Ad Area

विदेशबाट फर्किएर व्यवसायीक कागती खेती


घोराही, २२ जेठ । जिल्लालाई कागतीमा आत्मनिर्भर बनाउने उद्देश्यले घोराही उपमहानगरपालिका–१६ तेरौटे निवासी प्रतिक लोहनीले चार विगाह बढी जग्गामा व्यवसायीक कागती खेती सुरु गर्नुभएको छ । लामो समय अध्ययन तथा रोजगारीका सिलसिलामा अमेरिका बस्नुभएका लोहनीले विगत दुई बर्षदेखि आफ्नै पुर्खौली थलोमा व्यवसायीक कागती खेती गर्नुभएको हो ।

तेरौटेमा रहेको आफन्तीहरुको करिव चार विगाह जग्गामा भाडामा लिएर एक हजार पाँच सय ५० विरुवा रोपेको लोहनी बताउँनुहुन्छ । उहाँका अनुसार तीन बर्षमा उत्पादन दिने सुनकागतीका विरुवा गतबर्ष पर्वतबाट ल्याएर रोप्नुभएको थियो । गतबर्ष रोपेका केही विरुवाहरुमा यो बर्षदेखि नै फल लाग्न सुरु गरेको भन्दै प्रतिक भन्नुहुन्छ,‘सुन कागतीको विरुवाले सामान्यतया रोपेको तीन बर्षदेखि उत्पादन दिने गरेको भनिन्छ तर यहाँ दुई बर्षमै कतिपय विरुवाहरुमा फल लागेको छ ।’ बोट सानो भएपनि यो बर्ष लागेका फलहरु परिक्षणका रुपमा रहन दिएको भन्दै उहाँले आगामी बर्षदेखि विरुवाले व्यवसायीक रुपमा उत्पादन दिनेमा विश्वसत रहनुभएको छ । सुन कागती व्यवसायीक खेतीका लागि राम्रो मानिएकाले आफुले पर्वतबाट ल्याएको बताउँनुहुन्छ ।

सुख्खा ठाउँ भएकाले थोप सिचाई प्रविधिकाका माध्यमबाट प्रत्येक बोटमा पानी पु¥याउने व्यवस्था गर्नुभएको छ । विगत लामो समयदेखि उपभोग हुन नसकेको जमिनलाई खनजोत गरेर व्यवसायीक कागती खेतीमा लाग्नुभएका लोहनी तेरौटे गाउँलाई ग्रिन भिलेजका रुपमा विकास गर्ने गरि लागेको बताउँनुहुन्छ । त्यही सोच अनुसार तेरौटेमा अहिले कागती, टमाटरलगायतको व्यवसायीक तरकारी खेती भइरहको उहाँ बताउँनुहुन्छ । गाउँलाई ग्रिन भिलेजका रुपमा विकास गर्नका लागि पेसाले सिभिल इन्जिनियर भएपनि गाउँमै बसेर कागती खेती गर्न थालेको बताउँनुहुन्छ ।

अमेरिकाबाट फर्किएर केही बर्ष काठमाडौंमा अध्यापनसँगै हाइड्रोपावर कम्पनीमा समेत काम गर्नुभएका लोहनीले भन्नुभयो,‘अरुको मात्र कति काम गर्ने आफ्नो पनि केही काम गरौ भन्ने सोचले कागती खेतीमा जोडिएको छु ’ अन्य तरकारीको तुलनामा कागतीलाई रोगको संक्रमणको डर कमसँगै उत्पादन बढी लिन सकिने र उत्पादन भएको कागती बिक्रीका लागि समेत समस्या नहुने भएकाले कागतीमा लागेको उहाँ बताउँनुहुन्छ ।

कागती खेतीका लागि आवश्यक प्राङ्गारिक मल समेत आफै उत्पादन गर्दै आउनुभएका लोहनीले कागती खेतीमा गोडमेल तथा हेरचाह गर्नका लागि दुई जनालाई रोजगारी दिनुभएको छ । धेरै विरुवाहरु भएकाले एक्लै हेरचाह गर्न नसकिने र फर्ममा काम भइरहेने भएकाले स्थानीय दुई जनालाई रोजगारी दिएको बताउँनुहुन्छ । कागतीलाई बढाउँदै लग्ने सोचमा रहनुभएका उहाँले प्रतिकटठा बार्षिक रुपमा तीन हजार रुपैया तिर्ने गरेको बताउँनुहुन्छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad