Ad Area

वैदेशिक रोजगारीका नाममा ठगी, पीडितको उठीबास


घोराही, १४ जेठ । राम्रो पारिश्रमिक पाईने आश्वासनमा दलाल तथा तेश्रो व्यक्तिलाई विश्वास गरेर मोटो रकम बुझाएर विदेश जान खोज्दा दाङमा ठगिनेहरुको संख्या बढ्दै गएको छ । सकेसम्म स्वदेशमै बसेर आयआर्जनमा आवद्ध हुन नभए सीप सिकेर भरपर्दो माध्यमबाट श्रम स्वीकृति लिएर सरकारको अनुमतिमा मात्रै वैदेशिक रोजगारीमा जान आग्रह गरिरहँदा पनि दलालको भरपर्दा ठगिनेहरु बढ्दै गएका छन् ।

जिल्लाको विभिन्न स्थानबाट पछिल्लो समय ठगीका उजुरी पर्न थालेपछि दलालले लाखौँ रकम ठगी गरेको तथ्य बाहिरिएको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार दाङमा साउनदेखि जेठ १३ गतेसम्म २ सय १९ जना ठगीमा परेको भन्दै १ सय २७ वटा उजुरी परेको छ । राम्रो आम्दानी हुने देश पठाउने आश्वासनमात्रै नभएर विभिन्न व्यक्तिको नाममा पैसा पठाउन लगाएर ठगीमा परेको उजुरी समेत प्रशासनमा आउने गरेको छ ।

जापान पठाउने भन्दै विभिन्न व्यक्तिको नाममा पैसा उठाउन लगाएर आफुसँग ९ लाख ५० हजार ठगी गरेको भन्दै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ बरुवागाउँका सन्तोष वाइवा तामाङले हाल जापानमा रहनुभएकी घोराही १५ की लक्ष्मी डिसी (पुजा डिसी) को नाममा २०८१ वैशाख २ गते उजुरी दिनुभएको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर ७ सौडियारका नहकुल बिकले पनि सोही आरोपी लक्ष्मी डिसी (पुजा डिसी) ले १४ लाख ५० हजार ठगी गरेको भन्दै प्रशासनमा उजुरी दिनुभएको छ ।

राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानीका राजकुमार चौधरीले आफुलाई युएई पठाई दिने आश्वासन दिएर महेन्द्रनगरका शोभाराम वलीले २ लाख २० हजार ठगी गरेको भन्दै गत बैशाख १० गते उजुरी दिनुभएको छ ।

क्यानडा पठाउँछु भन्दै रकम ठगी गरेको भन्दै घोराही उपमहानगरपालिका वडा नम्बर १४ का अशोक भण्डारीविरुद्ध पाँचवटा उजुरी परेको छ । २०८१ वैशाख १८ गते घोराही उपमहानगरपालिका वडा नम्बर १९ सैघाका मोतीलाल घर्तीको ३ लाख ७५ हजार, सोही ठाउँका घोराही–१९ तोषका प्रेमबहादुर घर्तीको ४ लाख ९७ हजार, घोराही उपमहानगरपालिका वडा नम्बर ७ शुक्रवारका बलबहादुर चौधरीको ४ लाख ७४ हजार, सोही ठाउँका बिजुलीप्रसाद चौधरीको ४ लाख ७४ हजार, र घोराही उपमहानगरपालिका वडा नम्बर १४ जनज्योति टोलका श्रीधर डिसीको पनि ४ लाख ७४ हजार ठगी गरेको उजुरी प्रशासनमा परेको छ ।

Blog Post Ad

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ गिधनियाका मेहरमान वली, सोही ठाउँका राजेश चौधरी र मिलन चौधरीको जनही एक–एक लाख, लमही नगरपालिका वडा नम्बर ९ का दशीराम चौधरीको १ लाख, लमही नगरपालिका वडा नम्बर ९ पैतेका मिलन चौधरीको ९० हजार र तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ गिधनियाका सन्तोष चौधरीको २५ हजार रकम लिएर सर्बिया पठाई दिने भन्दै ठगी गरेको आरोपमा ६ जनाले २०८१ वैशाख २७ गते राप्ती सोनारी गाउँपालिकाका एमनारायण चौधरीको नाममा उजुरी हालेका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १५ लुहाडबराका जलोन्धर डाँगीले जापान पठाई दिन्छु भन्दै तुलसीपुर ११ उरहरीका बिमल नेपालीलाई १२ लाख ५० हजार ठगी गरेको भन्दै २०८० माघ १० गते उजुरी दिनुभएको छ ।

चालु आर्थिक वर्षको साउनदेखि जेठ १३ गतेसम्म दाङमा २ सय १९ जना ठगीमा परेको भन्दै १ सय २७ वटा उजुरी परेको छ । वैदेशिक रोजगारका लागि जानेभन्दै दलालबाट ठगिएकाहरुले जिल्ला प्रशासनमा दिएको उजुरी अनुसार, अहिलेसम्म ६ करोड ८२ लाख ४ हजार ३ सय ५० रुपैयाँ ठगिएका छन् ।

ठगीमा पर्नेहरु आकर्षक तलब र काम पाईने लोभमा परेर दलालको भर पर्दा ठूलो रकम ठगीमा परेका हुन् । माल्टा, क्यानाडा, फ्रान्स, अमेरिका, पोल्याण्ड जस्ता देशहरुमा आकर्षक तलब र काम दिलाई दिनेभन्दै लाखौँ रकम असुली गरेर अन्तिममा दलाल सम्पर्क बिहीन भएपछि बल्ल पीडितहरु न्यायका लागि प्रहरी प्रशासनमा आउने गरेका सुरक्षित आप्रवासन सामी कार्यक्रम घोराहीकी सहजकर्ता रीता लामा बताउनुहुन्छ । ऋण लिएर दलाललाई बुझाएको रकम फिर्ता पाउनुपर्ने, दलाललाई कारवाही हुनुपर्ने माग गर्दै उजुरी दिन आउने गरेका लामाले बताउनुभयो ।

सामी कार्यक्रमकी सूचना तथा परामर्शकर्ता लामाले श्रम स्वीकृति नगर्दा, पैसा बुझाएको प्रमाण नराख्दा, नेपालको नभई भारत तथा अन्य देशको विमानस्थल प्रयोग गरी जाँदा, एजेन्टलाई शुरुमै राहदानी र पैसा बुझाउँदा, जाने देशको नियम र धर्म संस्कृति नबुझ्दा तथा सीप नसिकेर जाँदा धेरैजसो ठगिने तथा समस्यामा पर्ने गरेको बताउनुहुन्छ । ‘सामी कार्यक्रममार्फत गाउँबस्तीमा वैदेशिक रोजागारीका बारेमा सचेतना फैलाउने काम गर्दै आएपनि युवाहरु दलालकै भर पर्न खोज्दा समस्यामापर्ने गरेका छन्, प्रलोभनमा परेर मोटो रकम बुझाउने अनि पछि ठगिएको यकिन भएपछि मात्रै उजुरी दिन आउनेहरु धेरै छन्’ उहाँले भन्नुभयो ‘सरकारले दिएको सेवा सुविधाका बारेमा बेवास्ता गर्दा पनि समस्या थपिने गरेको छ ।’

दलालको भर परेर वा नबुझी विदेश जाँदा खाडी मुलुकमा दुई लाखसम्म, क्रोएसिया, पोल्याण्ड, माल्टाजस्ता युरोपियन देश जाने खोज्नेहरु १० लाखसम्म र अमेरिका जाने खोज्नेहरु ५० लाख रुपैयाँसम्ममा ठगिने गरेको उजुरीले देखाएको जिल्ला प्रशासन कार्यालयका मुद्दा शाखाका नायव सुब्बा चुडामणि भण्डारीले जानकारी दिनुभयो ।

विभागले दिएको अख्तियारी अनुसार, प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा वैदेशिक रोजगारीका नाममा परेका ठगीका उजुरी उपर काम कारवाही भईरहेको उहाँले बताउनुभयो । ‘विभागले पठाएको कार्य क्षेत्रभन्दा बाहिरका उजुरी भए प्रहरीको सहयोगमा पीडकलाई उपस्थित गराउन लगाउनेसम्मका काम हुन्छ । पीडितले दिएको जाहेरीमाथि दुवै पक्षलाई एकै ठाउँमा राखेर समस्याको निकास खोज्ने काम हुँदै आएको छ,’ नासु भण्डारीले भन्नुभयो ‘यो वर्षको हालसम्म २० वटा उजुरीको समस्या समाधान गरेको छ । आठ वटा उजुरीको विवरण विभागमा पठाएको छ । ६८ उजुरीमा प्रहरीको सहयोग लिइको छ ।’ जिल्ला प्रशासन कार्यालयले हालसम्म २१ जनाको ६० लाख ५९ हजार रुपैयाँ पीडितलाई फिर्ता गराउन सफल भएको छ ।

साउनयता कुन महिनामा कति ठगिए ? 

वैदेशिक रोजगारीका नाममा साउन महिनामा २५ जना पीडितका १४ उजुरी पर्दा १ करोड १६ लाख ७१ हजार तीन सय ५० रुपैयाँ ठगी भएको उल्लेख छ । भदौ महिनामा १३ जना पीडितको ११ उजुरीमा २२ लाख ९५ हजार ठगी भएको उल्लेख छ ।

असोजमा २४ जना पीडितको १२ उजुरी पर्दा ४४ लाख ७० हजार ठगी भएको उल्लेख छ । कार्तिक महिनामा १५ जना पीडितले ९ वटा उजुरी दिँदा ४९ लाख ६४ हजार ठगीमा परेका उल्लेख छ ।

मंसिर महिनामा ३९ जना पीडितले १५ वटा उजुरी दिँदा १ करोड २३ लाख ६६ हजार ठगीमा परेको उजुरी दिएका छन् । पुस महिनामा परेका १२ जना पीडितले ९ वटा उजुरी दिँदा ४२ लाख २३ हजार रुपैयाँ ठगी भएको उल्लेख गरेका छन् । माघ महिनामा जसमा १८ जना पीडितले १४ वटा वैदेशिक रोजगारसम्बन्धी उजुरी दिँदा ७२ लाख ७ हजार रुपैयाँ ठगीमा परेको निवेदन दिएका छन् ।

फागुन महिनामा १५ जना पीडितले ११ वटा वैदेशिक रोजगारसम्बन्धी उजुरी दिँदा ५९ लाख ५३ हजार रुपैयाँ ठगी भएको निवेदन दिएका छन् । चैत महिनामा १५ जना पीडितले ११ वटा उजुरी दिँदा ४२ लाख ५० हजार पाँच सय रुपैयाँ ठगीमा परेको दाबी गरेका छन् । २०८१ वैशाख महिनामा २८ जना पीडितले १४ वटा उजुरी दिँदा ६२ लाख ८४ हजार पाँच सय रुपैयाँ ठगी भएको दाबी गरेका छन् । यसैगरी, जेठ १३ गते आईतबारसम्म १५ पीडितले ७ वटा वैदेशिक रोजगार सम्बन्धी उजुरी दिँदा ४५ लाख १० हजार रुपैयाँ ठगी भएको दाबी गरेका छन् ।

वैदेशिक रोजगार ऐनमा के छ व्यवस्था ?

वैदेशिक रोजगार ऐन २०६४ ले इजाजतवालाले कसैलाई रोजगारीमा लगाइदिन्छु भनी झुटो आश्वासन दिई वैदेशिक रोजगारमा लगाइदिने उद्देश्यले कुनै रकम लिएमा वा विदेश नपठाएमा ३ देखि ७ वर्षसम्म कैद र ३ देखि ५ लाख रुपैयाँसम्म जरिवाना तथा इजाजतवालाको इजाजत रद्द हुने व्यवस्था गरेको छ ।

ऐनले लिएको रकमको ५० प्रतिशत हर्जाना पीडितलाई भराइदिने र कामदार विदेश गएको भए विदेश आउँदा जाँदाको खर्च भराइदिने ब्यवस्था छ । कानुनी व्यवस्था भए पनि प्रमाणको अभावमा पीडितले न्याय नपाउने गरेको गुनासो सरोकारवालाको छ ।

नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारको नाममा ठगीमा परेकाहरुको उजुरीको लागि मेलमिलाप तथा सिफारिस गर्ने कार्यविधि–२०८० जारी गरेको छ ।

जुन कार्यविधिले वैदेशिक रोजगारको व्यक्तिगत ठगीको उजुरीलाई जिल्ला प्रशासन कार्यालयले दर्ता गर्ने र मेलमिलापको माध्यमबाट समाधान गर्ने तथा मेलमिलाप हुन नसकेका उजुरी वैदेशिक रोजगार विभागमा सिफारिस गर्ने भनेको छ ।

मन्त्रालयले जारी गरेको कार्यविधिकै आधारमा जिल्ला प्रशासन कार्यालय दाङले आर्थिक वर्ष २०८०–०८१ को साउन १ गतेदेखि वैदेशिक रोजगारको उजुरीलाई कार्यालय मै छलफल चलाउने र समाधानको काम गर्दै आएको छ । प्रशासनको मुद्दा शाखाले अहिले ठगीका उजुरी संकलन गर्ने र त्यसलाई छलफलको माध्यमबाट समाधान गर्ने काम गरिरहेको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिनुभयो ।

ठगीमा परेको वा दलालले समस्यामा पारेका लगायतका उजुरी परेको आधारमा वैदेशिक रोजगार नियमावली २०६४ को नियम ५२ क को उपनियम २ ले दिएको अधिकार प्रयोग गरी जारी कार्यविधिमा रहेर कार्य सम्पादन अघि बढाएको उहाँको भनाई छ । जिल्ला प्रशासनमा हाल वैदेशिक रोजगारको नाममा भएका व्यक्तिगत ठगीका उजुरी मात्र लिने गरिएको र संस्थागत उजुरी वैदेशिक रोजगार विभागमा पठाउँदै आएको बताउनुभयो ।

सामी कार्यक्रमले पनि वैदेशिक रोजगारसम्बन्धी सूचना, न्यायमा पहुँच, सीपयुक्त तालिम प्रदान, वित्तिय साक्षरता र मनोसामाजिक परामर्शको क्षेत्रमा काम गर्दै आईरहेको छ ।

Blog Post Ad Blog Post Ad