अवको एक वर्षमा घोराही–तुलसीपुर फोरलेन सडक

दाङ, १० मंसिर । निर्माण गर्ने सम्झौता भएको ३३ महिनामा ७ प्रतिशत काम भएको घोराही तुलसीपुर सडकलाई एक वर्षमा सम्पन्न गरिने भएको छ । सडक निर्माणको ठेक्का पाएको भारतको मुम्बई स्थित तथ्य इन्जिनियरिङ इन्फ्रा प्रोजेक्ट प्रालीले २४ औँ घण्टा काम गरी एक वर्षमा सम्पन्न गर्ने बताएको हो ।
कम्पनीका म्यानेजिङ डाइरेक्टर प्रविण पाण्डेयले घोराहीमा आएर हजार देखि १२ सय जनशक्ति परिचालन गर्दे तीन सय ६५ दिनमा काम सक्ने बताए । ‘फोरलेन सडक निर्माणका लागि नेपाली निर्माण कम्पनीलाई जिम्मा दिएका थियौँ, काम भएन, हामिलाई धोका भयो’ ।
अव निर्माणको काम कसैलाई जिम्मा नदिएर तथ्यलेनै गर्नेछ, उनले भने । पहिले तथ्यवाट निर्माणको जिम्मा पाएको यहाँको निर्माण कम्पनीले आफुलाई नेपाल आउन सकेत नदिएको उनको भनाई थियो । ‘काम गरेनन्, मलाई यहाँ आउन रोकियो, म निकै लज्जीत छु, तपाईहरुसंग क्षमा पनि माग्छु’उनले भने । अव कसरी काम सक्ने भनेर योजना बनेको छ, त्यही अनुसार काम हुन्छ, यसका लागि यहाँका प्रहरी प्रशासन, नागरिक सबैको सहयोग चाहिन्छ’ उनले भने । अवको केही दिनमै फोरलेन बनाउने कामको प्रतिफल देखिने उनले बताएका छन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले ढिलाई तथा लापरवाही गर्नेलाई कारवाही गरिने बताए । ‘निर्माण सम्पन्न हुने समयमा सुभारम्भ गरिएको छ, अव पनि ढिला भए कसैलाई छोड्ने छैन्, उनले भने’ । सहयोग गर्ने काममा कुनै खालको अवरोध नहुँने भन्दै अव भने तोकिएकै समयमा काम सम्पन्न हुनुपर्ने बताए ।
कार्यक्रममा दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले अस्तव्यस्त फोरलेन सडककै कारण चार महिनामा १२ जनाको मृत्यू भएको बताए । पछिल्लो समय सडक दुर्घटना बढ्नुको प्रमुख कारणनै विग्रदो सडक भएको उनले बताए । सडक निर्माणमा चरम लापर्वाही देखिएको र अब पनि लापर्वाही गर्ने, ढिलासुुस्ती गर्ने र अबरोध गर्नेलाई कार्वाही गर्ने उनको भनाई छ ।
त्यसैगरी, नेपाली कांग्रेस दाङका सभापती किर्तीबहादुर खड्का, नेकपा माओबादी केन्द्रका सदस्य उमाकान्त खनाल, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुुर्गालाल केसी, परामर्शदाता इश्वरीप्रसाद हुुमागाँईले सडक निर्माण सम्पन्न नहुनु लज्जाको बिषय भएको बताए । सवा एक अर्ब रुपैयाँको लागतमा बन्ने सडकमा अहिले सम्म १२ करोड रुपैयाँ खर्च भएको निर्माण कम्पनीका इन्जिनियर विजय पाठकले जानकारी दिएका छन् ।