Ad Area

सूर्तीजन्य पदार्थको प्रयोग न्यूनीकरणका लागि कानुन कार्यान्वयनमा जोड


घोराही, १८ वैशाख । सूर्तीजन्य पदार्थको प्रयोग न्यूनीकरणका लागि भएका कानुनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा मंगलवार घोराहीमा भएको सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सहभागी बक्ताहरुले सूर्तीजन्य पदार्थको प्रयोगलाई कम गर्न स्थानीय तहहरुले ध्यानदिनुपर्ने बताएका हुन ।

सूर्तीजन्य पदार्थको नियन्त्रण र नियमन सम्वन्धी कानुन राम्रो भएपनि कार्यान्वयन निकै फितलो रहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले स्थानीय सरकारले कानुन बनाएर नमूना रुपमा काम गर्न सक्ने बताउनुभएको थियो । देशमा केही स्थानीय तहहरुले छुट्दै कानुन निर्माण गरेर सूर्तीजन्य पदार्थ नियन्त्रणका लागि राम्रो काम गरिरहेको भन्दै सचिव देवकोटाले दाङका स्थानीय तहहरुलाई पनि लाग्न आग्रह गर्नुभएको थियो । सचिव देवकोटाले भन्नुभयो,‘सूर्तीजन्य पदार्थ नियन्त्रणका लागि देशमा केही स्थानीय तहहरुले राम्रो काम गरिरहेका छन् । त्यस्तै काम दाङका स्थानीय तहहरुले पनि गर्न सक्छन् ।’

कानुनको प्रभावकारी कार्यान्वयन नहुँदासम्म सूर्तीजन्य पदार्थको प्रयोग घट्न नसक्ने भन्दै सबै स्थानीय तहबाट पहल हुन आवश्यक रहेको बताउनुभएको थियो । उहाँले वर्तमान अवस्थामा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्न सबै पक्ष गम्भीरतापूर्वक लागे सुर्तीजन्य पदार्थको पहुँच कम गर्न सकिने बताउनुभएको थियो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनका लागि जिल्लास्तरीय अनुगमन समिति बनाएर काम गर्ने बताउनुभएको थियो । उहाँले नीति निर्माण गरेर कानुनी कारवाहीलाई प्रभावकारीसँगै विद्यालय तहसम्म जनचेतना फैलाउन आवश्यक रहेको उहाँले बताउनुभएको थियो ।

घोराही उपमहानगरपालिकाका स्वास्थ्य प्रवर्द्धन शाखा प्रमुख राधा पौडेलले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनका लागि नीति बनाउँदै स्वस्थ्य नागरिक बनाउने कार्यमा लाग्ने बताउनुभयो । कानुनको प्रभावकारी कार्यान्वयन नभएसम्म रोक्न नसकिने भन्दै प्रयोगकर्ता घटाउनका लागि सचेतनासँगै कानुनी कारवाहीलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको थियो । कार्यक्रममा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनको कार्यान्वयन नीतिगत व्यवस्थाका बारेमा मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत रविकान्त मिश्र र सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनको कानुनी व्यवस्थाका बारेमा स्वास्थ्य मन्त्रालयका उपसचिव गोपीकृष्ण रेग्मीले जानकारी गराउनुभएको थियो ।

कार्यक्रमका अन्य सहभागीले जिल्लामा सुर्तीजन्य पदार्थको प्रयोग कम गर्न र सचेतना फैलाउने काममा गर्न सकिने योगदानका बारेमा चर्चा गर्दै सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनका लागि सबैको साझा प्रतिवद्धता जरुरी रहेको बताउनुभएको थियो । कार्यक्रममा प्रेस काउन्सील नेपालका सदस्य शरद अधिकारी, नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्षद्धोय सन्तोष सुवेदी, बसुन्धरा गौतम, नेपाल पत्रकार महासंघ दाङ शाखा पूर्व अध्यक्ष सविन प्रियासनलगायतले बोल्नुभएको थियो । स्वास्थ्य कार्यालय दाङका प्रमुख डम्वर कुवँरले विषय प्रवेश गराएको कार्यक्रमको सहजीकरण कार्यालयका बामदेव शर्माले गरेका थिए ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad