Ad Area

मन्त्रीसँग कानुनका विद्यार्थीको अन्तरक्रिया


तुलसीपुर,१६ असार । दाङको तुलसीपुरमा रहेको मेट्रो कलेजमा कानुन अध्ययनरत विद्यार्थीहरुले लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रत्न खत्रीसँग अन्तरक्रिया गरेका छन् । विद्यार्थीहरुले विभिन्न कानुन सम्बद्ध विषयका साथै प्रदेश सरकारका काम कर्तव्य र अधिकारका बारेमा छलफल गरेका हुन ।

कार्यक्रममा बोल्दै मन्त्री खत्रीले कानुनको क्षेत्रमा धेरै सम्भावना रहेको बताउँदै कानुनका विद्यार्थीहरुले समाजलाई पनि कानूनी हिसाबले सुसूचित पार्नुपर्ने कुरामा जोड दिनुभएको थियो । संघीयताको कार्यान्वयनसँगै देशैभर कानुनको जनशक्ति आवश्यक परेको बताउँदै कतिपय सरकारहरुले कानुनको अभावमा काम गर्न नसकेको समेत बताए । मन्त्री खत्रीले भन्नुभयो,‘कानुन बिना केही पनि काम गर्न सकिदैन । सरकारले गर्ने कामको मुल आधार भनेको कानुन नै हो ।’

विद्यार्थीहरुलाई उत्प्रेरित गर्दै मन्त्री खत्रीले नेपालमा केही पनि भएन, केही राम्रो छैन भन्ने खालको भाष्य निर्माण हुँदै जानु दुखद भएको भन्दै भन्नुभयो,‘हामीले नेपालमै केही गरेका व्यक्तिहरुलाई उत्प्रेरक मान्न छाडेका छौ, विदेश जानेलाई मात्रै हामीले पछ्याउने कुरालाई हामीलाई विदेश नै जानुपर्ने वाध्यता बनाइरहेको छ ।’

तुलसीपुर मेट्रो कलेजले प्राविधिक शिक्षाको क्षेत्रमा उल्लेखनीय कार्य गरेको बताउँदै मन्त्री खत्रीले यसलाई प्रदेश सरकारले नमुना कलेजका रुपमा स्थापना गर्ने समेत बताउनुभएको थियो । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले सबैको पहुँचमा प्राविधिक शिक्षा पुर्याउनका लागि स्थानीय सरकारको पहलकदमीमा कलेज स्थापना गरिएको भन्दै कलेजले विभिन्न खालका प्राविधिक कार्यक्रम सञ्चालनको तयारी गरिरहेको बताउनुभएको थियो । कार्यक्रमको सहजीकरण वसन्त आचार्यले गर्नुभएको थियो । ‘