Ad Area

सरसफाईसँगै वातावरण जोगाउने अभियानमा मुक्त कमलरी


घोराही, २४ जेठ । मानवीय कारणले बढ्दो प्रदुषण कम गर्न वातावरण स्वच्छ बनाउने अभियानका साथ पर्यावरण संरक्षण अभियानमा मुक्त कमलरीहरु जुर्मुराउन थालेका छन् । समुदायमा हुने गरेको फोहोर व्यवस्थापन सम्बन्धी सचेतनासँगै पर्यावरण संरक्षण गर्न आफुहरु समुदाय स्तरमा खटिएर गाउँ, टोलका स्थानीय र वडा कार्यालयलाई पनि अभियानमा आवद्ध गराउन थालेका छन् ।

पृथ्वी स्वस्थ भएमात्रै प्राणी जगतको अस्तित्व सुरक्षित सम्भव छ भन्ने मान्यताका साथ मानिसबाट भईरहेको गलत व्यवहारलाई सुधार्न परिवार, समुदाय, टोल बस्तीमा सरसफाईसँगै वातावरण जोगाउने अभियानको थालनीमा खटिएका छन् । मुक्त कमलरी विकास मञ्चको नेतृत्वमा साझेदार संस्थाहरु स्वच्छ सफा नेपाल, सोसेक नेपाल तथा आईएम नेपालको सहयोगमा घोराही उपमहानगरपालिकाको वडा नम्बर २, ४ र ८ का वडा कार्यालय परिसर, गाउँ, टोलबस्तीहरुमा मुक्त कमलरीहरुले पर्यावरण जोगाउन स्वच्छता अभियान चलाएका छन् ।


विश्व वातावरण दिवसको अवसर पारेर सप्ताह व्यापी रुपमा उनीहरु अझ सक्रिय भई समुदाय स्तरमा खटिएका छन् । पछिल्लो समय प्लाष्टिजन्य पदार्थको बढ्दो प्रयोग र लापरवाहीपूर्ण व्यवस्थापनका कारण वातावरणसँगै माटोको उर्वराशक्तिमा परेको नकारात्मक असरका बारेमा पनि अभियानका क्रममा सचेतना फैलाउने काम उनीहरुबाट भएका छन् ।

औद्योगिक क्रान्तिका नाममा मापदण्ड विपरित संचालित उद्योगहरुले पारिरहेको असर तथा प्लास्टिकजन्य पदार्थको प्रयोगले वातावरण बिथोलिँदै जानु सिंगो पृथ्वी अनि यहाँ बस्ने सबैका लागि चिन्ता र चासोको विषय ठानेर सरसफाईसँगै पर्यावरण जोगाउन विभिन्न सरोकार निकायको सहकार्य र स्थानीय सरकारसँगको समन्वयमा अभियानको थालनी गरिएको मुक्त कमलरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष हीरामोती चौधरी बताउनुहुन्छ ।

अभियानका क्रममा हरियाली बढाउन विरुवा रोपण, सरसफाईका लागि घरपरिवार, समुदायको स्वच्छतामा निगरानी अनि फोहोरजन्य बस्तुको व्यवस्थापनलगायत विषयमा समुदायका हरेक व्यक्तिलाई सिकाउँदै व्यवहारमा उतार्ने कामको थालनी गरिएको मुक्त कमलरी विकास मञ्चकी केन्द्रीय उपाध्यक्ष निर्मला चौधरी उहाँले बताउनुभयो ।

Blog Post Ad

अहिले पनि घर, संघ संस्था, उद्योग कलकारखानालगायत स्थानबाट निस्कने फोहोरको उचित व्यवस्थापन प्रभावकारी हुन सकेको छैन । जसका कारण फोहोर व्यवस्थापनमा चुनौति थपिँदै गएको छ । यसका लागि फोहोरको श्रोतबाट व्यवस्थापन कसरी गर्ने भन्ने ज्ञानको अभावमा स्थानीय स्तरमा समस्या बढ्दै गएको स्वच्छ सफा नेपालका श्रवणकुमार बस्नेत बताउनुहुन्छ ।

श्रोतबाट फोहोर व्यवस्थापन गर्न सकेमा ७० प्रतिशत फोहोर घरमै विभिन्न प्रयोजनमा ल्याउन सकिने र बाँकी ३० प्रतिशत फोहोरलाई डम्पिङ गर्नुपर्ने अवस्था आउने बारे सचेतना फैलाउँदै सबैलाई व्यवहारिक कार्यान्वयनमा जोड दिने गरेको उहाँको भनाई छ । यसरी फोहोर व्यवस्थापन गर्दा डम्पिङ साईटमा फोहोरको चाप घट्नुका साथै घर वा सम्बन्धित ठाउँमा गल्ने फोहोरको व्यवस्थापन गरी जैविक मल बनाएर कृषि प्रयोजन लगाउन सकिने बताउनुहुन्छ । ‘फोहोर व्यवस्थापनका बारेमा जानकारी गरेर मात्रै हुँदैन, समुदायमा स्वच्छता राख्न वातावरण हरियाली बनाउनुपर्छ भनेर बोट विरुवा रोप्ने, उनीहरुको संरक्षण पनि गर्ने बारेमा समुदायसँगसँगै अभियानमा खटिएका छौँ’, स्वच्छ सफा नेपालका बस्नेतले भन्नुभयो ।

विश्व वातावरण दिवसको अवसरमा घोराहीका २, ४ र ८ नम्बर वडामा सरसफाई गर्दा थुप्रै फोहोर संकलन समेत भएको छ । संकलित फोहोरलाई पनि फोहोरको प्रकृति अनुसार वर्गीकरण गर्ने कामसमेत गरेको अभियानमा आवद्ध सोसेक नेपालका कार्यक्रम संयोजक द्रोर्ण जिसीले बताउनुभयो ।

‘संकलित फोहोरलाई अलग अलग ठाउँमा छुट्याएर उचित व्यवस्थापन गर्न सिकाएका छौँ । वडामा गरिएको सरसफाई अभियानमा मुक्त कमलरी, संस्थाले गठन गरेको समुहका सदस्य, टोल विकास संस्था तथा स्थानीयबासी यो अभियानमा जोडिनुभएको छ’, सोसेक नेपालका कार्यक्रम संयोजक जिसीले भन्नुभयो ‘सरसफाई तथा पर्यावरण जोगाउने काममा लाग्नुपर्छ ।’

नेपाल सरकारद्वारा तोकिएको मापदण्डभन्दा कम गुणस्तरको एकल प्रयोग हुने प्लास्टिकका झोलाको प्रयोग, बिक्री वितरण नगर्न, यसको भण्डारण तथा प्रयोगलाई निरुत्साहित गरी बहुप्रयोग हुने कपडा तथा अन्य वातावरणमैत्री सामग्री प्रयोग गरी बनाइएका वैकल्पिक झोलाको प्रयोगलाई प्रोत्साहनको काम अभियानका क्रममा गर्ने गरिएको उहाँ बताउनुहुन्छ ।

सरसफाई अभियानका क्रममा धेरै जसो प्लाष्टिकका बस्तु संकलन भएको बताउँदै मुक्त कमलरी विकास मञ्चकी कार्यक्रम संयोजक सुलोचना चौधरी प्लाष्टिकको प्रयोग कम कसरी गर्ने भन्ने बारेमा सचेतना प्रदान गर्ने गरिएको बताउनुभयो । ‘वातावरण तथा जनस्वास्थ्यलाई प्रतिकूल असर पुर्याउने गरी प्लास्टिक, कृषि अवशेष तथा अन्य प्रकारको फोहोर खुलारुपमा जलाउने कार्यलाई निरुत्साहित गर्न हामीले निरन्तर रुपमा समुदाय स्तरमा गठित समुह, बाल क्लव, वडा कार्यालयमार्फत सचेतनासँगै व्यवहारिक कार्यान्वयन गर्न लगाई रहेका छौँ’, उहाँले भन्नुभयो ।

वडा नम्बर २ शरद डिसी प्रमुख अतिथि रहेको सरसफाई कार्यक्रममा मुक्त कमलरी विकास मञ्चका जिल्ला पदाधिकारी, सदस्यहरु, रामपुर प्रहरी चौकीका प्रतिनिधि, स्थानीय नागरिकलगायत सहभागी हुनुहुन्थ्यो । घोराही २ की सुशीला चौधरीले मानिसकै कारण वातावरणमा परिरहेको असरमा मानिसलाई नै असर गरिरहेको प्रति चासो नदिँदा अहिले विभिन्न प्रकारका समस्याको सामना गर्नु परिरहेको बताउनुभयो । मुक्त कमलरी विकास मञ्चको जिल्ला उपाध्यक्षसमेत रहनुभएकी चौधरीले पर्यावरण जोगाउन सरसफाईसँगै हरियाली कायम गर्न व्यक्ति, घरपरिवार, समुदाय, टोलबाट अभियानलाई साथ रहने प्रतिवद्धता जनाउनुभएको छ ।

४५ जना भन्दा बढी सहभागी भएर गाउँ टोलको सरसफाई गर्दै पर्यावरण जोगाउन विरुवा पनि रोपण गर्नुभएको थियो । स्थानीय सन्तोषी चौधरीले हरित वातावरण बनाउन घरबाटै अभियानको थालनी गरिसकेको बताउनुहुन्छ । सरसफाई गर्दै फोहोर गर्नु हुन्न भनेर सचेत गराउने काम समुदाय स्तरमा गर्ने गरेको उहाँको भनाई छ ।

सरसफाई अभियान मानव सभ्यतासँग जोडिएको विषय भएको भन्दै पृथ्वीमा बढ्दो फोहोर कम गर्न आनीबानीमा सुधार गर्न जरुरी रहेको घोराही ४ का वडा अध्यक्ष मधुसुदन शर्माले बताउनुहुन्छ। उहाँले पर्यावरण जोगाउने सवालमा सबैको हातेमालो हुनु आवश्यक रहेको बताउनुभयो । अभियानमार्फत संकलित फाेहाेर उचित व्यवस्‍थापन गर्ने र वडा स्तरबाट अभियान निरन्तर चल्ने बताउनुभयाे ।

सरसफाई अभियानमा खटिनुभएकी लक्ष्मीपुरकी स्थानीय सुनिता चौधरीले आफुहरुले सरसफाईसँगै यसको व्यवस्थापनका बारेमा सिकेको ज्ञानलाई भोलिका दिनबाट आफुले व्यवहारमा उतार्ने र समुदायमा पनि सबैलाई वातावरण जोगाउन प्रेरित गर्ने प्रतिवद्धता जनाउनुभयो ।
बराह टोल विकास संस्थाका अध्यक्ष हीतलाल भण्डारीले टोलबासीहरुलाई फोहोर व्यवस्थापनमा ध्यान दिन र वातावरण सुरक्षित बनाउने काममा आगामी दिनमा निरन्तर कार्यक्रम गरिने बताउनुभयो ।

घोराही ८ को कार्यवाहक वडा अध्यक्ष चुडामणि चौधरीसहित वडाभित्रका विभिन्न टोल विकास संस्थाका प्रमुख प्रतिनिधि, नारायणपुर प्रहरी चौकीका प्रतिनिधि, युवा क्लव, सोसेक नेपाल, स्थानीय गरी ८१ जना भन्दा बढीको सहभागीतामा वृहत रुपमा सरसफाईसँगै वातावरण संरक्षणका सवालमा देखा परेका समस्या समाधान गर्ने गरी समुदाय स्तरमा भुमिका बढाउने प्रतिवद्धता जनाईएको छ ।

पूर्व सेवार टोलका अध्यक्ष प्रेमबहादुर चौधरीले पर्यावरण मानव जातिको अस्तित्वसँग प्रत्यक्ष जोडिएको विषय भएकाले यो अभियानमा सबै गम्भीर हुनु आवश्यक रहेको बताउनुभयो । वातावरण स्वच्छ राख्ने अभियान मुक्त कमलरी विकास मञ्चले गरेपनि यो सबैको अभियान बन्न जरुरी रहेको बताउनुभयो ।

Blog Post Ad Blog Post Ad