Ad Area

बंगुरका पाठापाठी बिक्रीबाट मासिक एक लाख बढी आम्दानी


घोराही, १७ जेठ । घोराही उपमहानगरपालिका– १७ गैरागाँउ निवासी ३१ बर्षीय बीरबहादुर चौधरी बंगुरका पाठापाठी बिक्री गरेर मासिक एक लाख बढी आम्दानी गर्दै आउनुभएको छ । घरको कमजोर आर्थिक अवस्थाका कारण १२ वर्षकै उमेरका अर्काको बंगुर फर्ममा करिव ५ वर्ष काम गर्नुभएका बीरबहादुरले पछिल्लो समय आफ्नै व्यवसाय गरेर महिनामा लाख बढी आम्दानी गर्न सफल हुनुभएको छ ।

कामदारबाट मालिक बन्नुभएका उहाँले मेहनत गर्नेका लागि आफ्नै ठाउँमा कमाई गर्न सकिन्छ भन्ने देखाउनुभएको छैन मात्रै बंगुरका पाठापाठी बिक्री गरेर महिनामा एक लाख बढी कमाउने गर्दै आएको बताउनुहुन्छ । १३ वर्षअघि ५० हजारको लगानीमा ४ वटा माउ बंगुरबाट व्यवसाय सुुरु गर्नुभएका बीरबहादुरले अहिले पाख्रीबास र ल्याण्डेस जातका दुई सय ५० बढी बंगुरपालन गर्दै आउनुभएको छ । दुई सय ५० बढी बंगुरहरुमध्ये ५० बढी माउ बंगरहरु रहेका छन् । तीनै माउ बंगुरबाट जन्मिएका पाठापाठी बिक्री गरेर मासिक १ लाख बढी आम्दानी गर्ने गरेको बीरबहादुर चौधरी बताउँनुहुन्छ ।

निरन्तरको मेहनतपछि मालिक बन्न सफल बीरबहादु भन्नुहुन्छ,‘बंगरपालन पेसालाई सानो र दुःखको पेसा सम्झिएको भए अहिले मैले यो सफलता प्राप्त गर्न सक्ने थिएन ।’ उहाँका अनुसार बंगुरका पाठपाठीहरु जिल्लाभित्रसँगै पालनका लागि बुटवल,रोल्पा,काठमाडौंलगायतका विभिन्न जिल्लाबाट व्यवसायीले फोन गर्नेको बताउँनुहुन्छ । बंगुरका पाठापाठी जन्मिएको ४५ दिन पुगेपछि पाँच हजारदेखि ५५ सयसम्म मुल्यमा बिक्री हुने गर्दछन् ।

मासुभन्दा पनि मुख्यगरी पाठापाठी नै बिक्री गर्ने उद्देश्यले १३ बर्षअघि परिवर्तन बंगुर फर्म स्थापना गरेर व्यवसायीक रुपमा लाग्नुभएका बीरबहादुरले १३ वर्षको अन्तरालमा घरपरिवारलाई खुसी राख्दै एक करोड बढीको डेढ बिगाहा जग्गा जोड्न सफल भएको बताउँनुहुन्छ । तीन कट्ठा जग्गामा चार वटा माउ र एउटा भाले बंगुरबाट सुरु भएको व्यवसायमा अहिले दुई सय ५० बढी बंगुरहरुसँगै डेढ विगाह बढी जग्गा समेत जोड्न सफल भएको भन्दै बीरबहादुरले भन्नुभयो,‘यो सफलता मैले यहि बंगुरपालनबाट गरेको हुँ,सायद विदेश गएको भए सक्ने थिएन होला ।’

उहाँले महिनामा २० देखि ३० सम्म पाठापाठीहरु बिक्री गर्ने गरेको बताउँनुहुन्छ । बंगुर फर्मलाई बढाउँदै लग्नुभएका बीरबहादुरले थप ४५ बढी उन्नत जातका बंगुरका माउहरु तयार गर्न थालेको बताउँनुहुन्छ । व्यवसाय बढ्दै गएपछि घरपरिवारले मात्र नभ्याउने भएपछि बंगरलाई दानापानीसँगै सरसफाईका लागि एक जना मानिस राखेको बताउँनुहुन्छ । गतवर्ष बंगुरमा देखिएको महामारीका कारण वीरबहादुरको फर्ममा सानाठुला गरेर तीन सय बढी बंगुर मर्दा ४५ लाख बढीको क्षती भएको थियो ।

महामारीका कारण बंगरपालन फर्म नै रित्तिएपछि बिदेश जाने सोच बनाएको भन्दै वीरबहादुर भन्नुहुन्छ,‘महामारीका करण फर्म नै रित्तिएपछि सुरुमा बिदेश जाने सोच बनाए र तयारीमा लागेको थिए । तर विदेश गएपछि के काम गर्ने फिक्स नै थिएनन्,त्यही भएर मनमा डर लाग्यो । त्यो भन्दा आफ्नै ठाउँ ठिक लाग्यो, मन दरिलोे बनाए जुन आगोले पोल्छ, त्यही आगोले सेक्छ भने झै फेरी बंगुरपालनमा लागे ।’ महामारीका कारण बंगुर नै जिल्लामा नपाइने अवस्था आएपछि जिल्ला बाहिरबाट ल्याएर समेत पाल्न सुर गरेको उहाँ बताउँनुहुन्छ ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad