Ad Area

वैदेशिक रोजगार सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन अग्रसर सामी


घोराही, ६ असार ।  वित्तीय साक्षरता र मनोसामाजिक परामर्श लिएपछि बबई गाउँपालिका वडा नम्बर ३ रातामाटाकी यमकली वलीलाई थाहा भयो विदेशबाट श्रीमानले दुख गरी कमाएर पठाएको पैसा कसरी जतन गर्ने । यसअघि आम्दानी खर्चको हिसाव लेखाजोखा नराख्दा उहाँलाई श्रीमानको कमाई र आफुले घरमा कमाएको आम्दानीको हरहिसाव भएन । तर, सामी कार्यक्रमले वित्तीय साक्षरता र मनोसामाजिक परामर्शको कक्षा लिएपछि अहिले उहाँले श्रीमानले कमाएर पठाएको पैसा र आफुले कृषि, पशुपालन गरेर कमाएको सबै आम्दानी खर्चको लेखाजोखा गर्दै वचत गर्न थाल्नुभएको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर ३ की केशरा जिसीका श्रीमान दलालको भर परेर विदेश जाँदा धेरै दुख पाएको स्मरण गर्नुभयो । हातमा सिप नहुनु त्यसमा दलालको भर पर्दा समस्या झेल्नुपरेको केशरीको अनुभव छ । घोराही ३ रनगराकै कमला घर्तीका श्रीमान पनि विदेश जाँदा हातमा सीप थिएन । दलालको भर परेर श्रम गन्तव्य जाँदा भने जस्तो काम पाईएन । उहाँको श्रीमान साउदी अरबमै हुनुहुन्छ ।

वैदेशिक रोजगारलाई व्यवस्थित गर्न स्थानीय पालिकामा रहेको सुरक्षित आप्रवासन सामी कार्यक्रमले संचालन गर्दै आएको कार्यक्रम अन्तरगत वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा लिएपछि धेरै कुराको जानकारी मिलेको बताउनुभयो । विदेश गएकाहरुको परिवारमा सकारात्मक सोँचको विकास गर्न, मेहनतले कमाएको रकम सदुपयोग गर्दै भविष्यको सुनिश्चित गर्न, महिला सशक्तीकरण गर्न सामी कार्यक्रमले थालेको प्रयासबाट सरकारलाई सहयोग पुगेको छ ।

वैदेशिक रोजगारको क्षेत्रलाई सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाउने लक्ष्यका साथ सामीले अहिलेसम्म हजारौँलाई निशुल्क रुपमा सेवा प्रदान गरेको छ । सीप सिकेर सकेसम्म देशमै केही गर्नुपर्छ भन्ने भावनाको विकास गराउँदै गाउँबस्तीमा पुगेर विभिन्न प्रकारका सचेतना प्रदान गर्दै आएको सामीले वैदेशिक रोजगारीका विषयसँग जोडिएका समस्या समाधानमा पनि उत्तिकै विश्वसनीय रुपमा सेवा दिने गरेको छ ।

दाङमा सामी कार्यक्रमले ४ वटा पालिकाहरु घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका र बबई गाउँपालिकामा आफ्नो कार्य क्षेत्र बनाएर पनि जिल्लाभर सेवा प्रदान गर्दै आएको छ । घोराही केन्द्र रहने गरी लमही, तुलसीपुर र बबई गाउँपालिकामा उपकेन्द्र स्थापना गरी वैदेशिक रोजगारसँग सम्बन्धित सेवा प्रदान हुँदै आएको छ ।  घोराहीमा रहेको आप्रवासी श्रोत केन्द्र सहायत कक्षले सेवाग्राहीलाई वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सबै प्रकारका प्रकृयाका बारेमा विशेष रुपमा जानकारी दिने काम हुँदै आएको सूचना तथा परामर्श सहजकर्ता रीता लामा बताउनुहुन्छ ।

Blog Post Ad

उहाँका अनुसार, दाङबाट वर्षेनी रोजगारीका लागि विदेशिनेको संख्या ठूलो छ । सकेसम्म विदेश नजान, यही केहीपेशा व्यवसाय गर्न, यदि जानै परेमा हरेक कुराको जानकारी लिएर वैधानिक रुपमा मात्रै जान सामी कार्यक्रमले सचेतनाका कार्यक्रम संचालन गर्दै आएको लामाले बताउनुभयो ।

मंगलबार घोराहीमा आयोजित सामी कार्यक्रमको पाँच वर्षे वार्षिक समिक्षा गोष्ठीमा सामी कार्यक्रमले वैदेशिक रोजगारसम्बन्धी सूचना, न्यायमा पहुँच, सीपयुक्त तालिम प्रदान, वित्तिय साक्षरता र मनोसामाजिक परामर्शको क्षेत्रमा काम गरेको काम बारे जानकारी गराईएको छ । सामी कार्यक्रममार्फत वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित कसरी बनाउन सकिन्छ भनेर गरिएको प्रयासले अहिले समुदाय स्तरमा सकारात्मक असर देखा पर्न थालेको सामी कार्यक्रम संयोजक बसन्ता पुन बताउनुहुन्छ ।

समाजले अहिलेपनि दलालको भर परेर विदेश जान खोज्दा समस्यामा पर्नेहरु रहेपनि सामीबाट परामर्श लिएर वैदेशिक रोजगारीमा गएका र उनीहरुको परिवारमा राम्रो नतिजा देखिएको उहाँको भनाई छ ।

वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने क्रममा सामी कार्यक्रमले जिल्लामा थुप्रै काम गर्न सफल भएको छ । २०७६–०७७ देखि २०८०–०८१ को जेठसम्म ६४ हजार ४० जनालाई आप्रवासी श्रोत केन्द्रको सहायता कक्षबाट सूचना तथा परामर्श दिईएको जानकारी दिनुभयो । जसमा १६ हजार ७ सय १९ जना महिला र ४७ हजार ३ सय ४१ जना पुरुष रहेका छन् ।

सोही अवधिमा आप्रवासी श्रोत केन्द्रमा समस्याका रुपमा दर्ता भएको १ हजार २ सय २४ मध्ये ७ सय ३५ वटा निवेदनको परामर्श गरी समस्या समाधान गरेको बताउनुभयो । अझै पनि ३ सय ५६ वटा समस्या प्रकृयामा रहेको तथा १ सय ३३ वटा समाधान हुन नसकेका रहेको उहाँको भनाई थियो ।

यही अवधिमा सामीले प्रदान गर्ने सेवा अन्तरगत पाँच वर्षको अवधिमा १५ करोड ४१ लाख ६४ हजार ८४ रुपैयाँ आर्थिक सहायता प्रदान गर्न सहजीकरण गरेको पनि उहाँले बताउनुभयो । यो आर्थिक वर्षको हालसम्म ३ करोड १० लाख ३७ हजार ८ सय ३३ रुपैयाँ आर्थिक सहायतामा सहजीकरण भएको छ ।

यही अवधिमा वैदेशिक रोजगारीको सिलसिलामा समस्यामा परेकाहरु ठगी सम्बन्धीका ४० प्रतिशत, मृत्यु सम्बन्धी ११ प्रतिशत, जेल सम्बन्धी ३ प्रतिशत, स्वास्थ्य सम्बन्धी ५ प्रतिशत, हराएका सम्बन्धी ७ प्रतिशत, अलपत्र परेकाको उद्धार सम्बन्धी १४ प्रतिशत तथा अन्य प्रकतिका २० प्रतिशतको कानूनी सहजीकरण गरिएको कार्यक्रम संयोजक पुनले उहाँले बताउनुभयो ।

सामीले यही अवधिमा सीप तालिमका लागि १ हजार २६ जनालाई सिफारिस गरेको जनाएको छ । तालिममा १ सय ५९ जना सहभागी भएकोमा ३३ जनाले सीप तथा तालिम लिएर वैदेशिक रोजगारीमा गएका बताउनुभयो ।

वैदेशिक रोजगारीबाट आएको रकमको सही उपयोग गर्न र उनीहरुको परिवारलाई वित्तीय साक्षरतामार्फत सचेतना प्रदान गरिएको छ । वित्तीय साक्षरता कक्षा लिएकाहरुले अहिले वित्तीय व्यवस्थापन गर्दै आम्दानी खर्चको सही रुपमा लेखाजोखा गर्न सक्ने भएका छन् ।

जिल्लाको चार वटै पालिकामा संचालित २१ हप्ते वित्तीय साक्षरता कक्षामा १ हजार ६ सय १५ जना सहभागी भई व्यवहारमा उतारेका छन् । सामी कार्यक्रम संयोजक पुनका अनुसार, १ हजार ५ सय ९२ जना महिला र २३ जना पुरुषलाई दिईएको साक्षरता कक्षाले उनीहरुको व्यवहार परिवर्तन सम्भव भएको छ ।

जसमा ८९ प्रतिशतले आम्दानी तथा खर्चको हिसावकिताव राख्न थालेको, १२ प्रतिशतले नयाँ व्यवसाय थालनी गरेको, १६ प्रतिशतले प्रवद्र्धन गरेको, ८६ प्रतिशतले वचत वृद्धि गरेको तथा ३४ प्रतिशतले बैंक तथा वित्तीय संस्थामा पहुँच स्थापित गरेका छन् ।

यसैगरी, वैदेशिक रोजगारीका क्रममा मानसिक समस्यामा परेका व्यक्ति र उनीहरुका परिवारलाई पनि घरमै पुगेर मनोसामाजिक परामर्श दिने काम भएको उहाँले बताउनुभयो । उहाँका अनुसार, पाँच वर्षको अवधिमा ४ सय २० जनालाई मनोसामाजिक परामर्श आवश्यक पहिचान गरी परामर्श प्रदान गरिएको छ । जसबाट ३ सय ७७ जनाको समस्या समाधान भएको, २१ जनाको प्रकृयामा रहेको र २२ जनाको सेवा पूरा नभएको बताईएको छ ।

मनोसामाजिक परामर्श अन्तरगत गरिएको अध्ययन अनुसार ६१ प्रतिशत पीरचिन्ताका, २१ प्रतिशत निराशापनका, ११ प्रतिशत आघातका, ४ प्रतिशत आत्महत्या प्रयासका र ३ प्रतिशत विभिन्न समस्याका रहेका छन् ।

अझै पनि वैदेशिक रोजगारीलाई प्रयाप्त प्रमाण तथा कागजात नभएका कारण कानुनी सहजीकणमा समस्या हुने गरेको उहाँले बताउनुभयो । पीडक सम्बन्धीत जिल्लाको नभएको कारण कानुनी सहजीकण गर्न समस्या हुनु, वैदेशिक रोजगारीमा जान हतार गर्दा सीप तालिम लिनेको संख्या सिमित हुनु, स्थानीय चिनजानका व्यक्तिमार्फत वैदेशिक रोजगारीको प्रकृया गर्दा ठगिने संख्यामा वृद्धि हुनु तथा व्यक्तिगत भिषामा वैदेशिक रोजगारीमा जानेहरुको संख्या अत्यधिक भएकोले वैधानिक प्रकृया कठिनाई हुनु जस्ता समस्याहरु विद्यमान रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा सामी कार्यक्रम प्रदेश व्यवस्थापक पञ्चराम थारुले नेपालबाट वैदेशिक रोजगारीका लागि हालसम्म ७७ लाखले श्रम स्वीकृति लिएको जानकारी गराउँदै दाङमा पनि हालसम्म १ लाख २२ हजारले श्रम स्वीकृति लिएका छन् ।

कार्यक्रममा नगरप्रमुख चौधरीले वैदेशिक रोजगार आवश्यकता भन्दा फेसन जस्तै बन्न थालेको प्रति चिन्ता व्यक्त गर्नुभयो । विदेशमा रोजगारको अवस्था र माग नबुझेर लहैलहैमा जाने अनि समस्यामा पर्ने क्रम बढेको भन्दै फेसन र बहकाउमा लागेर विदेश जाँदा कोही कसैको जीवन स्तर माथि उठ्न नसक्ने बताउनुभयो ।

सामी कार्यक्रम अब सरकारको कार्यक्रमका रुपमा अघि बढ्ने बताउनुभयो । यसका लागि संघ, प्रदेश र स्थानीय तहबीचको साझेदारीमा काम प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

नगर प्रमुख चौधरीले सामी कार्यक्रम अब स्थानीय सरकारको जिम्मामा आएको भन्दै आफ्ना नागरिकहरुको सुरक्षा र न्यायका लागि सबै पालिकाले जिम्मेवारी लिएर बजेटको व्यवस्था गरेर दायित्व लिनुपर्ने आवश्यकता औँल्याउनुुभयो ।

अब संघ, प्रदेश र स्थानीय तहको संयुक्त साझेदारीका संचालन हुने सामीलाई थप सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सबै पक्ष जिम्मेवार हुनुको विकल्प नरहेको उहाँको भनाई थियो ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्का, बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्री, घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमाकुमारी डिसी लगायत सहभागी हुनुभएको थियो । वैदेशिक रोजगार बोर्डका कार्यक्रम अधिकृत विष्णु अर्यालको विषय प्रवेशबाट शुरु भएको वार्षिक समिक्षा गोष्ठीको सहजीकरण सामी फोकल पर्सन बासुदेव आचार्यले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad