Ad Area

विद्यालयको शैक्षिक गुणस्तर प्रभावकारी बनाउन नागरिक समाजको ध्यानाकर्षण


घोराही, ७ बैशाख । नागरिक समाज दाङले यस वर्षको विद्यार्थी भर्ना अभियानसँगै कक्षा संचालनको अनुमति पाएका विद्यालयमा दरबन्दी अनुसारको शिक्षक तथा जनशक्ति समयमै खटाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

बिहीबार समाजको कार्यालयमा बसेको बैठकले जिल्लामा रहेका अधिकांश सामुदायिक विद्यालयको शैक्षिक नतिजा सुधारका लागि शिक्षाबाट कोही पनि वन्चित नहुन र गुणस्तरीय शिक्षा सबैको पहुँचमा पुर्याउन आवश्यक शिक्षक, स्वास्थ्यकर्मी, प्रशासनिक कर्मचारीको व्यस्थापन गर्न समाजले ध्यानाकर्षण गराएको हो ।

समाजका संयोजक निमबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले गणतन्त्रको व्यवस्था सबलीकरणका लागि संविधान प्रदत्त अधिकार सुनिश्चित गर्न राजनीतक प्रतिवद्धता विपरित पछिल्लो समय नेतृत्व तहबाट भईरहेको क्रियाकलाप प्रति पनि समाजले ध्यानाकर्षण भएको जनाएको छ । संघीय शासन प्रणाली नै कमजोर हुने खालको संविधान प्रदत्त अधिकार गतिविधि नगर्न र व्यवस्थालाई कुनै व्यक्ति विशेषको प्रयोग दुरुपयोग नगर्न प्रदेश सरकारलाई समेत सचेत गराएको छ ।

यसैगरी, नागरिकले स्थानीय सरकारलाई सडक बत्तीवातपको महसुल बुझाएर सडक बत्ती प्रयोग गरेको तर विद्युत प्राधिकरणमा रकम नबुझाई सडक बत्ती प्रयोग भन्दै धमाधम लाईन काटिएको घटना प्रति पनि समाजले चासो व्यक्त गरेको छ । विद्युत प्राधिकरणले धमाधम लाईन काटेपछि यसबाट टोलबासी नागरिकलाई मर्का परेको गुनासो बढेको हुँदा सम्बन्धित निकाय सो विषयमा गम्भीर बनेर नागरिकलाई दिनुपर्ने आधारभूत सुविधातर्फ ध्यान दिन अपिल गरेको छ ।

बैठकले दुर्गानाथ योगी, लिलाराम चौधरी र दीपा पोख्रेललाई नागरिक समाज दाङको साधारण सदस्यता प्रदान गर्ने निर्णय गरेको समाजका सचिव नारायणप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।