Ad Area

बबई नदीमा डुबेर दाजुभाइको मृत्यु


घोराही, १ जेठ । दाङमा नदीमा नुहाउने क्रममा डुवेर एकै घरका दाजुभाईको मृत्यु भएको छ । बबई गाउँपालिका–५ निवासी १८ बर्षीय दिपक परिवार र १६ बर्षीय दिपेश परिवारको मंगलवार बबई नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुई जना बबई गाउँपालिका–७ ओदाले घाटस्थीत बबई नदीमा नुहाउने क्रममा पानीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी प्रमुख अजयजंग थापाले जानकारी दिनुभएको छ । प्रहरी प्रमुख थापाका अनुसार करिव साँझ ७ बजेतिर दिपेश परियारको शव बबई नदीबाट निकालिएको थियो भने दिपकको उपचारका क्रममा मृत्यु भएको थियो ।

घाइते अवस्थामा नदीबाट उद्धार गरेर उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएकोमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेकोे इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी प्रमुख थापाले जानकारी दिनुभएको थियो । उहाँका अनुसार दुवै जना सोमबार मात्र भारतबाट आउनुभएको थियो । दुवै जनाको शवलाई पोष्टमाटमका लागि राप्ती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

Blog Post Ad Blog Post Ad