Ad Area

कमलरी मुक्ति दिवसमा सरसफाई र वृक्षारोपण


घोराही, १३ असार । मुक्त कमलरीहरुले ११ औँ कमलरी मुक्ति दिवस मनाएका छन् । मुक्त कमलरी विकास मञ्च केन्द्रीय कार्यालय दाङको आयोजनामा बिहीबार शुभकामना साटासाटसँगै सरसफाई र वृक्षारोपण गरेर आफ्नो मुक्ति दिवस मनाएका हुन् ।

संस्थाकी केन्द्रीय कोषाध्यक्ष सुशीला चौधरीको अध्यक्षता तथा घोराही १७ का वडा सदस्य धनीराम चौधरीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा बोल्नेहरुले कमलरी मुक्तिको ११ वर्ष पुग्दा पनि अझै कमलरी आन्दोलन सार्थक बनाउन दवाव आवश्यक रहेको बताउनुभएको छ ।

२०७० साल जेठ १९ गते सरकारसँग भएको १० बुँदे सहमति अझै पूर्ण रुपमा कार्यान्वयन हुन नसकेको प्रति ध्यानाकर्षण गराउँदै कमलरीहरुको शिक्षा, सीप रोजगारी र जमिनसहितको पुनस्र्थापनामा सरकारको ध्यान जानुपर्ने आवश्यकता औँल्याईएको छ ।

प्रमुख अतिथि वडा सदस्य चौधरीले दासताको जीवनबाट मुक्ति पाएर अहिले समाजमा आफुलाई स्थापित गर्न मुक्त कमलरीहरुले गरिरहेको प्रयासमा तीन तहका सरकारको ध्यान जानुपर्ने बताउनुभयो । विगतमा भएका सहमति र सम्झौता समयमा अक्षरशः कार्यान्वयनमा ईमान्दारिता देखाउन उहाँले आग्रह गर्नुभयो ।

संस्थाकी केन्द्रीय सदस्य रुपनी चौधरीले मुक्ति दिवस मनाईरहँदा आफुहरुलाई खुशी लागे पनि अझै पूर्ण न्याय पाउन नसकेको प्रति चिन्ता लाग्ने गरेको बताउनुभयो । कमलरी मुक्तिको आन्दोलनलाई सफल बनाउन सबैले उच्च मनोबलका साथ आ–आफ्नो ठाउँबाट पहल र पैरवी गर्नुपर्ने बताउनुभयो ।

मुक्त कमलरी विकास मञ्च दाङकी सचिव अंगिता चौधरीले हिजो दिनमा मालिकको घरमा भोगेका दुखबाट मुक्ति पाएपछि अहिले धेरै दिदीबहिनीहरु आत्मनिर्भरताको बाटोमा लागेको बताउनुभयो ।

कार्यक्रममा डगर कृषि सहकारी संस्थाकी विष्णु चौधरी, कार्यक्रम संयोजक सुलोचना चौधरी, ज्ञानु थापा, सोसेकका द्रोर्ण जिसीलगायतले कमलरी आन्दोलनबाट प्राप्त गरेको उपलब्धीलाई थप उँचाईमा पुर्याउन सबैको साथ सहकार्य र हौसला आवश्यक रहेको बताउनुभयो ।

संस्थाको तथ्यांक अनुसार १२ हजार ७ सय ६९ जना मुक्त कमलरी रहेका छन् । जसमध्ये ४ हजार ९ सय ३४ जनाले मात्रै सरकारी परिचय पत्र पाएका छन् । परिचय पत्र पाउन नसक्दा मुक्त कमलरीहरु राज्यले प्रदान गर्ने सेवा सुविधा पाउनबाट वञ्चित रहेको भन्दै सबैलाई अबिलम्ब परिचय पत्र उपलब्ध गराउन माग गरिएको छ । यसैगरी, मुक्त कमलरी मध्ये छात्राबासमा रहेर अध्ययन गरिरहेकाहरुलाई उच्च शिक्षा अध्ययनमा समस्या भईरहेको प्रति पनि गुनासो गरिएको छ ।

कार्यक्रम पश्चात मुक्त कमलरीहरुले घोराही १७ चौघेरास्थित गोरक्ष पात्र देवता मन्दिर परिसरमा सरसफाई गर्दै विभिन्न जडीबुटीसहितका विरुवा रोपण गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण संस्थाकी सामाजिक परिचालक सुनिता चौधरीले गर्नुभएको थियो ।