Ad Area

दाङको सचिव पदमा इतिहासमै पहिलो पटक महिला प्रतिनिधिका रुपमा लम्सालको उम्मेदवारी


घोराही ११, मंसीर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत दाङको जिल्ला सचिव पदमा इतिहासमै पहिलो पटक महिला प्रतिनिधिले उम्मेदवारी दर्ता गराएकी छिन् । सचिव पदका लागि ४ जनाको उम्मेदवारी परेकोमा बालिका लम्सालले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।

सचिवमा लम्सालसँगै अर्जुनकुमार योगी, कृष्णप्रसाद सुवेदी, सूर्यप्रकाश राणाको पनि उम्मेदवारी परेको छ । यसअघि सहसचिव पदमा उम्मेदवारी दिने चर्चा चलिरहेका बेला अन्तिम समयमा आएर सचिव पदका लागि सबैको सल्लाह र सुझावका आधारमा आफुले उम्मेदवारी दिएको लम्सालको भनाई छ । जिल्ला कार्यसमिति सदस्यसमेत रहेकी लम्सालले महिला, युवा तथा शुभेच्छुक सबैको साझा उम्मेदवारका रुपमा आफु सचिव पदका लागि चुनावी मैदानमा उत्रिएको जानकारी दिईन् । निर्वाचनमार्फत जिल्ला सचिवका लागि प्रतिष्पर्धामा उत्रिन पाउँदा आफु निकै उत्साहित रहेको बताउँदै उनले महिला दिदीबहिनी, सिंगो समुहको साथ र शुभेच्छुकको आशिर्वादले सफलता हासिल हुनेमा विश्वस्त रहेको जिकिर गरिन् ।

‘मैले सह–सचिवका लागि उठ्छु भन्ने मनोविज्ञान बनाएको थिएँ, एकाएक सचिवमा उठ्नु पर्यो भन्ने सबैको आवाज आयो, सबैले सहयोग गर्छौँ पनि भन्नुभएको छ, जिल्लामा यसअघि महिलाले सचिव पदमा उठ्ने मौका पनि पाएका थिएनन् । यो मेरा लागि सुनौलो अवसर पनि हो, मैले आँट गरेर सचिव पदमा उम्मेदवारी दिएको छु, आशा छ म जित्छु,’ शुक्रबार उम्मेदवारी दिएपछि प्रतिक्रिया दिँदै लम्सालले भनिन् ।

महिलालाई प्रतिनिधि बनाउन सबैको पहल हुनेमा सतप्रतिशत आशावादीका साथ अहिले सचिव पदमा आफुलाई मत दिन भेटघाट र फोन गर्न व्यस्त लम्साल यसअघि नेविसंघ हुँदै तरुण दलको केन्द्रिय प्रतिनिधि भएर सफलतापूर्वक कार्यभार सुम्हालेकी जुझारु व्यक्ति हुन् । जिल्ला कार्य समिति सदस्यमा रहेका बेला पनि हरेक कार्यक्रममा उनको उपस्थिती र राजनीतिक प्रभाव बढ्दै गएको छ । शनिबार हुने निर्वाचनमार्फत सभापतिसहित जिल्ला कार्यसमिति चयन हुने भएको छ ।

सभापति पदका लागि ४ जनाको उम्मेदवारी परेको छ भने उपसभापतिमा ७ जनाले उम्मेदवारी दिएका निर्वाचन समितिका रेशमराज गिरीले जानकारी दिए । शनिबार हुन लागेको निर्वाचनमा कुल २ हजार १९२ मतदाता छन् । यीमध्य पुरुष मतदाताको संख्या १ हजार ५११ र महिला मतदाता संख्या ६८१ रहेको छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad