Ad Area

यौनिक तथा लैङ्गिक अल्पसंख्यककाे दुखेसाे- विभेद र लाञ्छनाबाट मुक्ति कहिले ?


घोराही, ६ असार । स्वतन्त्र, स्वच्छ, खुल्ला, विभेदरहित, हिंसारहित र मर्यादित समाजको आवाज उठाउँदै आएपनि अझै पनि अनेकन चुनौति सामना गर्नुपरेको यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले बताउने गरेका छन् ।

मानव स्वास्थ्य समाजद्वारा बिहीबार घोराहीमा आयोजित यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको गौरवको महिनाको ईतिहास, महत्व र यसको भुमिका विषयक अन्तरक्रियामा राज्यले सबैलाई समान रुपमा हेरिनुपर्ने नियम, कानून बनाए पनि यसको सही कार्यान्वयन हुन नसक्दा व्यवहारमा समस्या भोग्नुपरिरहेको उनीहरुको दुखेसो छ ।

संविधानमा अधिकार प्रत्याभूत भएता पनि कार्यान्वयनमा कठिनाई हुने गरेको छ । सवै स्थानीय तहहरुमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई लक्षित गरी कार्यक्रम विनियोजन हुन सकिरहेको छैन’ मानव स्वास्थ समाजका कार्यक्रम संयोजक जुनु चौधरीले भन्नुभयो ‘समाज तथा परिवारबाट लाञ्छना तथा भेदभाव सहनुपर्ने अवस्था छ । यसले आत्म लाञ्छना हुने, मानसिक स्वास्थ्यमा गम्भीर असर गर्ने जस्ता पीडा सहनुपर्ने अवस्था छ ।’

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले जुन महिनालाई आफुहरुको पहिचान स्थापित गर्ने अवसरका रुपमा लिएर कार्यक्रम गर्दै आएको उनीहरु बताउँछन् । यसका लागि सामुदायिक सेवाहरू, स्वास्थ्य जाँच, परामर्श सेवा र अन्य सहयोगी कार्यक्रमहरुको भुमिका समुदाय स्तरबाट अझ बढाउँदै लैजानुपर्ने आवश्यकता औँल्यार्ईएको छ ।


अझै पनि धेरैले आफ्नो पहिचान लुकाएर बाँच्नु परिरहेको बताउँदै मानव स्वास्थ समाजका कार्यक्रम संयोजक चौधरीले दृश्यता र पहिचानः गौरवको महिनाबाट समुदायलाई सार्वजनिक रूपमा देखाउने र पहिचान उजागर गर्ने मौकाका रुपमा लिईने गरेको बताउनुभयो । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई लक्षित गरी भएका निर्णयहरु पनि व्यवहारिक रुपमा लागु हुन नसक्दा आफुहरु मारमा परेको चौधरी बताउनुहुन्छ ।

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरूलाई लिङ्गको महलमा अन्य जनाई नागरिकता जारी गर्ने सम्बन्धी निर्देशिका २०६९, नागरिकतामा नाम र लिङ्ग सहजै सच्चिने व्यवस्था २०७३ माघ १० गते सर्वोच्चले फैसला गरेको भएपनि अझै थुप्रै व्यवहारिक कठिनाई रहेको कार्यक्रम संयोजक चौधरीले बताउनुभयो ।

Blog Post Ad

उहाँले संविधानमा अधिकार प्रत्याभूत भएता पनि कार्यान्वयनमा कठिनाई, सवै स्थानीय तहहरुमा यस समुदायलाई लक्षित गरी कार्यक्रम विनियोजन हुननसक्नु, समाज तथा परिवारबाट लाञ्छना तथा भेदभाव, आत्म लाञ्छना, मानसिक स्वास्थ्य र जर्वजस्ती विवाहका कारण हुने समस्या नियन्त्रणमा चुनौतीहरु रहेको समाजले जनाएको छ ।

गौरवको महिना यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको लागि निकै महत्वपूर्ण रहेको बताउने गरिएको छ । उनीहरुका अनुसार, यसले इतिहासको स्मरण गराउने, पहिचानको उत्सवका रुपमा रहेको, अधिकार र समानताको मागलाई वकालत गर्ने, समर्थनको सञ्चार गर्ने तथा अधिकार, समानता र पहिचानलाई सम्मानित र उत्साहित गर्ने काम यो अभियानका क्रममा हुने गरेको छ ।

संस्थाको गतिविधि बारे मानव स्वास्थ्य समाजका अनुगमन तथा मुल्यांकन अधिकृत भुपेन्द्र बस्नेतले जानकारी गराउँदै संस्थामार्फत एचआईभी रोकथामका लागि कार्यक्रम संचालन गर्दै आएको, पहिचान भएकाहरुको उपचारमा सहयोग गर्ने गरेको तथा मनोसामाजिक परामर्शको काम पनि गर्ने गरिएको बताउनुभयो । एचआईभी एड्स संक्रमितको पहिचान, उपचार, नियन्त्रण र परामर्शको काम नियमित हुने गरेको उहाँ बताउनुहुन्छ ।

घोराही उपमहानगरपालिका स्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख राधा पौडेलले लैंगिक तथा यौनिक अल्पसंख्याको विषय सम्वेदनशील भएको हुँदा सबै गम्भीर हुनुपर्ने बताउनुभयो । उहाँले नेपाल सरकारको लक्ष्यमा संघसंस्थाले खेल्दै आएको भुमिकाका कारण स्वास्थ्य क्षेत्रमा धेरै काम सहज भएको भन्दै आगामी दिनमा पनि सहयोग र सहकार्य जारी रहने बताउनुभयो ।

कार्यक्रमको अध्यक्षता गर्नुभएका घोराही १५ का वडा अध्यक्ष रमेश पाण्डेले संस्थाले गरिरहेको कामबाट पालिकाको स्वास्थ्य क्षेत्रमा सकारात्मक नतिजा आएको बताउनुभयो । सरकारले गर्ने कामलाई संस्थामार्फत भएको प्रयासमा सरकारको साथ रहने बताउनुभयो । उहाँले तेश्रो लिङ्गी, लागूऔषध र एचआईभी एड्सको समस्या समाधानका लागि साझा सवाल बनाउँदै अभियानका रुपमा लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो ।

लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले मनाउने गौरवको महिना ‘जुन’ अन्तरगत गौरवको यात्रा समेत गरिएको थियो । विश्वभर जुन महिनालाई गौरव महिना (प्राइड मन्थ) का रूपमा मनाइन्छ । २० औँ शताब्दीको ६० औँ दशकमा भएको अमेरिकाको स्टोनवाल विद्रोहको स्मृतिमा यस महिनालाई गौरव महिना घोषणा गरिएको हो । जुन महिनामा लैङ्गिक तथा यौनिक अल्पसंख्यक सम्बन्धी विश्वव्यापी रुपमा विभिन्न कार्यक्रम संचालन हुने गरेको छ ।

गौरव महिना विभिन्न गतिविधिहरु र कार्यक्रमहरू मार्फत मनाईने गरिएको छ । जसमा गौरव परेडहरूलाई सहरहरूमा संचालन गरेर लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरुको सहभागीतामा वकालत गरिन्छ । संगीत कार्यक्रम, नाच, कला प्रदर्शनी, र अन्य सांस्कृतिक कार्यक्रममार्फत पनि यो गौरव महिनालाई सम्बोधन गर्ने गरिएको छ ।

लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरुको अधिकार र न्यायका पक्षमा आन्दोलन र विरोध गर्दै असमानताको विरुद्ध आवाज उठाउने काम पनि यसमा हुने गरेको मानव स्वास्थ्य समाजका संयोजक चौधरीले बताउनुभयो । यस प्रकारको अभियान तथा कार्यक्रमले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई सार्वजनिक रूपमा देखाउने र पहिचान दिने मौका दिने गरेको उहाँको भनाई छ । समुदायको सशक्तिकरणमा परेडहरू, समारोहहरू, र शैक्षिक कार्यक्रमहरूले समुदायलाई सशक्त बनाउने गरेको छ ।

स्वीकृति र समर्थन बढाउँदै समुदायका सदस्यहरूले आफ्नो पहिचानलाई गर्वले प्रस्तुत गर्न सक्ने वातावरण पाउने उहाँ बताउनुहुन्छ । शिक्षा र चेतनाको स्तर बढ्ने हुँदा यसले अन्य मानिसहरूलाई लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरुको मुद्दाहरूको बारेमा जानकारी गराउन सहज हुने गरेको उहाँले बताउनुभयो । यसैगरी, अधिकारको प्रत्याभूति दिलाउन यो महिना विभिन्न कानून निर्माण र नीतिगत सुधारको लागि दबाब सिर्जना गर्न सहयोगी हुने गरेको उनीहरुको भनाई छ ।

अन्तरक्रियापछि सरोकारवालाहरुको संयुक्त टोलीले मानव स्वास्थ्य समाजले गर्दै आएको काम र अवस्थाका बारेमा कार्यालयमा पुगेर स्थलगत अनुगमन तथा निरिक्षण गर्दै जानकारीसमेत  लिएको थियो ।

Blog Post Ad Blog Post Ad