Ad Area

आम्दानी स्थिर, बजार भाउ आकाशिँदै, मारमा उपभोक्ता


घोराही, ३१ जेठ । भान्सामा चाहिने दैनिक उपभोग्य बस्तुदेखि प्रयोग हुने सबै प्रकारका बस्तुको मुल्य वृद्धि हुँदा आम नागरिकमा प्रत्यक्ष असर गरिरहेको छ । लामो समयदेखि आम्दानी स्थिर भएका तथा आय श्रोत कमजोर भईरहेका बेला खर्च अस्वाभाविक रुपमा बढ्दै जान थालेपछि नागरिकको दैनिकीमा असर गरिरहेको छ ।

आम्दानी र खर्चको अन्तर ऋणात्मक अवस्थामा जान थालेको भन्दै आम उपभोक्ताहरु चिन्तित बन्नु स्वाभाविक हो । दैनिक उपभोग्य बस्तुको मुल्य अस्वाभाविक रुपमा आकाशिँदै जाँदा जीवन धान्नै नसक्ने गरी असहज अवस्था सिर्जना हुन थालेको घोराही १५ का महेश थापाको भनाई छ । ‘केही आम्दानी भएकाहरु त जसो तसो बाँच्लान, हामी जस्ता केही नहुनेको के हालत हुने हो दैनिक रुपमा हरेक बस्तुको मुल्य आकाशिँदै गएको छ, आम्दानी बढेको छैन । काम पनि पाउन गाह्रो छ । यो बेलामा बाल बच्चा पढाउने की पेट पाल्ने भन्ने नै चुनौति छ’, उहाँले भन्नुभयो ।

व्यापार, व्यवसाय गर्नेहरुको हालत पनि उस्तै छ । बजारमा आर्थिक चलायमान कमजोर छ । अत्यावश्यक बाहेक खरीद गर्ने अवस्थामा उपभोक्ता छैनन् । जसले गर्दा बस्तु बिक्रिमा पनि गिरावट आएको व्यवसायी बताउँछन् । यति मात्रै होईन, हरेक पटक खरीद गरेर ल्याउने बस्तुको मुल्य बढेर आउँदा ग्राहकलाई यसको मार पर्ने गरेको उनीहरु बताउँछन् । व्यवसायीहरुले खरीदको अनुपातमा बस्तुको मुल्य निर्धारण गरेर बिक्रि गर्दा अन्तिम भार उपभोक्ताकै थाप्लोमा आईलाग्छ ।

चामल, तेल, दाल, तरकारी लगायत खाद्यान्न आयातमा निर्भर रहेको नेपाली बजारको उपभोक्तालाई आर्थिक भार थपिनु नौलो विषय पनि होईन । करीव ६५ प्रतिशत नागरिक कृषि पेशामा आश्रित भएको बताइए पनि आन्तरिक खपत पनि पुर्याउन नसक्ने अवस्था नेपालको कृषि क्षेत्र छ । भारतसहित विभिन्न देशबाट आयात हुने खाद्यान्नको भर पर्नुपर्ने अवस्थामा मुल्य आकाशिँदा आम उपभोक्ताको चुलोसम्म प्रत्यक्ष असर पर्ने गरेको छ ।

‘तेल आयातमा १३ प्रतिशत भ्याट र ५ प्रतिशत भन्सारसहित कुल १८ प्रतिशत मूल्यवृद्धि आयात बिन्दुमै हुन्छ,’ दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशीले भन्नुभयो, ‘यसको असर उपभोक्ता मूल्यमा पर्छ । त्यसैले उपभोक्तालाई सहुलियत दिन करको दरमा पुनर्विचार गर्नुपर्छ । वाणिज्य क्षेत्रको अवस्था मात्रै होईन, उद्योगहरुले पनि उस्तै समस्या भोग्न बाध्य छन् ।’

उहाँले बजारमा आर्थिक मन्दीको असरले पनि व्यापार व्यवसायमा धक्का लागेको बताउनुहुन्छ । अधिकांश सटर बन्द हुने अवस्थामा पुगेको भन्दै व्यापार व्यवसायमा लगानीको वातावरण पनि बन्न नसकेको तर्क गर्नुहुन्छ । आर्थिक मन्दीक कारण व्यापार व्यवसाय हुन छाडेपछि व्यवसायी सटर बन्द गरेर विदेश पलायन हुन थालेका छन् । बैंकले विगतमा ब्याज बढाउँदा खेपेको सास्तीले अहिले कोही पनि ऋण लिने आँट गरिरहेका छैनन् । ‘बैंकमा लगानीयोग्य पैसा भएर के गर्नु ? बजारमा पैसा अभाव छ’, उहाँले भन्नुभयो ‘बजारमा पैसा अभाव भएपछि आर्थिक चलायमान भएको छैन । यसले सबै तिर असर गरिरहेको छ । एकातिर महंगी उकालो लागेको छ । अर्कोतिर मानिससँग पैसा अभाव छ । अनि कसरी बजार अर्थतन्त्र चलायनमान होला र ? अहिलेको मुख्य समस्या यही हो । ’

Blog Post Ad

महंगी बढ्दै जाँदा पनि सरोकार निकायले चासो नलिएको गुनासो आम उपभोक्ताले गर्ने गरेका छन् । बजार अनुगमनकर्ताहरुले व्यवसाय दर्ता छ की छैन, नवीकरण भएको छ की छैन जस्ता कुरामा बढी केन्द्रित हुने गरेको छ । मापदण्डका विषयमा केन्द्रित भएपनि उपभोक्ताको मुल चासोको विषय सँधै ओझेलमा पर्ने गरेको छ । जसका कारण बजारको महंगी नियन्त्रणमा चुनौति थपिएको घोराही १८ का मोहन बुढा बताउनुहुन्छ । ‘व्यवसायीले आफुहरुको खरीद मूल्यको तुलनामा मूल्य बढाइरहेका छन्, सरकार नियन्त्रण गर्न चासो देखाउँदैन,’ उहाँले भन्नुभयो, ‘उपभोक्ताको मर्का बुझ्ने निकाय भेटिँदैन । सबै कुराको मार हामीलाई आई लाग्छ ।’

उपभोक्ता हित संरक्षण ऐन २०७५, स्थानीय सरकार सञ्चालन ऐन २०७४ र गाउँपालिका र नगरपालिकाबाट गरिने बजार अनुगमन निर्देशिका २०७४ ले स्थानीय सरकारलाई अनुगमनको जिम्मेवारी दिएको छ । सोही आधारमा पालिका स्तरबाट बेला बेलामा अनुगमन गर्ने गरिएको पालिकाले बताउने गरेको छ । तर सही रुपमा अनुगमन र कारवाही कार्यान्वयन हुन नसक्दा त्यसको असर आम उपभोक्तामा पर्ने गरेको छ ।

Blog Post Ad Blog Post Ad