Ad Area

घोराहीमा एआईद्वारा संचालित सीप विकास र उदीयमान सञ्चार प्रविधि विषयक राष्ट्रिय सम्मेलन हुने


घोराही,७ असार । दाङको घोराहीमा एआईद्वारा संचालित सीप विकास र उदीयमान सञ्चार प्रविधि विषयक राष्ट्रिय सम्मेलन हुने भएको छ । घोराही स्थित राप्ती ईञ्जिनियरिङ कलेज, सिलिकन रिसर्च एण्ड इनोभेसन सेन्टर काठमाडौ र स्वर्गद्वारी सामुदायिक अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको आयोजनामा भोलि घोराहीमा एक दिने एआई प्रविधिमा आधारित राष्ट्रिय सम्मेलन हुने भएको आज पत्रकार सम्मेलन गरी जानकारी गराईएको हो ।

सम्मेलनमा एआईको पछिल्लो विकास र नयाँ सम्भावना लगायतका विषयमा विषय विज्ञहरुबाट कार्यपत्रसहित छलफल हुने राप्ती इञ्जिनियरिङ कलेजका संचालक समिति अध्यक्ष एवम् कार्यकारी निर्देशक शैलेन्द्र गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार, एआईमा आधारित सीप अभिवृद्धि र उदीयमान डिजिटल सञ्चार प्रविधिहरुमा भएको परिवर्तनले शिक्षाको गुणस्तरमा परिवर्तन ल्याउन सक्ने प्रचुर सम्भावना रहेको हुँदा यसको आयामबारे जानकारी गराईने छ ।

सञ्चारको क्षेत्रमा भएको क्रान्ति र कृत्रिम वौद्धिकताको शक्तिलाई उपयोग गर्दै शिक्षा, स्वास्थ्य, सार्वजनिक सेवा प्रवाह र आर्थिक विकासमा प्रगति गर्न सक्ने सम्भावना रहेको विषय बारे अवगत गराईने उहाँले बताउनुभयो । विषय विज्ञहरुका बीचमा हुने ज्ञान र अनुभव आदानप्रदानले दीर्घकालीन रुपमा एआईलाई कसरी रणनीतिक रुपमा प्रयोग गर्ने र यसको विकास र विस्तारमा राज्यलाई थप जिम्मेवार बनाउँदै लैजाने सवालमा सम्मेलन केन्द्रित हुने उहाँले जानकारी गराउनुभयो ।

यसैगरी, विभिन्न विषयका विज्ञहरु र सरोकारवालाहरु बीचमा सीप अभिवृद्धिमा कृत्रिम बौद्धिककताको प्रयोग र उदीयमान डिजिटल संचार प्रविधि विषयमा छलफल गर्दै यसको पहुँच बिस्तार गर्ने सम्मेलनको मुख्य उद्देश्य रहेको आयोजकका रुपमा रहेको राप्ती इञ्जिनियरिङ कलेजका संचालक समिति अध्यक्ष एवम् कार्यकारी निर्देशक गिरीले जानकारी दिनुभयो ।

यसैगरी, एआईका उदीयमान डिजिटल शैक्षिक प्रविधि, गुणस्तरीय शिक्षा, एआईद्वारा संचालित सीप विकास र सिकाउने प्लेटफर्महरु, एआईमा डिजिटल डिभाइड र एथिकल ब्रिजिङ र उदीयमान डिजिटल संचार प्रविधिको प्रयोगको बारेमा ज्ञान र अनुभव आदान प्रदान हुने उहाँले बताउनुभयो । विद्यालय, कलेज, शिक्षक, विद्यार्थी, सूचना प्रविधि क्षेत्रमा क्रियाशील व्यक्तिहरु सम्मेलनमा सहभागी हुने बताईएको छ ।

करीव ३ सय सहभागी हुने सम्मेलनमा लुम्बिनी प्राविधिक विश्वविद्यालयका रजिस्ट्रार रेग भण्डारीले मुख्य कार्यपत्र प्रस्तुत गर्नु हुनेछ । यसैगरी, नेपाल टेलिभिजनका कार्यवाहक नायव महाप्रबन्धक ईन्जिनियर चिन्तामणि बराल, राप्ती इन्जियरिङ कलेजका कार्यकारी निर्देशक एवं सिलिकन रिसर्च एण्ड इनोभेसन सेन्टरका सीईओ डा। शैलेन्द्र गिरी, पोष्टडक्टरल रिसर्च एशोसियट नर्थन गल्फ इन्टिच्युट मिसिसिप्पी स्टेट युनिभर्सिटी अफ अमेरिकाका डा। चिरञ्जीवी शाह, नेपाल टेलिकमका ईन्जिनियर कविराज यादवलगायत विषय विज्ञहरुले सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्नुहुने भएको उहाँले जानकारी गराउनुभयो । सम्मेलनको उदघाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले गर्नुहुने भएको पनि उहाँले बताउनुभयो ।

Blog Post Ad

राप्ती इन्जिनियरिङ कलेजका प्रबन्ध निर्देशक डा। भीमसेन गिरीले सहजीकरण गर्नुभएको पत्रकार सम्मेलनमा कलेजका निर्देशक मधुसुदन वैद्य, प्रिन्सिपल रेशम गिरी, प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारी, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीलगायत उपस्थित हुनुभएको थियो ।।

Blog Post Ad Blog Post Ad