Ad Area

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी तहको पठनपाठन शुरु


घोराही । देशकै कान्छो प्रतिष्ठानका रुपमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा स्नातकोत्तर तह अर्थात एमडी तहको पठनपाठन शुरु भएको छ । २०७४ सालमा स्थापित प्रतिष्ठानले पश्चिम क्षेत्रमै पहिलो पटक एमडी तहको पठनपाठन शुरु भएको बिहीबार एक कार्यक्रम गरी जानकारी गराएको हो ।

प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेको अध्यक्षता तथा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दीपेन्द्रकुमार पुन मगरको प्रमुख आतिथ्यमा कार्यक्रम गरी पोष्ट ग्र्याजुएट रेसिडेन्सका रुपमा एमडी तहको ३ वर्षे अध्ययनका लागि भर्ना भएका डाक्टरहरुलाई स्वागतसहित प्रतिष्ठानले पछिल्लो समय स्वास्थ्य सेवा बिस्तारसँगै प्रदान गरिरहेको सेवाका बारेमा जानकारी पनि गराईएको थियो ।

चिकित्सा शिक्षा आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि निर्धारण गरेको ४वटा सीटमा एमबीबीएस अध्ययन गरिसकेका डाक्टरहरु विद्यार्थीका रुपमा भर्ना हुनुभएको हो । जस अनुसार, एमडी जिपीमा २ जना, गाईनोकोलोजीमा १ जना र अर्थोपेडिकमा १ जना भर्ना हुनुभएको छ । एमडी तहको पठनपाठनका लागि प्रोफेसर डा. नारायणसिंह गुरुङ, एशोसियट प्रोफेसर डा. बसन्त लामिछाने, प्रतिष्ठानका डिन सागर पन्थीलगायत खटिनु हुने भएको छ ।

सो अवसरमा प्रमुख अतिथि लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री पुनले स्वास्थ्य क्षेत्रमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पछिल्लो समय प्रदान गर्दै आएको स्वास्थ्य सेवामा गुणस्तर कायम राख्दै शैक्षिक कार्यक्रम संचालनको थालनी गर्नु यस क्षेत्रको लागि ठूलो उपलब्धी रहेको बताउनुभयो ।

प्रतिष्ठानको काम, कर्तव्य र अधिकार क्षेत्रलाई माथि उठाउन सबै लाग्नुपर्ने बताउँदै स्वास्थ्य मन्त्री पुनले पश्चिम क्षेत्रमा यस प्रकारको स्वास्थ्य सेवा बिस्तारले आम नागरिकलाई स्वास्थ्य सेवा लिन निकै सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रतिष्ठानको आगामी कार्यक्रम र सेवा बिस्तारका लागि आवश्यक बजेट विनियोजनका लागि पहल गर्ने पनि बताउनुभयो ।

कार्यक्रममा प्रदेश स्वास्थ्य सचिव जनार्दन पन्थीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान जन्माउन यस क्षेत्रबाट धेरैले पहल थालेको स्मरण गर्दै उद्देश्य अनुसारको प्रतिष्ठानको कामले गतिलिँदै गएको हुँदा आगामी शैक्षिक कार्यक्रम र प्रतिष्ठानको सेवा बिस्तारमा सबै लाग्नुपर्ने बताउनुभयो । प्रतिष्ठानमा भरपर्दो र प्रभावकारी विभिन्न प्रकारका नियमित स्वास्थ्य उपचार सेवासँगै गत वर्षदेखि बिएनएस नर्सिङ र बिएस्सी नर्सिङ तहको पठनपाठन हुँदै आएको छ ।

कायममुकायम निर्देशक रमेश कँडेलको स्वागत र विषय प्रवेशबाट शुरु भएको कार्यक्रमको सहजीकरण डा. उमाकान्त तिवारीले गर्नुभएको थियो ।