Ad Area

भारतबाट अबैध रुपमा भित्राइएका कुखुरा नष्ट


घोराही, १२ असार । दाङमा प्रहरीले अवैध रुपमा भारतबाट भित्राइएको बोइलर कुखुरा नस्ट गरेको छ । भन्सार छलेर नियन्त्रणमा लिइएका ४ सय ९० वटा कुखुरालाई प्रहरीले जनप्रतिनिधि,भन्सार कार्यालय र अस्थायी पशु क्वारेन्टाइन कार्यालयका प्रतिनिधिको रोहवारमा बुधवार खाडल खनेर गाडेर नष्ट गरेको हो ।

भन्सार छली गरेर ल्याइएका कुखुरा खरिद गरेको आधिकारीक कागज र क्वारेण्टाईन जाँचपास गरेका कागजात फेला नपरेपछि प्रहरीले नियन्त्रणमा लिइएको कुखुरा नष्ट गरेको इलाका प्रहरी कार्यालय गढवाकी प्रमुख प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिनुभएको छ । इलाका प्रहरी कार्यालय गढवाले बुधवार विहान भन्सार छलेर रोल्पातर्फ लैजादै गरेको रा १ च ११७४ नम्वरको पिकअप गाडीसहित कुखुरा नियन्त्रणमा लिएको थियो ।

उक्त बोइलर कुखुरा नेपाल–भारत सिमाअन्तर्गत राजपुर गाउँपालिकाको खंङ्गानाका हँुदै भित्राइएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले गाडीसहित रोल्पा माडीगाउँ–२ निवासी ३७ वर्षीय हरिबहादुर घर्तीलाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अघि बढाएको छ । चोरबाटो हुँदै भारतबाट नेपालतर्फ बोइलर कुखुरा निकासी हुने गरेपछि व्यवसायी र स्थानीयले प्रहरीलाई खवर गरेपछि प्रहरीले विहान ३ बजेतिर गाडीलाई नियन्त्रणमा लिन सफल भएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभएको छ ।

गढवा गाउँपालिका जनप्रतिनिधि, भन्सार कार्यालय कोइलाबासका प्रतिनिधि, राजश्व शाखा, अस्थायी पशु क्वारेन्टाईन चेअ पोष्ट भालुवाङका प्रतिनिधिको रोहवरमा नियन्त्रणा लिइएको बोइलर कुखुरा नष्ट गरिएको हो । भारतबाट अबैधरुपमा भित्रिने कुखुराका कारण नेपाली व्यवसायी मारमा पर्ने गरेका छन् ।

Blog Post Ad Blog Post Ad