Ad Area

विपदमा हुने लैंगिक हिंसा राेक्न सचेत र जिम्मेवार हुनुपर्नेमा जोड


घोराही, १२ असार । विपदका बेलामा लैंगिक हिंसाका घटना अझ बढ्ने हुँदा यसको न्यूनीकरणका लागि सबै पक्ष सचेत र जिम्मेवार हुनुपर्नेमा जोड दिईएको छ । विपदको बेला सबैको ध्यान उद्धार, राहत र पुनस्र्थापना जाँदा लैंगिक हिंसा तथा स्वास्थ्य सेवाका आधारभुत विषय ओझेलमा परेर विभिन्न खालमा समस्या निम्तने हुँदा यसतर्फ सबै गम्भीर बन्नुपर्ने आवश्यकता औँल्याईएको हाे ।

नेपाल परिवार नियोजन संघ दाङ शाखा स्प्रिन्ट परियोजनाको आयोजनामा बुधबार स्वास्थ्यकर्मी तथा सरोकारवालाहरुका लागि लैंगिक हिंसा र यसले पार्ने प्रभाव बारे आयोजित अभिमुखीकरणमा लैंगिक हिंसाका घटना विपदमा अझ धेरै हुने भएकाले नियामक निकायबाट योजना बनाएर निरुपणको काम गर्नुपर्नेमा जोड दिइएको छ ।

नेपाल परिवार नियोजन संघ दाङ शाखा सभापति भरतराज देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुृख राधा पौडेलले हिंसाका घटना न्यूनीकरण गर्न समुदायमा क्रियाशील सबै संघसंस्थाहरु बीच समन्वय र सहकार्य हुनुपर्ने बताउनुभयो । प्राय सबैको ध्यान ठूला कुरामा जाने तर साना कुरामा चासो नराख्दा यसले पछि ठूलो असर गर्ने हुँदा सबै चनाखो हुनुपर्ने बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय दाङको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत प्रहरी सहायक निरिक्षक निमा डिसीले विपदमा परेका जुन सुकै हिंसा पीडितको न्यायमा सबै गम्भीर हुन आवश्यक रहेको बताउनुभयो । उहाँले जिल्लामा हरेक वर्ष हिंसाका घटना बढ्दै गएको तथ्यांकसमेत प्रस्तुत गर्नुभएको थियो ।

स्वास्थ्य कार्यालयकी जनस्वास्थ्य नर्सिङ रिता न्यौपानेले पीडितले समयमा न्याय नपाउने तथा कतिपय न्यायको पहुँचमा पुग्न नसकेको अवस्था रहेको बताउनुभयो ।

Blog Post Ad

महिला मानव अधिकार रक्षक सञ्जाल दाङकी अध्यक्ष सुशीला पौडेलले विषय सम्वेदनशील भए पनि नीतिगत रुपमा काम गर्ने वातावरण बन्न नसकेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष बसुन्धरा गौतमले विपदमा परेकाहरुलाई मनोविमर्श र सामाजिक न्यायमा पहुँच वृद्धि गर्ने काममा छुट्टै संयन्त्र बनाउनुपर्ने बताउनुभयो । अहिले भईरहेका अभ्यास प्रभावकारी बनाउन नसक्दा पनि समस्या थपिँदै गएको उहाँको भनाई थियो ।

महिला स्वास्थ्य स्वयंसेविका बिना खनाल, धना जिसी, कमला गिरीलगायतले परिवारबाट पीडित भएकाहरु अझ बढी मारमा पर्ने गरेको बताउँदै उनीहरुको न्याय र पुनस्र्थापनामा सबैको ध्यान जानुपर्ने बताउनुभयो । कार्यक्रमको सहजीकरण नेपाल परिवार नियोजन संघ दाङ शाखा प्रबन्धक बसन्त खनालले गर्नु भएको थियो ।

Blog Post Ad Blog Post Ad