Ad Area

सहज रुपमा मल बीउ माग गर्दै किसान महासंघद्वारा ज्ञापन पत्र


घोराही, ३१ जेठ । किसान महासंघ दाङले बर्खायाम शुरु हुनु अगावै सहज रुपमा मल बीउ उपलब्धताको माग गर्दै स्थानीय प्रशासनमा ज्ञापन पत्र बुझाएको छ ।
किसान महासंघ दाङका अध्यक्ष चन्द्रप्रसाद चौधरीको नेतृत्वमा बुधबार ज्ञापन पत्र बुझाउन गएको टोलीले बर्खायाममा धान, मकै खेती गर्ने बेलामा सहज मल बीउको सहुलियत उपलब्धताको माग गर्दै सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनलाई ज्ञापन पत्र बुझाएको छ ।
खेतीपातीको समयमा हरेक वर्ष हुने रासायनिक मलको अभावले कृषि पेशामा रहेका आम कृषकलाई प्रभावित पारिरहेको तथा यसबाट कृषि उत्पादनमा समेत ह्रास आईरहेको जानकारी गराउँदै विगत वर्षहरु जस्तो समस्या खेप्न नपरोस् भनेर धान, मकै खेती हुनु अगावै सहज रुपमा मल बीउको उपलब्धताका लागि पहल गरि दिन ध्यानाकर्षणसहित ज्ञापन पत्र बुझाईएको छ ।
ज्ञापन पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले जिल्लामा यो वर्ष सहज रुपमा मल आपूर्तिमा ध्यान दिएको जानकारी गराउँदै मल वितरक संस्थासँग समन्वय गरिरहेको बताउनुभयो ।
उहाँले मल बीउमा हुन सक्ने कालो बजारी रोक्न आम किसानहरु पनि चनाखो हुनुपर्ने भन्दै कहीँ कतै कालो बजारी, गुणस्तर नभएको मल बीउ बिक्रि भएको आशंका लागेमा तत्काल जानकारी गराउन पनि आग्रह गर्नुभयो ।
गुणस्तरयुक्त मल बीउ पाउनुपर्ने आम किसानको हक भएको बताउँदै उहाँले कोही पनि किसान नठगिऊन् भनेर प्रशासनले चासो लिएर काम गरिरहेको बताउनुभयो ।
ज्ञापन पत्र बुझाउन किसान महासंघ दाङका अध्यक्ष चौधरीसहित उपाध्यक्ष श्याम रायमाझी, सचिवद्वय भीमलाल चौधरी, ऋषिराम चौधरी, सहसचिव कालीचरण चौधरी, सदस्यहरु बलबहादुर बिष्ट, दुर्गाबहादुर खत्री, नकुलाल चौधरी, किसान महासंघ क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति बेदप्रसाद चौधरीलगायत पुग्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad