Ad Area

अग्नी पीडित परिवारलाई एक लाख बराबरको सामग्री सहयोग


घोराही, २० वैशाख । दाङमा अग्नी पीडित परिवारलाई एक लाख बराबरको खाद्यान्नलगायतको सामग्री सहयोग गरिएको छ । नेपाली कांग्रेस क्षेत्र नं. २ (१) र मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रले संयुक्त रुपमा बंगलाचुली गाउँपालिका वडा नं. ८ का विभिन्न वस्तीमा आगलागीबाट पीडित बनेका परिवारलाई खाद्यान्नसहित आर्थिक सहयोग गरेको हो ।

बुधवार घरमै पुगेर डाँगीबारी निवासी दयाराम डाँगी, भानुभक्त पुनमगर र जीवलाल पुनमगर, गोठीवन निवासी खोपीराम वली र समीघाट निवासी इमानसिंह खत्रीलाई खाद्यान्न, भाडालगायतका सामाग्री सहयोग गरेको नेपाली कांग्रेस क्षेत्र नं. २ (१) का प्रचारप्रसार समिति संयोजक देवा जिसीले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार अग्नी पीडित परिवारलाई त्रिपाल, खाद्यान्न,भाडासहित नगद रुपैया प्रदान गरिएको थियो । पाँचै जनाको घर तथा गोठमा वैशाख १५ गते आगलागी भएको थियो । विभिन्न संघसस्था तथा सहयोग व्यक्तिहरुसँग समन्वय गरेर नेपाली कांग्रेस क्षेत्र नं. २ (१) ले अग्नी पीडित परिवारलाई सहयोग गरेको हो ।

सहयोग हस्तान्तरण कार्यक्रममा मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङका कोषाध्यक्ष मायाकुमारी पोख्रेल, केन्द्रका विपद् व्यवस्थापन संयोजक रिमा शर्मा, कोषाध्यक्ष नारायण भण्डारी, प्रदेश प्रतिनिधि पूर्ण मल्ल, कांग्रेस नेता कृष्ण सुवेदी,प्रदेश सदस्य देवा जिसी, नेपाली कांग्रेस बंगलाचुली गाउँपालिका वडा नं. ४ का उपसभापति बिक्रम डाँगी, स्थानीय खुम सोती मगरलगायतको सहभागीता रहेको थियो ।

Blog Post Ad Blog Post Ad