Ad Area

निजामती कर्मचारी संगठन दाङद्वारा श्रमिक दिवसमा ४ जना कर्मचारी सम्मानित


घोराही, १९ बैशाख । नेपाल निजामती कर्मचारी संगठन दाङले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना आदानप्रदान तथा सरसफाइ व्यवस्थापन कार्यमा क्रियाशील ४ जना कर्मचारीलाई सम्मान गरेको छ । संगठन दाङका अध्यक्ष शेरबहादुर केसीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका विपद तथा सरसफाई समिति संयोजक भानसिं बुढाको प्रमुख आतिथ्य एवम् नगरप्रमुख नरुलाल चौधरी र संगठनका केन्द्रीय उपाध्यक्ष रेवन्त गौतमको विशिष्ट आतिथ्यमा दिवसका सन्दर्भका बुधबार घोराहीमा एक कार्यक्रम गरी सम्मान गरिएको हो ।

घोराही उपमहानगरपालिकाको सरसफाई शाखामा कार्यरत सरसफाई सवारी चालक प्रेमबहादुर चौधरी, सरसफाई सहयोगीहरु कृष्णबहादुर बिक, बीरे थापा र सरसफाई सहायक जुनी चौधरीलाई कामको योगदानको सम्मान गर्दै प्रमाण पत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि बुढाले श्रम र श्रमिक बीचको सम्बन्ध बलियो बनाउन काम र योगदानको उचित मुल्यांकन हुन आवश्यक रहेको बताउनुभयो । उहाँले निजामती कर्मचारी संगठनले श्रमिक कर्मचारीको कामको उचित मुल्यांकन गर्दै सम्मान गर्ने संस्कारको विकास गरेको भन्दै खुशी व्यक्त गर्नुभयो । सम्मानले श्रमिकलाई काम प्रति थप जिम्मेवार बनाउनुका साथै पेशागत मर्यादा कायम गर्न सघाउने बताउनुभयो ।

नगरप्रमुख चौधरीले श्रमिक दिवसले श्रमको महत्व र आदर्शलाई बलियो बनाउन यस प्रकारको कार्यक्रमले सार्थकता दिने बताउनुभयो । हरेक श्रमिकले श्रमको मुल्य पाउने वातावरण बनाउन राज्यका सबै निकायको इमान्दार प्रयास जरुरी रहेको बताउनुभयो ।

संगठनका केन्द्रीय उपाध्यक्ष गौतमले निजामती कर्मचारी संगठनले श्रमजीवीका पक्षमा वकालत गर्नुका साथै पेशागत मर्यादालाई इमान्दारीपूर्वक पालना गर्न प्रेरित गर्दै आएको बताउनुभयो । श्रम गर्ने हरेकको सम्मान हुनुपर्छ भन्ने भावनाका साथ संगठन दाङले गर्दै आएको प्रयास सराहनीय रहेको उहाँले बताउनुभयो । संगठन दाङका रामबहादुर वलीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सहसचिव मोहनसिंह सुनारले गर्नुभएको थियो ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad