Ad Area

रगतको खपत बढ्दै, नयाँ रक्तदाताको खोजी गर्नुपर्ने बाध्यता


विश्व रक्तदाता दिवस

घोराही, ३२ जेठ । बिरामीका लागि मानवबाट मात्रै रक्तदान गरेर उपचार सम्भव हुने रगत आपूर्ति गर्न दाङमा नयाँ रक्तदाताको खोजी गर्नुपर्ने अवस्था रहेको छ । नियमित रुपमा रक्तदान गर्ने रक्तदाताहरुको संख्या घट्दै जान थालेपछि नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र दाङलाई नयाँ रक्तदाता खोज्नु पर्ने अवस्था रहेको छ ।

बिरामीको चाप बढ्दै जाँदा नियमित रक्तदाताले गरेको रगतदानबाट रगत आपूर्ति धान्न नसक्ने भएपछि नयाँ रक्तदाता खोज्नु परेको हो । जिल्लाको घोराही, तुलसीपुर र लमहीबाट रगत संकलन हुने गरेकोमा अस्पतालहरुमा बिरामी बढ्दै जाँदा रगत आपूर्ति गर्न संघ संस्थाहरुले आयोजना गर्ने कार्यक्रम तथा दिवसहरुमा नयाँ रक्तदाताबाट रगत संकलन गर्नुपर्ने अवस्था रहेको नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र दाङका वरिष्ठ प्राविधिक ठाकुर पौडेलले जानकारी दिनुभयो ।

जिल्लाको घोराही, तुलसीपुर र लमहीमा रहेको अस्पतालमा धेरै मात्रामा रगत खपत हुने गरेको छ । सामान्यतया एउटा व्यक्तिले रक्तदान गर्दा एक युनिट अर्थात ३५० मिलिलिटर रगत झिक्ने गरिन्छ । तर बिरामीलाई अवस्था हेरेर एक युनिटदेखि ४–५ युनिटसम्म पनि रगत आवश्यकता पर्ने गर्छ । एउटा बिरामीलाई धेरै रगत चढाउनु परे आफन्तलाई रगत दान गर्न लगाएर आपूर्ति गर्ने गरिएको रक्त संचार केन्द्र दाङका वरिष्ठ प्राविधिक पौडेलले बताउनुभयो ।

जिल्लामा बढ्दो बिरामीको चापका कारण वार्षिक ६ हजार बढी युनिट रगत खपत हुने गरेको रक्त संचार केन्द्रको भनाई छ । जिल्लामा वर्षेनी रगतको माग बढ्दै गएपनि रक्तदाताको संख्या भने सो अनुपातमा बढ्न सकेका छैनन् । अहिले दाङमा करीव ५ हजार ५ सय रक्तदाता रहेको उहाँले बताउनुभयो । यसमा नियमित रक्तदाता करीव ५० जना मात्रै रहेका वरिष्ठ प्राविधिक पौडेलले बताउनुभयो ।

रगत आपूर्तिका लागि संघ संस्थाले आयोजना गर्ने कार्यक्रम नै रगत संकलनको मुख्य आधार रहेको छ । यसका लागि संघ संस्थाले नै रक्तदाताको व्यवस्थापन गर्ने गरेका रक्त संचार केन्द्रले जनाएको छ । यसमा नियमित रक्तदाता भन्दा नयाँ रक्तदाताहरु थपिने गरेका छन् । यसरी रक्तदाता थपिनेमा विभिन्न कलेज, क्याम्पसहरुमा अध्ययनरत विद्यार्थीहरु रहने गरेका छन् ।

Blog Post Ad

‘रगत संकलन गर्न स्थलगतरुपमै पुग्ने गरेका छौँ । यदि कुनै संघसंस्थाले रक्तदान कार्यक्रमको आयोजना गरेपछि कार्यक्रम आयोजनास्थलमै पुगेर रगत संकलन गरिरहेका छौँ’ उहाँले भन्नुभयो ‘रक्तदानको कार्यक्रम गर्नेदेखि रक्तदाता खोज्ने काम उहाँहरुले नै गर्दै आउनुभएको छ ।’ मानव शरीरमा औसत ५ दशमलब ५ लिटर रगत हुन्छ । कुनै पनि स्वस्थ व्यक्तिले हरेक ३ महिनामा रक्तदान गर्न सक्छ ।

शरीरको वजनको करिब सात प्रतिशत भाग रगत रहेको हुन्छ । रगतमा प्लाज्मा ५४ दशमलव ३ प्रतिशत, रातो रक्तकोष ४५ प्रतिशत र सेतो रक्तकोष शून्य दशमलब ७ प्रतिशत रहेको हुन्छ । सामान्य अवस्थाको एक स्वस्थ मानिसले हरेक तीन महिनामा रक्तदान गर्दा शरीरमा कुनै हानी नोक्सान नहुने चिकित्सकहरू बताउँछन् । सामान्यतया १८ देखि ६५ वर्ष उमेरसम्मका स्वस्थ व्यक्तिको रगत बिरामीका लागि उपयोगी हुने चिकित्सकहरू बताउँछन् ।

जिल्लामा पचास पटक भन्दा धेरै रक्तदान गर्नेहरु सिमित हुनुहुन्छ । ५० पटक बढी रक्तदान गर्नेहरुमा जीतबहादुर केसी, लोकराज पराजुली, धनबहादुर खड्का, ठाकुर पौडेल, बिरेन्द्र कुमार आचार्य, साहना श्रेष्ठ, कालिका खरेल, प्रमोद श्रेष्ठ, सुमन पौडेललगायत हुनुहुन्छ । अहिलेसम्म ३० पटक भन्दा बढी रक्तदान गर्नेहरुमा नरेन्द्र पुन, शरद अधिकारी, धर्मेन्द्र श्रेष्ठ, प्रकाश डाँगी, भीम मरासिनीलगायत हुनुहुन्छ ।

जिल्ला दुर्लभ रक्त समुहमा पर्नेहरुमा प्रविण डिसी, सुस्मा जोशी, मनिसा थापा, बसन्त खनाल, धनबहादुर डाँगी, दुर्गा केसी, रोशनी पोख्रेल, निना कुमारी शर्मा, ओमप्रकाश जोशी, विक्रम नेपाली, दीपक थापा, मानबअनदुर बुढाथोकी, तेज जंग, विक्रम चौधरी, थम्मन चौधरीलगायतले पनि नियमित रुपमा रक्तदान गरेर बिरामीको उपचारमा सहयोगी बन्नुभएको छ ।

दाङमा रेडक्रस जिल्ला शाखासहित टोलटोलमा उपशाखाहरू छन् । तर ती शाखाहरूले रक्तदानको नारा उठाए पनि रक्तदानको कार्यक्रम प्रभावकारी रुपमा संचालन हुन नसक्दा सिमित रुपमा रहेका नियमित रक्तदातासँगै नयँ रक्तदाता खोज्नुपर्ने अवस्था रहेको छ । यसका लागि संघसंस्थाले आयोजना गर्ने रक्तदानको कार्यक्रम प्राय कुर्नुपर्ने अवस्था छ । ‘व्यक्तिगत रुपमा भन्दा संस्थागतरुपमा रगतदान गर्नेहरू बढेका छन्,’ उहाँले भन्नुभयो, ‘सरदर अनुपातमा रक्तदाता र आपूर्ति बीचको सन्तुलनले अहिले केही हदसम्म माग अनुसार र आपूर्तिमा सहजता भएको छ ।’

नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र दाङको तथ्यांक अनुसार, आर्थिक वर्ष २०८०–०८१ को साउनदेखि जेठ ३१ गतेसम्म जिल्लाका तीन वटै रक्त संचार सेवा केन्द्रबाट ५ हजार ३ सय ३८ युनिट रगत संकलन भएको छ । जसमा लमही सेवा केन्द्रबाट ६ सय ९३ युनिट, तुलसीपुर सेवा केन्द्रबाट १ हजार ७ सय ४५ युनिट र घोराही सेवा केन्द्रबाट २ हजार ९ सय युनिट रगत संकलन भएको छ । जसमध्ये करीव ५ हजार ५ सय युनिट रगत आपूर्ति गरिएको छ ।
जिल्लामा आर्थिक वर्ष २०७९–०८० मा ५ हजार ५२ युनिट रगत संकलन भएको थियो ।

यसबाट ५ हजार ५ सय यनिट रगत आपूर्ति गरिएको रक्त संचार केन्द्र दाङले जनाएको छ । केन्द्रका अनुसार, जिल्लामा यो पटक करीव ७० संघसंस्थाले रक्तदान गर्ने गरेका छन् । दाङमा एक वर्षमा चार हजार युनिटभन्दा रगत खपत भएको रक्त संचार सेवा केन्द्र दाङका प्रमुख दीलिप न्यौपानेले जानकारी दिनुभयो ।

घोराही, तुलसीपुर र लमहीमा रक्त सञ्चार केन्द्र सञ्चालनमा छन् । रक्त सञ्चार सेवा केन्द्र प्रमुख न्यौपानेका अनुसार आर्थिक वर्ष २०७८–०७९ मा जिल्लामा ४ हजार ७४ युनिट रगत संकलन भएको थियो । तीन केन्द्रमध्ये सबैभन्दा धेरै घोराहीबाट २ हजार ५ सय ४६, तुलसीपुरबाट १ हजार १ सय ३८ र लमहीबाट ३ सय ९० युनिट रगत संकलन भएको थियो । ती मध्ये घोराहीबाट २ हजार ५ सय ६१, तुलसीपुरबाट १ हजार ४५ र लमहीमा ४ सय ३९ युनिट रगत खपत भएको थियो ।

यसैगरी,आर्थिक वर्ष २०७७–०७८ मा जिल्लामा ४ हजार ४५ युनिट रगत खपत भएको थियो । नियमित रूपमा रगतदान गर्ने दाताहरूको संख्या भने कम हुँदै गए पनि खपत भने बढ्दै गएको तथ्यांकले पनि देखाएको छ । संकलित रगतबाट ब्लड कम्पोनेन्ट मेसिनमार्फत बिरामीको माग अनुसार रगत विभाजन गरेर दिने व्यवस्था भएकाले रगत संकलनको तुलनामा आपूर्ति बढेको बताईएको छ । पछिल्लो समय मिर्गौलाका बिरामीको उपचार जिल्लामा हुन थालेपछि पनि रगतको खपत बढेको हो ।

यसका लागि लुम्बिनी प्रदेश सरकारले ३ वर्ष अघि रक्त संचार केन्द्रमा ब्लड कम्पोनेन्ट मेसिन उपलब्ध गराएपछि हाल बिरामीलाई आवश्यक रगत विभाजन गरेर सेवा दिन सहज भएको उहाँले बताउनुभयो । सामान्यता बिरामीका लागि चाहिने रगत उपलब्ध गराउन सक्ने अवस्था रहेपनि पनि जिल्लामा हाल ब्लड कम्पोनेन्ट मेसिनबाट आरबीसी, डब्ल्युबीसी, प्लेटलेट्स र प्लाज्मा छुट्याएर उपलब्ध गराउने गरिएको उहाँले बताउनुभयो ।

हाल जिल्लामा पाँच सय युनिट बढी रगत भण्डारण क्षमता रहेको हुँदा जिल्लामा संकलन हुने रगत व्यवस्थापनमा कुनै समस्या नरहेको रक्त संचार सेवा केन्द्रले जनाएको छ । अहिले ब्लड कम्पोनेन्ट मेसिनबाट सेवा दिन थालेपछि बिरामीलाई आरबीसी, डब्ल्युबीसी, प्लेटलेट्स र प्लाज्माका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ ।

होल ब्लडबाट बिरामीको आवश्यकता अनुसार आरबीसी, डब्ल्युबीसी, प्लेटलेट्स र प्लाज्मा बनाएर सेवा दिने गरिएको हुँदा रगत संकलनको तुलनामा आपूर्ति संख्या धेरै देखिने गरेको छ । यसरी ब्लड कम्पोनेन्ट मेसिनबाट तयार पारिने रगतको आयु रगत अनुसार फरक फरक हुने गरेको छ । जस्तो प्लेटलेट्सको आयु ५ दिन, प्लाज्माको आयु १ वर्ष, रातो रगत प्याक सेल ४२ दिन तथा होल ब्लड ४५ दिनसम्म राख्न मिल्ने रक्त संचार सेवा केन्द्रले जनाएको छ ।
जिल्लामा रगत अहिलेसम्म बाहिरबाट भने मगाउन नपरेपनि बिरामीको आवश्यकता अनुसार दाङबाट कहिले काँही बाँके र रुपन्देहीसम्म पठाउने गरिएको पनि प्रमुख न्यौपानेले बताउनुभयो ।

रगतको माग बढ्दो अवस्थामा रहेकाले जिल्लाभरका बिरामीका लागि एक वटा मात्रै मेसिन भएको हुँदा कारणवश मेसिन बिग्रिएमा बिरामीलाई फेरी जिल्ला बाहिर जानुपर्ने बाध्यता हुन सक्ने बताउनुभयो । यसका लागि जिल्लास्थित स्थानीय तह र प्रदेश सरकारलाई थप मेसिन उपलब्धताका लागि ध्यानाकर्षण गराउने काम भएको उहाँले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad