Ad Area

भिआइए स्क्रिनिङ शिविरमा ६१ महिलाले लिए सेवा


घोराही, ३१ जेठ । घरछेउँमा स्वास्थ्य शिविरबाट निशुल्क सेवा पाउँदा स्थानीय नागरिक खुशी भएका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर ११ शिवपुरमा प्रजनन् रुग्णता कार्यक्रम अन्तरगत भिआइए स्क्रिनिङ शिविर बुधबार हापुरको शिवपुरमा संचालन गरिएपछि उनीहरु लाभान्वित भएका हुन् । घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा र वडा नम्बर ११ को आयोजनामा गरिएको शिविरमा ६१ जना महिलाको प्रजनन् स्वास्थ्य परिक्षण गरिएको थियोे ।

जसमा पाठेघर खसेका १४ जना, क्यान्सरको शंका लागेका २ जना, पाठेघरमा मासु पलाएका ४ जना बिरामी पहिचान भएका छन् । यसैगरी महिनावारी गडबडी, सेतोपानी बग्ने, तल्लो पेट दुख्ने, पाठेघरमा घाउखटिरा भएका बिरामीले सेवा लिएको भिआइए फोकल पर्सन बिमला पौडेलले जानकारी दिनुभयो ।

वडा नम्बर ११ का अध्यक्ष कुलबहादुर लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष लामिछानेले पाठेघरको परिक्षण गर्न लाज मान्न नहुने बताउनुभयो । क्यान्सर जस्ता प्राणघातक रोग लागेमा घरबास बेचेर औषधि उपचार गर्दा पनि रोग निको नहुने भएकाले समयमै सचेत भएर परिक्षण गर्न आग्रह गर्नुभयो । घरघर सेवा दिने उद्देश्यले स्वास्थ्यकर्मीसहितको टालीले स्वास्थ्य सेवा दिन लागेको बताउनुभयो ।

घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीले महिलाहरु आफ्नो स्वास्थ्यको बारेमा सचेत हुनुपर्ने बताउनुभयो । स्वास्थ्य सेवाबाट कोही पनि महिला दिदीबहिनीहरु बन्चित हुन नपरोस् भनेर घर आँगनमा सेवा दिन शिविरको आयोजना गरिएको बताउनुभयो ।

भीआइए परिक्षणबाट पाठेघरमा क्यान्सर भए नभएको पत्ता लगाउने पहिलो चरणको परिक्षण भएकाले सबैले परिक्षण गर्न आग्रह गर्नुभयो । क्यान्सरका बिरामीलाई स्थानीय तहले केही रकम सहयोग गर्ने भएकाले दैनिक ५–६ जना क्यान्सरका बिरामीको सिफारिस गर्नुपर्दा साह्रै मन दुख्ने गरेका कारण २०८० मंसिर महिनादेखि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रत्येक बिहीबार पाठेघरको भिआइए परिक्षण सुरु गरेको बताउनुभयो ।

घोराही उपमहानगरपालिका जनस्वास्थ्य शाखा प्रमुख राधा पौडेलले निरोगी हुनु पहिलो अधिकार भएकाले सबैले स्वास्थ्य सेवा लिन आग्रह गर्नुभयो । शिविरमा आयोजित कार्यक्रमको सहजीकरण शिवपुर स्वास्थ्य केन्द्रका प्रमुख ललित बुढाथोकीले गर्नुभएको थियो ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad