडक विस्तारसँगै कल्भर्ट निर्माणको काम गरिएको कार्यालय प्रमुख अर्यालले बताउनुभयो ।

कार्यालय प्रमुख अर्यालले भन्नुभयो,‘दुई बर्षभित्र निर्माण सक्ने गरि ठेक्का सम्झौता भएको सडकको ८०–८५ प्रतिशत काम भइसकेको छ । बाँकी काम पनि चालुआर्थिक बर्षभित्र सक्ने गरि काम भइरहेको छ ।’ ३२ करोड ८९ लाख २९ हजार छ सय २७ रुपियाँमा टेन्डर आह्वान भएकोमा निर्माण कम्पनीसँग २७ करोड ७० लाख ६५ हजार तीन सय ४३ रुपियाँमा सम्झौता भएको थियो । सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको उक्त सडकको वित्तिय प्रगतिश ८० प्रतिशत अर्थात २२ करोड १६ लाख ५२ हजार बराबरको रकम खर्च भएको कार्यालय प्रमुख अर्यालले बताउनुभएको छ ।

सडक स्तरोन्नति भएसँगै बंगलाचुली गाउँपालिकाअन्तर्गत मुलाबारी,गहतेरा, हाँसीपुर,बिर्खेलगायतका बस्तीका स्थानीयलाई सहजता हुने बंगलाचुली गाउँपालिका–८ हाँसीपुर निवासी नारायण घर्ती बताउँनुहुन्छ । साघुरो सडक हुँदा हिडडुलसँगै सवारीसाधन सञ्चालनमा समेत समस्या हुने गरेको भन्दै उहाँले सडक विस्तारसँगै ग्राभेल भएपछि सहजता भएको बताउँनुभयो । स्थानीय घर्तीले भन्नुभयो,‘साँघुरो सडकसँगै खोलाहरुमा कल्भर्ट नहुँदा पानी पर्दा हिडडुल गर्न समस्या हुने गर्दथ्यो तर सडक बनेपछि समस्या हटेको छ ।’

भालुवाङमा रहेको लुम्बिनी प्रदेशको राजधानी जोड्ने वैकल्पिक मार्गका रूपमा समेत रहेको सडकलाई स्तरोन्तीसँगै कालोपत्रे गर्ने तयारी रहेको छ । जसअन्तर्गत घोराही उपमहानगरपालिका–४ भैसाहीदेखि वडा नं. १ को सिमलतारासम्म सडक कालोपत्रे समेत गरिएको छ । उक्त सडकअन्तर्गत बंगलाचुली गाउँपालिका ८ को अर्जुनखोलामा पुल निर्माणका लागि टेण्डर आव्हान गरिएको कार्यालय प्रमुख अर्यालले बताउनुभएको छ ।

Blog Post Ad

खोलाहरूमा कल्भर्ट नहुँदा हिउँदमा गाडी चल्ने गरे पनि वर्षाको समयमा पानीले बाटो बिगार्दा सवारीका साधनहरू सञ्चालनमा समस्या हुने गर्दथ्यो । सडकको विस्तारसँगै खोलाहरूमा कल्भर्ट निर्माण भएपछि पानी पर्दासमेत स्थानीयलाई सिमलतारा–मुलाबारी–हाँसीपुर सडकखण्डमा हिँडडुल गर्न सहजता भएको स्थानीय बताउँछन् ।

 

Blog Post Ad Blog Post Ad