Ad Area

एक महिने सिलाईकटाई तालिमबाट उत्साहित महिला


घोराही, १२ बैशाख । समाज कल्याण केन्द्र नेपाल, दाङको आयोजना तथा घोराही १६ को आर्थिक सहयोगमा संचालित एक महिने सिलाईकटाई तालिम समापन गरिएको छ । केन्द्रका अध्यक्ष निर्मला गौतमको अध्यक्षता तथा घोराही १६ का वडा अध्यक्ष ताराबहादुर डिसीको प्रमुख आतिथ्यमा बुधबार एक कार्यक्रम गरी वडामा बसोबास गर्दै आएका लक्षित महिलाहरुका लागि आयोजित सिलाईकटाई तालिम प्रदान गर्दै समापन गरिएको हो ।
सो अवसरमा वडा अध्यक्ष डिसीले सिकेको सीपलाई आगामी दिनमा व्यवहारमा उतार्न आग्रह गर्नुभयो । एक महिनाको अवधिमा लिएको तालिमले पनि आधारभूत कुरा सिक्न पाएको अवसरलाई आगामी दिनमा वडाले थप तालिमको व्यवस्था गरी क्षमता बढाउने पनि बताउनुभयो ।

उहाँले वडाका विभिन्न टोलबाट तालिममा सहभागी भएर सीप सिकेका महिला भोलिका दिनमा उद्यमी बनेर आत्मनिर्भरको बाटोमा लाग्ने आधार बनाउन पनि सुझाव दिनुभयो ।

२६ जना महिलाहरुको सहभागीता रहेको तालिमको प्रशिक्षकमा श्याममति चौधरी रहनुभएको थियो । उनीहरुले एक महिनाको अवधिमा कुर्ता, सुरुवाल, मेक्सी, चोली, भोटो, टोपीलगायत विभिन्न प्रकारका कपडा सिलाउन सक्ने भएका छन् । तालिममा सहभागी मध्ये धेरैले आफैले सिकेर सिलाएको कुर्ता सुरुवाल लगाएर आएका थिए ।

तालिमका प्रशिक्षार्थी गीता चौधरी, धनकुमारी बुढालगायतले छोटो समयमा धेरै कुरा सिक्ने मौका पाएको भन्दै खुशी व्यक्त गर्नुभयो । कार्यक्रममा ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालयका शिवलाल महतारा, नेपाल महिला संघकी जिल्ला अध्यक्ष गोमा रावत, वडा सदस्यहरु मानसिंह बुढा, बुद्धिराम चौधरीलगायत बोल्नुभएको थियो ।

महिलाहरुलाई सीप सिकाउँदै आत्मनिर्भर र उद्यमशील बनाउन सकेमात्रै समाज समृद्ध बन्न सक्छ भन्ने अभियानका साथ समाज कल्याण केन्द्र नेपाल, दाङले वडा वडामा पुगेर यस प्रकारको कार्यक्रम संचालन गर्दै आएको केन्द्रकी अध्यक्ष गौतमले बताउनुभयो । असहाय, अशक्त बालबालिकाहरुको शिक्षा, स्वास्थ्यमा पनि लगानी गर्दै निशुल्क रुपमा पठनपाठन गर्दै आएको उहाँको भनाई छ । समाज कल्याण केन्द्र नेपाल, दाङमार्फत बालबालिकाहरुको कक्षा १२ सम्मको निशुल्क पढाईका लागि खुत्रुके अभियान चलाएर काम गर्दै आएको अध्यक्ष गौतमले जानकारी दिनुभयो ।

केन्द्रकी विन्दु दाहालको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रम सहभागीलाई धन्यवाद ज्ञापन पार्वती योगीले गर्नुभएको थियो भने सहजीकरण पूजा योगीले गर्नुभएको थियो ।