Ad Area

प्रदेशसभा भवन बनाउन दुई सिफ्टमा काम, मंसिरभित्रै सक्ने लक्ष्य


प्रदेश राजधानी कार्यान्वयन

दाङ १० मंसिर । लुम्विनी प्रदेशको राजधानी देउखुरीको राप्ती उपत्यकामा निर्माणधिन प्रदेशसभा भवनले पछिल्लो समय लय पकडेको छ । भवन निर्माणको काम रात र दिन गरी दुई सिपm्टमा हुन थालेपछि निर्माणमा ढिलाई भएको प्रदेशसभा भवनले पछिल्लो समय गति लिएको हो ।

मंसिर महिनाभित्र प्रदेशसभा भवन निर्माण गरेर हस्तान्तरण गर्ने गरि प्रदेशसभा भवनको निर्माणको काम भैरहेको छ । निर्माणमा दिउँसोको समयमा करिव एक सय ५० र रातको समयमा करिव ७० जना कामदारहरुले भवन निर्माणको काम गर्न थालेपछि निर्माणको कामले गति लिएको प्रदेश पूर्वाधार विकास प्राधिकरणका आर्किटेक्ट इञ्जिनियर बासु पौडेलले जानकारी दिएका छन् ।

यहि महिनाभित्रै भवन निर्माणको काम सकेर हस्तान्तरण गर्ने गरि भवन निर्माण भैरहेको उनले बताए । ‘यहि मंसिर महिनाभित्रै भवन निर्माणको काम सक्ने गरि काम भैरहेको छ’,आर्किटेक्ट ईञ्जिनियर पौडेलले भने,‘दुई सिफ्टमा काम गर्न थालेपछि निर्माणले अहिले गति लिएको छ ।’ गएको असोज २७ गतेसम्म निर्माण सक्ने गरि निर्माण कम्पनी र प्राधिकरणकाविच सम्झौता भएपनि विभिन्न कारण देखाएर निर्माण व्यवसायीले काममा ढिलाई गरेको थियो ।

तर भवन निर्माणको काम दुई सिफ्टमा गर्न थालेपछि अहिले कामले गति लिएको हो । दुई सिफ्टमा प्रदेशसभा भवन निर्माण गर्नुको उद्देश्य लुम्विनी प्रदेशको हिउँदे अधिवेशन स्थायी राजधानी भालुवाङ सञ्चालन गर्ने भएको प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराज घिमिरेले बताएका छन् । दुुई सिफ्टमा काम सुरु भएसँगै करिव डेढ बर्षदेखि निर्माणले गतिलिन नसकेको काम अहिले अगाडि बढेको कार्यकारी अधिकृत घिमिरेले बताए ।

Blog Post Ad

‘निर्माण व्यवसायीको लापरवाहीले प्रदेशसभा भवन निर्माणको कामले गतिलिन सकेको थिएन । त्यही भएर करिव एक महिनाअघि निरीक्षणका क्रममा आएका मुख्यमन्त्री कुलबहादुर केसीले निर्माणको कामलाई गति दिन आग्रह गर्नुभएको थियो’,कार्यकारी अधिकृत घिमिरेले भने,‘त्यसपछि हामीले भवन निर्माणको कामलाई दिउँसो र रातीमा गरेर दुई सिफ्टमा अगाडी बढाउन निर्माण व्यवसायीलाई भन्यौ । र,त्यही अनुसार अहिले भवन निर्माणको काम भैरहेको छ ।’ उनले निर्माणको लागि कुनै पनि सामग्रीको अभाव नहुने गरि काम भैरहेको समेत बताए ।

यसअघि लामो समय अलपत्र जस्तै रहेको प्रदेश सभा भवन निर्माणको कामले गति लिएपछि अहिले राजधानीबासी समेत खुशी भएको स्थानीय जगत पोख्रेलले बताए । ‘एक महिनाअघि भवन निर्माण स्थलमा आउँदा न मजदुर देखिन्थे । न निर्माण सामग्री देखिन्यो ।

तर अहिले भवन निर्माणको काम देख्दा राजधानीबासी खुशी भएका छौ’,राप्ती उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका स्थानीय जगत पोख्रेलले भने,‘प्रदेश राजधानी घोषणा कार्यान्वयनमा ढिलाई हुन्छ कि भनेका थियौ । तर अहिले भैरहेको प्रदेशसभा निर्माणको कामले ढिलाई हुदैन भन्ने लागेको छ ।’ भवन निर्माणले गतिलिएपनि प्रदेश राजधानीमा चाडै मन्त्री तथा संसदहरुलाई देख्न पाइने आशा पलाएको समेत उनले बताए ।

५ करोड २१ लाखको लागतमा लुम्बिनी प्रदेशको प्रदेश सभा भवन एमएस ड्राईगन बस्नेत जेभीले गरिरहेको छ । प्रदेशसभा भवनलाई प्रदेशवासीको अपनत्व हुने गरी संरचनामा केही परिवर्तन गरेर निर्माणको काम भैरहेको प्रदेश पूर्वाधार विकास प्राधिकरणका आर्किटेक्ट ईञ्जिनियर पौडेलले बताए । ‘पहिलेको डिजाइनमा केही परिवर्तन गरेका छौ । गारोेमा चाइनिज इटा लगाएका छौ भने छानोमा टिनको सट्टा ढुंगा लगाउने भएका छौ’,उनले भने,‘प्रदेशसभा भवनलाई स्थानीय अनुकुलता र पहिचानलाई ध्यानमा राखेर सजाउने गरि काम भैरहेको छ ।’

लुम्विनी प्रदेशको अस्थायी राजधानी बुटवलबाट भैरहेको प्रशासनिक कामलाई स्थायी राजधानी भालुवाङमा ल्याउने गरि एक बर्षअघिदेखि काम भैरहेपनि संरचनाका अभावका कारण मन्त्री तथा कर्मचारीहरु आउन नसकेको बताउँदै आएका छन् । राप्ती गाउँपालिकाको सवै वडाहरु,गढवा गाउँपालिका वडा नं. १,२ र ३ नम्वर र अर्घाखाची जिल्ला अन्तर्गत सितगंगा गाउँपालिकाका वडा नं. ८ र ९ को भूभागलाई समेटेर प्रदेशको स्थायी राजधानी देउखुरीको राप्ती उपत्यकालाई घोषणा गरेको थियो ।

Blog Post Ad Blog Post Ad