Ad Area

जेष्ठ नागरिकलाई यातायातमा छुट कार्यान्वयन गर्न माग


घोराही, २४ जेठ । नागरिक समाज दाङले सार्वजनिक सेवालाई जेष्ठ नागरिकमैत्री बनाउन माग गर्दै स्थानीय प्रशासनलाई ध्यानाकर्षणसहित ज्ञापन पत्र बुझाएको छ । समाजका सचिव नारायणप्रसाद श्रेष्ठको नेतृत्वमा आज जिल्ला प्रशासन कार्यालय पुगेर नेपालको संविधान २०७२ को धारा ४१ मा उल्लेख भएको जेष्ठ नागरिकको अधिकार कार्यान्वयनमा ध्यान दिन आग्रह गर्दै प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

जेष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ भनी मौलिक हकका रुपमा उल्लेख भएपनि अझै जेष्ठ नागरिकहरुले उपचार सेवा लिन होस् वा सार्वजनिक यातायातमा यात्रा गर्दा ५० प्रतिशत सुविधा पाउनु पर्नेमा कार्यानवयन हुन नसकेको प्रति गम्भीर ध्यानाकर्षण गराउँदै अबिलम्ब कार्यान्वन गर्न माग गरिएको छ ।

यसैगरी, अस्पताल, विद्युत, खानेपानी, दुरसञ्चार, बैंक लगायत स्थानमा नागरिकहरुले सेवा लिने निकायमा लाइन बसेर सेवा लिनुपर्ने अवस्थामा जेष्ठ नागरिक ऐन कार्यान्वयन हुन नसक्दा जेष्ठ नागरिकहरुले दुःख पाइरहेको प्रति पनि सहजीकरण गर्न ध्यानाकर्षण गराईएको छ ।

जेष्ठ नागरिक ऐन अनुसार सम्बन्धित निकायहरुमा कानून अनुसार जेष्ठ नागरिकहरुलाई सेवा सुविधा गर्ने गराउने व्यवस्थाका लागि ध्यानाकर्षण गराईएको नागरिक समाजका पूर्व संयोजक चन्द्रराज पन्तले जानकारी दिनुभयो ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी सुवेदीले सार्वजनिक यातायातमा लक्षितका लागि छुट्याईएको सेवा सुविधा कार्यान्वयन गर्ने विषयमा पटक पटक छलफल भई निर्णय भईसकेको जानकारी गराउँदै सम्बन्धित पक्षबाट कार्यान्वयन हुन नसक्दा चुनौति थपिएको बताउनुभयो ।

अब चाँडै नै एक अनुगमन टोली गठन गरी सार्वजनिक यातायातमा तोकिएको सेवा र सुविधा कार्यान्वयन गर्न कानुन अनुसार कारवाही प्रकृया अघि बढाउन लाग्ने बताउनुभयो । यसका लागि जिल्ला प्रशासन, नागरिक समाज, प्रहरी, ट्राफिक प्रहरी, यातायात कार्यालयलगायतको एक टोलीमार्फत अनुगमन गरिने उहाँले बताउनुभयो । ज्ञापन पत्र बुझाउन नागरिक समाजका कार्यसमिति, सदस्य, पूर्व संयोजकलगायत पुग्नुभएको थियो ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad