Ad Area

नेकपा एमाले दशौँ महाधिवेशन: दाङबाट १० हजारबढी नेता तथा कार्यकर्ता सहभागी


घोराही ९, मंसीर । शुक्रवारदेखि हुन लागेको नेकपा एमालेको दशौँ महाधिवेशनका लागि दाङबाट १० हजारबढी नेता तथा कार्यकर्ता चितवन प्रस्थान गरेका छन् । चितवनमा भईरहेको महाधिवेशनका लागी देशभरबाट लाखौँ नेता तथा कार्यकर्ताहरु सहभागी गराउने एमालेको तयारी स्वरुप जिल्लाका सबै पालिकाबाट ठूलो मात्रामा नेता, कार्यकर्ता, शुभेच्छुकहरु महाधिवेशनमा भाग लिन गएको नेकपा एमाले दाङका अध्यक्ष टीकाराम खड्काले जानकारी दिए ।

‘सबै पालिकाबाट गनेरै ८ हजार यसअघि सहभागी हुने भनिएको थियो, तर, साथीहरुको उत्साहले गर्दा सोँचेभन्दा धेरै जना महाधिवेशनमा सहभागी हुँदै हुनुहुन्छ,’ अध्यक्ष खड्काले भने, ‘म सबै पालिकाका साथीहरुसँग समन्वय गरिरहेको छु, कति साथीहरु शुक्रबार व्यक्तिगत रुपमा चितवनको ऐतिहासिक महाधिवेशनमा भाग लिन आउँदै हुनुहुन्छ ।’

जिल्लाका दश वटै पालिकाबाट सार्वजनिक बसको व्यवस्थापन गरी एकैसाथ चितवन प्रस्थान गरेको उनको भनाई छ । जिल्लाका सबै पालिकाबाट करीव १ सय ५० बढी बस भरिभराउ चितवन प्रस्थान गरेको छ । नेकपा एमाले जिल्ला संगठन दाङका सचिव मनोहर बुढाथोकीका अनुसार जिल्लाका ३ वटा निर्वाचन क्षेत्रबाट निजि सवारी साधन बाहेक झन्डै डेढ सय बढी बस परिचालन गरिएको छ । जसमा क्षेत्र नम्वर १ बाट २५ वटा सार्वजनिक बस, क्षेत्र नम्वर २ बाट ५० वटा र क्षेत्र नम्वर ३ बाट ६९ वटा बस परिचालन गरिएपनि धेरै जना जान ईच्छुक भएपछि थप व्यवस्थापन गरी चितवनका लागि हिँडेको छ ।

जिल्लाका सबै पलिकाभित्रका वडा कमिटीहरुबाट पनि धेरैले व्यक्तिगत रुपमा गाडी बुकिङ गरेर महाधिवेशनमा हिँडेको एमाले दाङले जनाएको छ । जिल्लाबाट यसरी यति धेरै जना नेता कार्यकर्ता, शुभेच्छुकहरु एमालेको कार्यक्रममा सहभागी भएको सम्भवतः पहिलो पटक रहेको एमाले जिल्ला अध्यक्ष खड्काले बताए ।

महासचिव, उपाध्यक्ष र केन्द्रिय सदस्य लिएर फर्कन्छौँः खड्का

नेकपा एमाले दाङका अध्यक्ष टीकाराम खड्काले यस पटकको महाधिवेशनबाट दाङले पार्टीको महासचिव, उपाध्यक्ष र केन्द्रिय सदस्य पाउने दावी गरेका छन् । जिल्लाबाट यति धेरै नेता कार्यकर्ता, शुभेच्छुकलिएर चितवनको ऐतिहासिक महाधिवेशनमा सहभागी हुँदै गर्दा दाङले के लिएर फर्कन्छ भन्ने प्रश्नमा अध्यक्ष खड्काले भने, ‘दाङ राजनीतिक रुपमा सबल, सक्षम नेता उत्पादन गर्न सफल जिल्ला हो, यो महाधिवेशनमार्फत हामीले दाङलाई महासचिव, उपाध्यक्ष र केन्द्रिय सदस्य लिएर फर्कन्छौँ, अरु दायाँबायाँ हुँदैन ।’

Blog Post Ad

एमाले स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोख्रेल तर्फ इंगित गर्दै नेता खड्काले भने, ‘यो पटक दाङले उच्च तहका नेता पाउँछ, मुख्यमन्त्री भईसक्नुभएका व्यक्ति अबको एमाले महासचिव हुनुहुनेछ । यसका लागि हामीले माहोल बनाएका छौँ, त्यही अनुसार हाम्रो सबै सामु पहल हुन्छ । ढुक्क हुनुस् अबको दुई दिनमा जे भनेको छु त्यही हुन्छ ।’ जिल्लाका सबै एमालेजनको साझा आवाज र धारणा पनि यो पटक महासचिव, उपाध्यक्ष र केन्द्रिय सदस्य रहेकाले यो विषय राष्ट्रिय बनि सकेको उनको भनाई थियो । चितवन महाधिवेशनमा भाग लिन जिल्लाका कुना कन्दराबाट पनि महिला, पुरुषको ठूलो जत्था बसमा बढेर गएको छ । बेलुकी अबेरसम्म चितवनका लागि बस जाँदै थियो ।

यसैबीच, महाधिवेशनमा २३ सय प्रतिनिधि सहभागी हुनेछन् । यसअघि गत कात्तिक २७ गते देशभरबाट १९ सय ९९ प्रतिनिधि निर्वाचित भएका थिए । महाधिवेशनमा १ सय ३० पर्यवेक्षक सहभागी हुने भएका छन् । महाधिवेशनले १५ पदाधिकारीसहित २ सय २५ केन्द्रीय कमिटी तथा लेखा र अनुशासन आयोगमा १५-१५ जना निर्वाचित गर्ने छ ।

महाविधेशनको सबै तयारी पूरा

नेकपा एमालेको १० औं राष्ट्रिय महाविधेशनको सबै तयारी पूरा भएको छ । चितवनमा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले बिहीबार रातिसम्म फिनिसिङको काम सकिएको जानकारी दिए । सभामा ५ लाखको जनसहभागिता रहने उनको दावी छ । महाधिवेशन उद्घाटनअघि एमालेले नवलपुरको गैंडाकोट र चितवनका विभिन्न ६ स्थानबाट जुलुस निकाल्ने भएको छ । चितवनमा मात्रै ५० भन्दा बढी स्वागतद्वार बनाइएको प्रचार विभाग प्रमुख भट्टराईले बताए ।

बन्दसत्रको हल बनाउने तयारी पनि सकिएको उनले जानकारी दिए । महाधिवेशनको उद्घाटन सत्रमा सबै सहभागी आइपुग्न नसक्ने भएकाले ठूल्ठूला डिजिटल स्क्रीनमार्फत कार्यक्रमको लाइभ देखाइने प्रचार विभाग प्रमुख भट्टराईले बताए । नारायणी नदी पारी गैंडाकोट र नारायणगढका विभिन्न स्थानमा डिजिटल बोर्ड राखिएको छ ।

महाधिवेशनको उद्घाटन सत्रमा सहभागी गराउन एमालेले जिल्लाका विभिन्न ठाउँमा घरघरमा पुगेर निम्ता गरेको नेता भट्टराईले बताए । एमाले उद्घाटन सत्रमा ५ हजार स्वयंसेवक परिचालन गरिएको छ । उनीहरुलाई उदघाटन सत्र र सडकमा परिचालन भएका छन् ।

यसैबीच एमालेले १० औँ राष्ट्रिय महाधिवेशनमा ८ मुलुकका राजनीतिक दलका नेताहरु सहभागी हुने जानकारी दिएको छ । बिहीबार पत्रकार सम्मेलनमा भट्टराईले महाधिवेशनमा भारत, बंगलादेश, श्रीलंका र कम्बोडियाका ८ राजनीतिक दलका १५ जना नेताहरू सहभागी जानकारी दिए । चीनलगायत अन्य २५ देशका दलहरूले भने महाधिवेशन सफलताको लागि शुभकामना सन्देश पठाएका पनि भट्टराइले बताए । कोरोनाका कारण धेरै देशले शुभकामना मात्रै पठाएका भट्टराइको भनाई छ ।

यस्तै, एमालेको १० औं राष्ट्रिय महाधिवेशनलाई शुभकामना दिन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा चितवन जाने भएका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपका अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष कमल थापा महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुने एमाले प्रचार विभाग प्रमुख भट्टराईले बताए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पनि निम्ता दिइएको एमालेले जनाएको छ तर, नेकपा एकीकृत (समाजवादी) लाई निम्ता नदिएको एमालेले जनाएको छ ।

Blog Post Ad Blog Post Ad