Ad Area

दाङमा पौने तीन लाख बिरुवा तयार, बिरुवा रोप्न चाहनेलाई निशुल्क वितरण गरिने


हेमराज शर्मा

दाङ, १४ असार । डिभिजन वन कार्यालयले राष्ट्रिय बृक्षारोपण दिवसको अवसर पारेर आज शुक्रवारदेखि दाङमा बिरुवा रोप्ने कार्य थालेको छ । “भावी सन्तती र समृद्धिका लागि बृक्षारोपण गरौ” भन्ने मूल नाराका साथ आज डिभिजन वन कार्यालय दाङले घोराही उपमहानगरपालिका वडा नं ४ सुनपुर स्थित सुनपुर सामुदायिक वनको खाली क्षेत्रमा बृक्षारोपण गरी यो बर्षको बृक्षारोपण कार्यको थालनी गरेको हो ।

सुनपुर सामुदायिक वनको खाली करिव एक हेक्टर वनमा ’अर्जुन’ प्रजातिका एक सय बिरुवा लगाएर बृक्षारोपण कार्य थालिएको र उक्त क्षेत्रमा एक हजार ६ सय बिरुवा रोप्ने योजना रहेको छ । यो बर्ष डिभिजन वन कार्यालय घोराही दाङको कार्य क्षेत्र अन्र्तगतका ५ वटा नर्सरीमा २ लाख ७० हजार बिरुवा उत्पादन गरिएको र ती बिरुवा रोप्न चाहने ब्यक्तिलाई निशुल्क रुपमा दिइने सिनियर डिभिजनल वन अधिकृत मोहनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

जडिवुटी, वनजन्य र सौन्दर्यजन्य बिरुवा रोप्नका लागि तयारी अवस्थामा रहेको र बर्षात शुरु हुनासाथ असारको चौथो हप्तादेखि निशुल्क रुपमा बितरण थालिने डिभिजनल वन कार्यालय घोराही दाङले जनाएको छ । यो बर्ष राष्ट्रिय वन, सामुदायिक वन, निजी वन, उपभोक्तालाई आफ्नो खाली जग्गामा रोप्न, नदी उकास क्षेत्र गरी करिव एक सय हेक्टर बढि क्षेत्रमा बृक्षारोपण गर्ने लक्ष्य रहेको सिनियर डिभिजनल वन अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।

बृक्षारोपण कार्य जनवायु परिवर्तनको बढ्दो जोखिमलाई कम गर्नका लागि हाम्रो जस्तो देशको श्रोत र साधानले भ्याउने कार्यक्रम रहेको भन्दै सिनियर डिभिजनल वन अधिकृत श्रेष्ठले तीनै तहको समन्वयमा बिरुवा लगाउने र लगाएका बिरुवालाई हुर्काउने गरी प्रभावकारी बृक्षारोपण गरिने बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि घोराही उपमहानगरपालिका उपप्रमुख हुमाकुमारी डिसीले सामुदायिक वन उपभोक्ता समूह मार्फत नेपालमा वन संरक्षणको कार्य प्रभावकारी भएको भन्दै पछिल्लो समय मानिसमा बिरुवा रोप्नुपर्छ भन्ने सोचको बिकास भएको र सोही अनुसारको काम भएको बताउनुभयो । कार्यक्रममा विशिष्ट अतिथि दाङका प्रमुख जिल्ला अधिकारी रामवन्धु सुवेदीले बृक्षरोपण सगै वन क्षेत्रको गुणात्मक बिकास गरी वनलाई समृद्धिसँग जोडेर लैजान जरुरी भएको बताउनुभयो ।

Blog Post Ad

राष्ट्रिय बृक्षारोपण दिवसको अवसरमा आयोजित कार्यक्रमको सहजिकरण सुनपुर सव डिभिजन वन कार्यालयका रेञ्जर प्रकाश ढकालले गर्नु भएको थियो । बृक्षारोपण कार्यक्रममा सुनपुर सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी तथा उपभोक्ता, जनप्रतिनिधि, वन कर्मचारी, पत्रकार, बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । सवै सव डिभिजन वन कार्यालयहरुले आज शुक्रवार राष्ट्रिय बृक्षारोपण दिवसको अवसर बिरुवा रोपनको कार्य थालेको सनियर डिभिजनल वन अधिकृत मोहनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad