Ad Area

शिक्षामा रुपान्तरणका लागि घोराहीमा र्याली


घोराही, १० बैशाख ।  नेपालको सार्वजनिक शिक्षा सुदृढीकरणको अभियानमा क्रियाशिल शिक्षाका लागि राष्ट्रिय अभियानको पहलमा शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह २०२४ अन्तर्गत शिक्षामा रुपान्तरण भन्ने मूल नारा सार्थक बनाउन र्याली निकालिएको छ ।

शिक्षाका लागि राष्ट्रिय अभियान जिल्ला समितिको नेतृत्वमा सोमबार घोराहीमा तीनै तहका सरकारलगायत शिक्षा सम्वद्ध सम्पूर्ण सरोकारवाला निकायहरुलाई जवाफदेही बनाउने उद्देश्यले सचेतनामूलक प्लेकार्ड, बाजा, ब्यानरसहित बजार परिक्रमा गरिएको हो ।

सन् २००३ देखि प्रत्येक बर्ष शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह मनाउँदै आएको सन्दर्भमा यो वर्ष पनि शिक्षा अब शिक्षाका लागि मात्रै नभई शिक्षामा रुपान्तरणको खाँचो औँल्याउँदै तीन तहका सरकारलाई यसको कार्यान्वयनमा ध्यान दिन दवाव दिने उद्देश्यले ¥याली निकालिएको शिक्षाका लागि राष्ट्रिय अभियानका जिल्ला संयोजक रुपलाल चौधरीले जानकारी दिनुभयो ।

यस वर्ष शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताहमा अप्रिल २२ देखि २६ अर्थात २०८१ वैशाख १० देखि १४ सम्म नेपाललगायत विश्वका १५० भन्दा बढी देशहरुमा नागरिक समाजका संघसस्था तथा प्रतिनिधिहरुद्वारा विभिन्न कार्यक्रमहरु गरी मनाईरहेको छ । सामाजिक न्याय, दिगो विकास र व्यक्तिगत र सामूहिक स्वतन्त्रताका लागि पनि परिवर्तनकारी शिक्षाको भुमिका रहेको हुँदा यसको महत्व राज्यका सरोकारवालाई बुझाउन यस प्रकारको कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।

नेपालको सार्वजनिक शिक्षामा पर्याप्त लगानी गर्दै शिक्षा क्षेत्रमा रुपान्तरण आवश्यक छ भन्ने मुद्दालाई एनसिई नेपालले संधै उजागर गर्दै आएको उहाँको भनाई थियो । विद्यालय र सिकाइ केन्द्रहरूमा अनलाइन शिक्षा, विद्यालयको पाठ्यक्रममा समसामयीक पुनर्विचार र परिमार्जन र शिक्षालाई दैनिक जीवनसँग जोड्दै शिक्षालाई गुणस्तरीय, समावेशी, जीवनउपयोगी, अन्य पक्षसँग अन्तरसम्वन्धित गर्दै यसको रुपान्तरण आवश्यक रहेकाले सचेतनामूलक प्लेकार्डसहित शिक्षामा अब रुपान्तरणको खाँचो बारे बुझाउन सोमबार घोराहीमा र्याली निकालेर कोशिस गरिएको ग्रामीण महिला उत्थान केन्द्रका हीतबहादुर थापाले बताउनुभयो ।

अहिले पनि शिक्षा नाममा लक्षित समुदायका बालबालिकाहरु शिक्षाको पहुँचमा आउन नसकेको बेला शिक्षाको अपरीहार्यता पूरा गर्न र मुक्त कमलरीका बालबालिका तथा स्वयम् मुक्तकमलरी किशोरीहरुको शिक्षामा राज्यको ध्यान पुर्याउन आवश्यक रहेको मुक्त कमलरी विकास मन्चकी ज्ञानु थापाले बताउनुभयो ।

ग्रामीण महिला उत्थान केन्द्रको परिसरबाट शुरु भएको र्याली सरकारी कार्यालय रहेका मुख्य क्षेत्र, प्रहरी कार्यालय, घोराही उपमहानगरपालिका, जिल्ला समन्वय समितिलगायत स्थान हुँदै परिक्रमा गरेको थियो । सो र्यालीमा ब्याकवार्ड सोसाईटी एजुकेशन बेस, ग्रामीण महिला उत्थान केन्द्र, ओरेक, बिसीडी, सहयोग समाज नेपाल, नेपाल रेडक्रस सोसाईटी, मुक्त कमलरी विकास मन्चलागयतको संस्थागत सहभागीता रहेको थियो ।