Ad Area

गर्मी र तातो हावाको जोखिमबाट सुरक्षित रहन नागरिक समाजको अपिल


घोराही, ३२ जेठ । अत्यधिक गर्मी र तातो हावा (लू) को जोखिमबाट सुरक्षित रहन नागरिक समाजले आम नागरिकहरुमा अपिल गरेको छ । गर्मीका कारण विभिन्न स्थानमा विद्यार्थीहरु बेहास हुने, कामदारहरु बिरामी हुने, जेष्ठ नागरिक, बालबालिका र कमजोर स्वास्थ्य अवस्था रहेका नागरिकहरुको जनजीवन प्रभावित भईरहेको हुँदा स्वास्थ्य सावधानी अपनाउन सबैमा अपिल गरेको हो ।

समाजका संयोजक नीमबहादुर थापा र सचिव नारायण श्रेष्ठले शुक्रबार एक विज्ञप्ति जारी गर्दै केही दिनयता तराई मधेशका अधिकांश भूभागमा अत्यधिक गर्मी र तातो हावा चलिरहेकाले स्वास्थ्य विज्ञहरुको सल्लाह सुझाव मनन् गर्दै सचेत रहन समाजले सबैमा आग्रह गरेको छ ।

मौसम अनुकुल नबन्दासम्म अत्यावश्यक काममा बाहेक दिउँसोको समयमा बाहिर ननिस्कन, बालबालिकाहरुको ख्याल गर्न, खानपीनमा ध्याने वातावरण निर्माणका लागि स्थानीय सरकार, स्वास्थ्य संस्था, शिक्षक, अभिभावक एवम् नागरिक वर्गहरुमा ध्यानाकर्षण समेत गराएको छ ।

साथै, मौसममा सुधार आई सहज जनजीवन बन्न समय लाग्ने अवस्था रहेकाले तत्काल विद्यालयमा पठनपाठन नगर्न नगराउने वातावरण मिलाउन पनि सम्बन्धित सबैलाई आग्रह गरिएको छ ।

‘मनसुन नभित्रिँदासम्म अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन, बालबालिकाहरुलाई जथाभावी बाहिर खेल्न र हिँडडुल गर्न नदिन, जेष्ठ नागरिक, सुत्केरी, बिरामीहरुको बढी ख्याल गर्न, श्रमिक मजदुरहरुलाई बिहान र साँझ काम गर्ने वातावरण मिलाउन, प्रसस्त मात्रामा पानी पिउन, खानपीनमा ध्यान दिन आम नागरिकहरुमा हार्दिक अपिल गर्दछौँ । यसका लागि स्थानीय सरकार, स्वास्थ्य संस्थाहरु, शिक्षक, अभिभावक एवम् सचेत नागरिकहरुबाट सहजीकरणको भुमिका निर्वाह गर्न नागरिक समाज दाङ ध्यानाकर्षण गराउँदछ, विज्ञप्तिमा भनिएको छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad