Ad Area

लागुऔषधविरुद्ध सचेतना आवश्यक


दाङ,८ मंसिर । लागुऔषध मुक्त समाज निर्माणका लागि अभिभावक तथा सरोकार निकायसँग अन्तरक्रिया गरिएको छ । महिला तथा बालबालिका उत्थान केन्द्रको आयोजना एवं जिल्ला प्रहरी कार्यालय दाङको सहकार्यमा बुधबार घोराही–१३ मा लागुऔषध नियन्त्रण (किट परिक्षण) सहितको सचेतनामुलक कार्यक्रम गरिएको हो ।

कार्यक्रममा सहभागी बक्ताहरुले पछिल्लो समय युवा वर्ग लागुऔषधमा अस्वाभाविक रुपमा संलग्न हुँदै गएकोमा चिन्ता व्यक्त गरेका छन् । उनीहरुले बालबालिकाहरु लागुऔषधको सिकार हुनबाट बचाउन उनीहरुको रेखदेख, स्याहार, शिक्षा दिक्षामा असल अभ्यास आवश्यक रहेकोमा जोड दिएका छन् ।

केन्द्रकी अध्यक्ष सीमा वलीको अध्यक्षतामा भएको सचेतनामूलक कार्यक्रममा घोराही–१४ नयाँ बसपार्कका प्रहरी इन्चार्ज सेजल डाँगीले युवाहरुमा बढ्दो कुलतलाई न्यूनीकरण गर्न प्रहरीको एकल प्रयासले मात्रै सम्भव नहुने हुँदा अभिभावक, समुदायको संयुक्त प्रयास आवश्यक रहेको बताए ।

समुदाय प्रहरी कार्यक्रमका माध्यमबाट समाजमा रहेका विकति, बिसंगति अन्त्य गर्न सबैसँग हातेमालो हँदै आएकोमा धेरै राम्रा अध्यासको थालनी हुँदै गएको र अपराध नियन्त्रणमा टेवा पुगेको धारणा राखे । लागुऔषधको प्रयोगमा बढ्दो दुरुपयोग रोकथामका लागि अब समुदायसँग सहकार्य गरी प्रहरीले युरिन टेष्ट गर्ने भएको छ । जसका लागि प्रहरीले समुदायसँग अभिमुखीकरण गर्दै लागू औषध प्रयोगकर्ता पहिचान गरी उनीहरुलाई असल अभ्यासका लागि प्रेरित गर्ने भएको छ ।

कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका कोषाध्यक्ष कैलाश रोका मगरले सभ्य समाज निर्माणका लागि सभ्य नागरिक आवश्यक रहेको बताए । सामाजिक रुपमा हरेक नागरिक स्वस्थ हुँदै बाँच्ने अवस्था सिर्जना भएमात्रै देशको विकास सम्भव रहेको उनको भनाई थियो ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका कोषाध्यक्ष रोका मगरले युवा वर्ग विभिन्न कारणले कुलतको बाटोमा लाग्नु भनेको देशको भविष्यपछि धकेलिनु भएको बताए ।कार्यक्रममा घोराही १३ का वडा सदस्य केशव गिरीले लागुऔषध विरुद्धको सचेतना अभियानलाई प्रभावकारी रुपमा अघि बढाउनुपर्ने बताएका थिए ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad