Ad Area

गर्मी नघट्दा घोराहीमा थप दुई दिन विद्यालय बिदा, तुलसीपुरमा बिहान पढाई


घोराही, ३ असार । दाङमा गर्मी नघटेपछि घोराही उपमहानगरपालिकाले थप दुई दिन विद्यालय बन्द गरेको छ । घोराही उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले सोमवार सूचना प्रकाशित गर्दै असारको ४ र ५ गते सामुदायिक तथा सस्थागत विद्यालयहरु बन्द रहने जानकारी दिनुभएको छ ।

केही दिनयता बढेको अत्यधिक गर्मी नरोकिएका कारण साउनको १४ र १५ गतको बर्षे बिदा कट्टी हुने थप दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको प्रमुख प्रशासकिय अधिकृत केसीले जानकारी दिनुभएको छ । गर्मीका कारण घोराही उपमहानगरपालिकाले जेठ महिनाको ३१ र ३२ गते विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

त्यसैगरी तुलसीपुर उपमहानगरपालिकाले भने बिहान पढाई गर्ने भएको छ । गर्मीका कारण जेठको ३१ गतेदेखि विद्यालय बन्द गरेको तुलसीपुर उपमहानगरपालिकाले असारको ४ गतेदेखि विहान ६ बजेदेखि १० बजेसम्म पढाई सञ्चालन गर्ने तयारी गरेको तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखा प्रमुख चक्रबहादुर रावतले जानकारी दिनुभएको छ ।

शिक्षा शाखा प्रमुख रावतले मौसममा सुधार आएपछि नियमित समयमा पढाई सञ्चालन गर्न समेत विद्यालयहरुलाई सुचना गरिएको जानकारी दिनुभयो । पानी नपर्दा जिल्लामा पछिल्लो समय बढेको अत्यधिक गर्मीका कारण दैनिक जनजीवन प्रभावित भएको छ । जल तथा मौसम विज्ञान फिल्ड कार्यालय घोराहीका अनुसार जिल्लामा ३९ देखि ४० डिग्रीसम्म तापक्रम हुने गरेको छ ।

Blog Post Ad Blog Post Ad