Ad Area

लुम्बिनी प्रदेशमा ४७.२६ प्रतिशत बजेट खर्च


घोराही, ७ असार । लुम्बिनी प्रदेशमा चालु आर्थिक बर्षको ११ महिनामा आधा पनि बजेट खर्च गर्न सकेको छैन् । चालु आर्थिक बर्षमा बिनियोजन गरिएको ४० अर्व ४७ करोड ९७ लाख बजेटमध्ये जेठ मसान्तसम्म ४७.२६ प्रतिशत बजेट मात्र खर्च भएको हो ।

प्रदेशको कुल बजेटमध्ये जेठ महिनासम्म १९ अर्ब १२ करोड ९८ लाख ९७ हजार एक सय ५६ रुपियाँ खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयको मासिक खर्च विवरणमा उल्लेख छ । अहिलेको बजेट खर्चको हिसावले लुम्बिनी प्रदेशमा सतप्रतिशत बजेट खर्च गर्न असार महिनामा ५२.७४ प्रतिशत बजेट खर्च गर्नुपर्ने देखिन्छ । समयमै काम हुन नसक्दा प्रदेशको आधा बढी बजेट कार्यान्वयनमा आउन सकेको छैन ।

प्रदेशमा चालु बजेटतर्फ ४५.१६ प्रतिशत र पुँजीगतर्फ ४८.८१ प्रतिशत बजेट खर्च भएको छ । प्रदेशको चालुतर्फको १७ अर्ब २२ करोड २७ लाख ९९ हजार बजेटमध्ये जेठ महिनासम्म ७ अर्ब ७७ करोड ४ लाख ८ हजार २ सय ४८ रुपिँया खर्च भएको छ । त्यसैगरी पुँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख १ हजार बजेट बिनियोजन भएकोमा जेठ महिनासम्म ११ अर्ब ३५ करोड १४ लाख ८ हजार ९ सय ८ रुपियाँ खर्च भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा विनियोजित बजेट ६ करोड २ लाख रुपैयाँमध्ये १०.१७ प्रतिशत बजेट खर्च भएको छ । यसैगरी अर्थ मन्त्रालयको विनियोजित १ करोड रुपैयाँमध्ये ४०.३५ प्रतिशत, उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयको विनियोजित ५० करोड १७ लाख ५० हजार रुपैयाँमध्ये २५.११ प्रतिशत खर्च भएको छ । कृषि, भूमि व्यवस्था मन्त्रालयमा विनियोजित १८ करोड ७७ लाख ७७ लाख ९५ हजार रुपैयाँमध्ये ४०.८५ प्रतिशत, गृह मन्त्रालयको विनियोजित ३१ करोड ८५ लाख रुपैयाँमध्ये ११ महिनामा ५४.६३ प्रतिशत खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय लुम्बिनीले जनाएको छ ।

वन तथा वातावरण मन्त्रालयको बिनियोजित ८८ करोड ४२ लाख ४७ हजार रुपैयाँमध्ये ४६.४६ प्रतिशत, भौतिक पूर्वाधार विकास मन्त्रालयमा विनियोजित १३ अर्ब ३१ करोड ६ लाख २० हजार रुपैयाँमध्ये ५०.६० प्रतिशत, खानेपानी ग्रामीण तथा सहकारी विकास मन्त्रालयको ५ अर्ब ७० करोड ९६ लाख ७० हजार रुपैयाँ बराबरको बजेटमध्ये ५२.६८ प्रतिशत, स्वास्थ्य मन्त्रालयमा विनियोजित १ अर्ब ५२ करोड २५ लाख ६९ हजार रुपैयाँमध्ये ५९.४३ प्रतिशत र सामाजिक विकास मन्त्रालयले ३९ करोड ९२ लाख १० हजार रुपैयाँ बराबरको बजेटमध्ये ४२.५८ प्रतिशत खर्च गरेको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख दीपक ज्ञवालीले जानकारी दिनुभएको छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad