Ad Area

दाङका १० वटै पालिकाको बजेट ९ अर्ब ३० करोड बढी


घोराही, ११ असार । दाङका १० वटै पालिकाले आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि अधिकांश पुराना योजना र कार्यक्रमलाई निरन्तरता दिँदै बजेट सार्वजनिक गरेका छन् । पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्यलाई ध्यानमा राखेर पालिकाको बजेट आएको छ ।

संवैधानिक रुपमा असार १० गतेभित्रमा बजेट ल्याई सक्नुपर्ने व्यवस्था अनुसार जिल्लाका सबै पालिकाले आफ्नो अनुमानित आय व्यय विवरण नगरसभा तथा गाउँसभामार्फत सार्वजनिक गरेका हुन् । दाङमा २ उपमहानगरपालिका, १ नगरपालिका र ७ वटा गाउँपालिका रहेका छन् ।

जसमध्ये घोराही उपमहानगर, राप्ती गाउँपालिका र बंगलाचुली गाउँपालिकाले आईतबार नै आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दा बाँकी ७ वटा पालिकाले नीति तथा कार्यक्रमसहित आगामी आर्थिक वर्षको बजेट ल्याएका हुन् । जिल्लाका १० वटै पालिकाको बजेट ९ अर्ब ३० करोड ४४ लाख ५४ हजार १ सय २८ रुपैयाँको सार्वजनिक भएको छ ।

तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख स्यानी चौधरीले सोमबार आर्थिक वर्ष २०८१–०८२ का लागि २ अर्ब ७ करोड ४९ लाख ६८ हजार ३ सय ५१ रुपैयाँको बजेट सार्वजनिक गर्नुभयो । उपप्रमुख चौधरीले चालुतर्फ ६५ दशमलव ६३ प्रतिशत अर्थात १ अर्ब ३६ करोड १८ लाख, पूँजीगततर्फ ३३ दशमलव ४१ अर्थात ६९ करोड ३१ लाख र वित्तीयतर्फ २ करोडको विनियोजन बजेट प्रस्तुत गर्नुभयो ।

तुलसीपुरले सबैभन्दा बढी शिक्षातर्फ कुल बजेटको ३० दबमलव ५७ अर्थात ६३ करोड ४२ लाख ९ हजार, स्वास्थ्यतर्फ ४ दशमलव ६२ प्रतिशत ९ करोड ५९ लाख ४० हजार, कृषि र पशुतर्फ ३ दशमलव ६६ सात करोड ५९ लाख ९८ हजार रुपैयाँ विनियोजन गरेकोे छ ।

अन्यमा ६१ दशमलव १५ प्रतिशत अर्थात १ अर्ब २६ करोड ८७ लाख ८० हजार रुपैयाँ विनियोजन गरिएको छ । आर्थिक वर्ष २०८१–८२ मा आन्तरिकतर्फ ६१ करोड ५१ लाख ३६ हजार ६ सय रुपैयाँ अनुमानित गरिएको छ ।

Blog Post Ad

सबैभन्दा धेरै घोराही उपमहानगरपालिकाले २ अर्ब ४२ करोड ७७ लाख १८ हजार रुपैयाँको बजेट ल्याउँदा सबैभन्दा कम आकारको बजेट दंगीशरण गाउँपालिकाले ४३ करोड ३२ लाख १८ हजारको बजेट ल्याएको छ ।

जिल्लाका केही पालिकाले बजेटको आकार बढाएपनि अधिकांश जसो पालिकाको बजेटको आकार चालु आर्थिक वर्षकै हाराहारीमा रहेको छ । राप्ती गाउँपालिकाले आईतबार नै ६८ करोड ५९ लाख ७४ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

यसैगरी, लमही नगरपालिकाले ८४ करोड ५१ लाख २४ हजार रुपैयाँको बजेट ल्याएको छ । लमही नगरपालिकाले वार्षिक नीति तथा कार्यक्रम र बजेट एकै दिन प्रस्तुत गर्यौ । नगर प्रमुख जोगराज चौधरीले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, उद्यमशिलता लगायत प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो भने उपप्रमुखको अनुपस्थितीमा वडा नम्बर ३ का अध्यक्ष मनोज चौधरीले ८४ करोड ५१ लख २४ हजार रुपैयाँको बजेट सभामा प्रस्तुत गर्नुभयो ।

लमही नगरपालिकाले प्रशासनिक खर्च तर्फ १५ करोड, भुक्तानी बाँकी ४ करोड ५० लाख, समपुरक कोषमा ३ करोड, क्रमागत आयोजनाको लागि ४ करोड, शिक्षा युवा तथा खेलकुद शाखाको लागि ३ करोड, स्वास्थ्य शाखाको लागि ५० लाख, कृषि शाखाको लागि ७० लाख, पशुसेवा शाखाको लागी ५० लाख, विपद् व्यवस्थापन तथा सरसफाई शाखाको लागि २५ लाख, न्यायिक समिति १० लाख, विपद व्यवस्थापन कोष ७७ लाख ६७ हजार, पूर्वाधार शाखा ४ करोड ५० लाख बजेट प्रस्तुत गरिएको छ ।

योजना शाखा ५ लाख, लमही अस्पताल एक करोड, आयुर्वेद शाखा १५ लाख, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा २५ लाख, उपभोक्ताहित संरक्षण शाखा ५ लाख, सूचना तथा संरचा प्रविधि शाखा ५ लाख, जनता संग मेयर कार्यक्रम ६५ लाख, जनतासंग उपमेर कार्यक्रम ५५ लाख, सुशासन तथा संस्थागत विकास शाखा ५ लाख, सहकारी ५ लाख, लघु उद्यम विकास कार्यक्रम १० लाख बजेट विनियोजन गरिएको छ । राजश्व शाखा ५ लाख, सामी कार्यक्रम १० लाख ५ हजार, भूमि व्यवस्थापन शाखा ७ लाख, १ देखि ९ वडासम्म ७ लाखको दरले ७ करोड २ लाख बजेट विनियोजन गरिएको छ ।

उता, राजपुर गाउँपालिकाले ६६ करोड ७९ लाख ५९ हजार ७ सय ७७ रुपैयाँको बजेट ल्याएको छ । गाउँसभामा उपाध्यक्ष धनपती देवी यादवले कुल बजेट मध्ये चालुतर्फ ४५ करोड ९ लाख ५९ हजार ७ सय ७७ रुपैयाँ र पूँजीगततर्फ २० करोड ८० लाख रुपैयाँ बजेट प्रस्तुत गर्नुभयो ।

गढवा गाउँपालिकाले पनि ६७ करोड ३७ लाख २७ हजार बजेट ल्याएको छ । उपाध्यक्ष शारदाकुमारी चौधरीले गाउँसभामा चालुतर्फ ४० करोड ९२ हजार र पूँजीगततर्फ २६ करोड ५६ लाख ३५ हजार रुपैयाँको बजेट पेश गर्नुभयो ।
आर्थिक विकास क्षेत्रमा ५ करोड ६४ लाख ८३ हजार, सामाजिक विकास तर्फ १५ करोड १५ लाख १४ हजार, पूर्वाधार विकासतर्फ १९ करोड ६ लाख २५ हजार, वन तथा वातावरण क्षेत्रमा ९८ लाख, प्रशासनिक खर्च तर्फ २५ करोड ९१ लाख ५ हजार बजेट प्रस्तुत भएको छ ।

दंगीशरण गाउँपालिकाले पनि आगामी आर्थिक वर्षका लागि ४३ करोड ३२ लाख १८ हजारको बजेट सार्वजनिक गरेको छ । दंगीशरण गाउँसभाको १७औँ अधिवेशनमा गाउँपालिका उपाध्यक्ष पीमा खड्काले शिक्षा, स्वास्थ्य, कृषि र उद्यमशिलतालाई प्राथमिकतामा राख्दै बजेट प्रस्तुत गर्नुभयो ।

विनियोजित बजेटमा आर्थिक विकासतर्फ ७२ लाख ५० हजार, सामाजिक विकासतर्फ ३ करोड ३ लाख ५७ हजार, पूर्वाधार विकासतर्फ २ करोड ५ लाख, वन वातावरण तथा विपद व्यवस्थापनतर्फ १० लाख ५० हजार, संस्थागत विकास तथा सुशासन क्षेत्रतर्फ ३३ लाख २५ हजार, वडागत विकास क्षेत्रतर्फ ३ करोड ५० लाख, समपुरक अनुदानबाट सन्चालन हुने योजनाहरुमा २ करोड, अनिवार्य दायित्वतर्फ १ करोड २२ लाख, गाउँपालिकाबाट संचाल हुने योजनाहरुतर्फ १ करोड ५५ लाख बिनियोजन गरिएको छ ।

शान्तिनगर गाउँपालिकाको ४३ करोड ६७ लाख ११ हजार रुपैयाँको बजेट आउँदा बंगलाचुली गाउँपालिकाले आईतबार ५८ करोड ८० लाख ५४ हजार रुपैयाँको बजेट ल्याएको छ । सोमबार ७ वटा पालिकाले नीति तथा कार्यक्रम र बजेट ल्याउँदा नगर प्रमुख तथा पालिका अध्यक्षले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो ।

नगर सभा र गाउँसभामा पेश भएको बजेटमाथिको दफावार छलफलपछि आगामी बैठकबाट सभाले बजेट पास गर्नेछ । त्यसपछि साउन १ गतेबाट स्थानीय तहको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा आउने छ ।

Blog Post Ad Blog Post Ad