Ad Area

दाङमा १० प्रतिशत मात्रै धान रोपाइँ, अधिकांश खेत बाँझै


घोराही, १५ असार । आज धान दिवस । मुठी छरेर मुरी उब्जाउने दिनका रुपमा पनि यो दिनलाई लिने गरिएको छ । तर, मध्ये असार बितिसक्दा पनि दाङमा १० प्रतिशत मात्रै धान रोपाइँ भएको छ । नेपालमा मनसुन समयममै भित्रिए पनि यस क्षेत्रमा ढिलो सक्रिय हुँदा जिल्लामा यो वर्ष धान रोपाइँ सुस्त देखिएको छ ।

पर्याप्त सिँचाइ सुविधा नहुँदा कृषकले बेलैमा धानको ब्याड राख्न नपाउनेदेखि खेतीपातीका लागि पानी अभावमा समयमा काम गर्न किसानलाई कठिन हुने गरेको छ ।

कृषि ज्ञान केन्द्र दाङका अनुसार असार १४ गतेसम्म जिल्लामा १० प्रतिशत धान रोपाइँ भएको छ । समयमा पानी नपर्दा जिल्लामा अधिकांश ठाउँमा किसानले धान रोप्न सकेका छैनन् । सिंचाइको सुविधा हुने केही स्थानमा धान रोपाइँ भए पनि अधिकांश ठाउँमा खेत बाँझै छन् । ढिला गरी पानी परेपछि अहिले किसान धानको ब्याड राख्न थालेका छन् ।

जिल्लाको देउखुरी क्षेत्रको राप्ती, लमही, गढवा, राजपुर गाउँपालिका बाहेक अरु पालिकामा थोरै मात्रामा मात्रै धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी तथा कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले बताउनुभयो । जिल्लामा सबैभन्दा बढी राप्ती गाउँपालिकामा धान रोपाइँ भएको छ । सूचना अधिकारी लामिछानेले भन्नुभयो, ‘मध्येअसार बितिसक्दा पनि यस वर्ष ढिला गरी बर्षात हुँदा जिल्लामा रोपाइँ हुने कुल क्षेत्रफलको करीव ९० प्रतिशत धान रोपाई देउखुरी क्षेत्रमा भईसकेको छ । यो जिल्लाभरको अवस्था हेर्दा भने करिब १० प्रतिशत मात्रै रोपाइँ भएको छ ।’

अरु पालिकामा त अझै धेरै जसो ठाउँमा धानको ब्याड राख्ने काम भएको छैन । खेतका गरा बाँझै छन् । सिंचाइ सुविधा हुने ठाउँमा पहिले ब्याड राखेका किसानले रोपाइँ सुरु गरेको हुँदा अब रोपाइँ भएको तथ्यांक बढ्दै जाने छ । २०७९ मा यो समयमा ३० प्रतिशतसम्म किसानले धान रोपिसकेको थिए’, कृषि अर्थविज्ञ लामिछानेले भन्नुभयो, ‘तर अहिले १० प्रतिशत मात्रै रोपाइँ भएको छ ।’ पानी पर्न थालेको र किसानले राखेको ब्याड पनि तयार हुने अवस्था भएकाले अब धान रोपाइँको अवस्था बढ्ने उहाँले बताउनुभयो ।

गत वर्ष जिल्लामा ३७ हजार ३ सय ६५ हेक्टरमा धान खेती भएको ज्ञान केन्द्रले जनाएको छ । यो वर्ष ३७ हजार २ सय २५ हेक्टरमा मात्रै धान खेती हुने अनुमान ज्ञान केन्द्रको छ । तरकारी तथा फलफुल खेतीतर्फ किसान थपिँदै जान थालेपछि वर्षेनी धान खेती हुने क्षेत्रफल घट्दै गईरहेको ज्ञान केन्द्रका कृषि अर्थविज्ञ लामिछानेले बताउनुभयो । उता, सिंचाइ सुविधा नहुँदा आकाशे पानीको भर पर्नुपर्ने किसानलाई बाध्यता छ ।

Blog Post Ad

जिल्लाको राप्ती गाउँपालिकाका अधिकांश वडामा बाह्रै महिना सिँचाइका लागि राप्ती नदीको पानी प्रयोग हुन्छ । कृषि पटेक क्षेत्र समेत रहेका वडाहरुमा अहिले किसान खेतमा ब्यस्त छन् । खेतीपातीको समय भएकाले बिहान सबेरैदेखि राति अबेरसम्म उनीहरु खेतमा धान रोप्न ब्यस्त हुने गरेका छन् ।

राप्तीमा कुल क्षेत्रफलको ६९ दशमलव ६२ वर्ग किलोमिटर कृषि क्षेत्र रहेको छ । ३ हजार ३ सय ४७ हेक्टरमा १६ हजार ९ सय ८० मेट्रिक टन कृषि उत्पादन हुने गरेको कृषि विकास शाखाले जानकारी दिएको छ ।

जिल्लाका अधिकांश ठाउँमा किसानले रोपाइँको तयारी गरिरहँदा बंगलाचुलीका किसान भने चैते धानबाली भित्राउने तयारीमा छन् । वर्षमा चैते र बर्खे गरी दुई बाली धानखेती गर्ने किसान अहिले चैते धान भित्राउने तयारीमा रहेका छन् । चैते धान खेतमा पाक्न थालेसँगै किसान अब भित्र्याउने तयारी भएको बंगलाचुली गाउँपालिका वडा नम्बर ३ धनौरेका किसान गोपाल घर्तीले जानकारी दिनुभयो ।

असारको अन्तिमसम्म धान पाक्ने भएकाले किसान चैते धान भित्र्याउने तयारीमा मुलाबारी तथा आसपासका किसान रहेका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १ को सुकाखोला र बंगलाचुली गाउँपालिका वडा नम्बर ३, ४ र ८ वडा अन्तरगत गहतेरा, मुलाबारी, धनौरेलगायत विभिन्न ठाउँमा चैते धानखेती हुने गरेको छ ।

खेतीयोग्य जमिनको कित्ताकाट गरेर बसोवास क्षेत्र बनाउने क्रम बढेसँगै जिल्लामा खेतीयोग्य जमीनको आकार घट्दै गएको अध्ययनले देखाएको छ । उत्पादन हुने क्षेत्रफल घट्दै जाँदा खाद्यान्न उत्पादन घट्ने अवस्था आएको तथ्यांकले बताउने गरेको छ ।

दाङका बजार क्षेत्र, बाटोको निकास भएका जग्गा अस्वाभाविक रुपमा घडेरीका रुपमा विकास गरेर बिक्रि गर्ने क्रम बढेपछि खेतीयोग्य जमीन कम हुँदै गएको छ । खासगरी, धान, गहुँ, मकै उत्पादन हुने जग्गामा पनि घडेरी बनाएर बिक्रि गर्न थालेपनि खेतीयोग्य जमीन घट्दै गएको बताउने गरिएको छ ।

सरकारले कृषि क्षेत्रमा प्राथमिकता दिएको बताउने गरेपनि जग्गाको खण्डिकरण रोक्न असफल प्राय देखिएको छ । स्थानीय सरकारलाई जग्गाको वर्गीकरण गर्ने अधिकार छ तर यस विषयमा खासै चासो छैन । कृषि ज्ञान केन्द्र दाङले पनि एक दशकमा खेतीयोग्य जमिनलाई घडेरी बनाउने अनि खेत बाँझै राख्ने अवस्था बढेर जनाएको छ ।

कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थविज्ञ लामिछानेले भन्नुभयो ‘धान, गहुँ, मकै फल्ने खेतबारी अहिले घडेरी बन्न थाले । उद्योग कलकारखाना खुल्न थाले । यसले गर्दा खेतीयोग्य जग्गा खुम्चिन थाल्यो, भएका खेतमा पनि अन्नबाली नलगाउने, बाँझै राख्ने अनि सबै खाद्यान्न किनेर खाने चलन बढेर गएको छ । यसले खेतीयोग्य जमीन प्लटिङमा परिणत भएको छ ।’

भूउपयोग नियमावली २०७९ ले कृषि क्षेत्रको जग्गालाई कित्ताकाट गर्न कडाई गरेको छ । तर, नियम भने कडाईका साथ लागू हुन सकेको छैन । सरकारले पनि खेतीयोग्य जमिन बाँझो राख्न नपाईने नीति ल्यायो । तर, खेत बाँझै राख्नेलाई कुनै कारवाही गर्न सकेको छैन ।

दाङमा ६९ हजार नौ सय ५० हेक्टर जमिन खेतीयोग्य छ । जसमध्ये ६५ हजार नौ सय ८० हेक्टर जग्गामा मात्रै खेतीपाती हुने गरेको तथ्यांकले देखाउँछ । बाँकी दुई हजार सात सय ८० हेक्टर खेतीयोग्य जमिन खुम्चिएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । एक वर्षको अवधिमा ६० हेक्टर जग्गा खुम्चिएको कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ लामिछानेले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad