Ad Area

अलपत्र कालाकाटे–गढवा हुलाकी सडक : ठेक्का तोड्ने प्रक्रियामा आयोजना, काम गर्ने पक्षमा ठेकेदार


घोराही, २० असार । सँगै ठेक्का लागेका ठाउँमा काम सम्पन्न भएर सेवा सुचारु भईसके । तोकिएको समयमा काम गरेका निर्माण कम्पनीले अहिले अरु ठाउँमा काम गरिरहेका छन् । तर, देउखुरीको हुलाकी मार्गका रुपमा रहेको कालाकाटे–गढवा सडक खण्डको कामको जिम्मेवारी लिएको निर्माण व्यवसायीले काम सक्नु त धेरै परको कुरा । गरिएको काम पनि अलपत्र अवस्था छ ।

पटक–पटक तोकेता गर्दा केही काम गरेको जस्तो गरेको निर्माण कम्पनीले म्याद गुज्रिएको लामो समय बित्दा पनि नगरे पछि सडक आयोजनाले कानूनी प्रकृया अपनाएर ठेक्का तोड्ने अवस्थामा पुगेको छ । ६५ करोडको लागतमा २०७६ कार्तिक २९ मा बज्रगुरू कान्छाराम जेभीसँग हुलाकी राजमार्ग आयोजना कार्यालयले बनघुस्रीदेखि गढवासम्मको २० किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का सम्झौता भएको थियो । सडक निर्माणका लागि लक्ष्मण रानाले जिम्मेवारी लिएपनि अहिले काम हुन सकेको छैन ।

तोकिएको समयमा काम नभएपछि २०७९ मंसिर अन्त्यतिर म्याद थपेर २०८० साउन १० सम्म कायम गराउँदा पनि नभएको सडकको काम फेरि मंसिर २२ गतेदेखि शुरु गरेझै गरे पनि काम हुन सकेन । कालाकाटेदेखि धैरेनीसम्मको सडक कालोपत्रे हुनु बाहेक अरु ठाउँमा काम नै भएको छैन ।
हुलाकी राजमार्ग आयोजना कार्यालय नेपालगञ्जका आयोजना प्रमुख लीलाबहादुर भण्डारीले निर्माण व्यवसायीले पटक–पटक ताकेता गर्दा पनि काम नगरे पछि अब ठेक्का तोड्ने गरी प्रकृया अघि बढेको जानकारी दिनुभयो ।

हुलाकी सडकअन्तर्गत बन्दै गरेको कालाकाटेदेखि राजपुरसम्म सात मिटर पिच र २–२ मिटर पेटी रहने ठेक्का सम्झौता भएको हो । शहरी क्षेत्र, वस्ती र बजारमा पाँच किलोमिटर पक्की नाला बनाउने सम्झौतामा उल्लेख छ ।

काम गर्नेभन्दै वाचा गर्ने, लिखित सहमति गर्ने तर काम नगरी सबैको आँखामा छारो हाल्ने काम गर्दै आएकाले निर्माण कम्पनीको विश्वास लाग्न छाडेको बताउनुभयो । बज्रगुरू कान्छाराम जेभीका लक्ष्मण राना सम्पर्कमै नआउने, काम पनि नगर्ने अवस्थाले आजित भएको बताउँदै उहाँले अब कार्यालय ठेक्का तोड्ने अवस्थामा पुगिसकेको बताउनुभयो ।

‘कामको जिम्मा लिनुभएका लक्ष्मण राना लामो समयदेखि सम्पर्कमै आउनु भएको छैन । उहाँको प्रतिनिधि साथीहरु बल्लतल्ल देखिनु हुन्छ । अस्तिन जिल्ला प्रशासन कार्यालयको सार्वजनिक सुनुवाईमा पनि तत्काल काम शुरु गर्ने वचन रानाजीको साथीहरुबाट भएको थियो । त्यो बेलामा काम अनुसार बाँकी भुक्तानी कार्यालयले दिने सहमति गरेको थियो । सोही अनुसार कार्यालयबाट भुक्तानी दिइयो तर काम हुन सकेन’ उहाँले भन्नुभयो । यसरी कामै नगर्ने निर्माण कम्पनीलाई ठेक्का दिएर पार लाग्ने नदेखेपछि ठेक्का नै तोड्ने मनस्थितिमा कार्यालय पुगेको उहाँले बताउनुभयो ।

Blog Post Ad

तीन महिना अघि भएको सहमति अनुसार अहिलेसम्म काम सम्पन्न भई सक्नुपर्ने हो तर २ सय ४६ ड्रम बिटुमिन झारेर अलमलमा पार्न खोजेको कार्यालयको भनाई छ । सो सडक खण्डको सबै काम सम्पन्न गर्न कम्तिमा १ हजार बढी ड्रम बिटुमिन आवश्यक पर्ने कार्यालय प्रमुख भण्डारीले बताउनुभयो ।
काम हुने छाँटकाँट नदेखेपछि अहिले निर्माण कम्पनीको मोबिलाईजेशन पेश्कीवापतको रकम बैंकबाट फिर्ता तान्ने प्रकृया अघि बढाईएको छ ।
‘अब त अति नै भयो । त्यसैले ठेक्का तोड्ने प्रकृया शुरु भइसक्यो ।

मोभिलाईजेशन पेश्की तान्न मैले २०८१ जेठ २८ गते नविल बैंक दरबारमार्गलाई पाँच करोड ९० लाख र एक करोड ९५ लाख रुपैयाँ गरेर ७ करोड ८५ लाख पेश्की फिर्ता गर्न पत्र काटेको छु’ आयोजना प्रमुख भण्डारीले भन्नुभयो । उहाँले निर्माण व्यवसायीले काम गर्छु भनेर विटुमिन झारे पनि त्यसको निरीक्षण गर्दा अन्य इक्युपमेन्ट देखा नपरेकोले ठेक्कै तोड्ने तयारी गरिएको बताउनुभयो ।

‘अब वारपार हुन्छ । जनताले दुख पाउने काम गर्नु हुँदैन । हामीले आफ्नो तर्फबाट कानुनी प्रकृया अघि बढाईसकेका छौँ । काम भयो भने साउन भदौसम्ममा होला । नभए पनि त्यही अवधिमा हामीले ठेक्का तोडेर नयाँ प्रकृयामा अघि बढ्छौँ । जे हुन्छ, यहि अवधिमा हुन्छ’, उहाँले भन्नुभयो ‘असार मसान्तसम्मका स्थलगत निरिक्षण गरेर भौतिक प्रगति बारे प्रतिवेदन बन्छ । त्यसपछि अरु जे जे गर्नुपर्छ हामी प्रकृया अघि बढाउँछौँ । एउटा निर्माण व्यवसायीको कारणले जनताले दुख पाउने काम भएको छ । हामी पनि काम देखेर आजित भएका छौँ ।’

स्थानीय सरकारका रुपमा रहेको गढवा गाउँपालिका पनि हुलाकी सडकको कामबाट निकै आजित बनेको छ । काम गर्ने र गराउने निकाय अरु हुँदा गढवालाई पनि सकस भएको पालिका अध्यक्ष यमनारायण पोख्रेलको भनाई छ ।

‘काम नगर्ने ठेकेदार अनि गाली खानुपर्ने हामीले भएको छ । दुख पालिकाबासीले सहनुपरेको छ’, अध्यक्ष पोख्रेलले भन्नुभयो ‘अब यो काम हुन्न भन्नेमा हामी पुगेका छौँ । मैले त ठेक्का तोड्नुस् भनेर उहिल्यै आयोजना प्रमुखज्यूलाई भनेको हुँ । अरु काम उतैबाट हुन्छ । त्यसैले पनि हामीलाई समस्या भएको हो । कामै नगरेर सडक अलपत्र पारेपछि पटक–पटक दबाब दिँदा समेत काम नगर्ने निर्माण कम्पनीको संरक्षण कुनै जरुरी छैन । ठेक्का तोडेर नयाँ प्रक्रियामै जानुपर्ने पक्षमा हामी छौँ । मैले सोमबार मात्रै कुरा गरेर चाँडो ठेक्का तोडेर नयाँ प्रकृयामा जान भनेको छु ।’

काम गरे जस्तो गर्ने तर कामै नगर्ने पाराले जनताले धेरै दुःख पाईरहेको उहाँले बताउनुभयो । काम नगर्ने कम्पनीसँग ठेक्का तोडियोेस् भन्ने पक्षमै रहेको हुँदा अब कुनै विकल्प दिन नसकिने बताउनुभयो ।

गत वर्षको मंसिर २२ गते पिचको काम शुरु गर्दासम्म डेढ किलोमिटर मात्रै सडक कालोपत्रे भएको थियो । मंसिरमा पाँच किलोमिटर मात्रै सडक पिच गरेपछि फेरि सडकको काम हुन सकेन । कालाकाटेदेखि गढवा सडकखण्डको बनघुस्रीदेखि गढवासम्मको २० किमी सडकको कामको भौतिक प्रगति आधा पनि भएको छैन । भौतिक प्रगति ४० प्रतिशत र वित्तिय प्रगति ३५ प्रतिशत रहेको हुलाकी राजमार्ग आयोजना कार्यालय नेपालगञ्जका प्रमुख भण्डारीले जानकारी दिनुभयो ।

अब बर्खा लागेकाले सडक कालो पत्रेको काम गर्न सम्भव नरहेको हुँदा यो बीचमा काम हुने अवस्था नरहेको बताउनुभयो । उहाँले नियमित काम भएको भए दुई तीन महिनामा सबै पिच सकिने बताउनुभयो । २०७९ मै म्याद सकिएकोमा कोरोना महामारीको समयमा ठेक्का लागेको र लकडाउनको कारण काम नभएकोेले म्याद थप गरिएको ठेक्कामा अहिले थप भएको म्याद सकिएको पनि धेरै भइसकेको छ ।

उता, गढवादेखि राजपुरसम्मको काम पूरा भएको छ । २०७६ मंसिर १ गते ६९ करोडको लागतमा बनाउने गरी एपेक्स कन्काई खड्का कृष्ण प्रालिले ठेक्का सम्झौता गरेको गढवादेखि राजुपरको गंगदी पारीसम्मको अर्को २० किलोमीटरको काम भने सकिएको आयोजना कार्यालयले जनाएको छ ।

Blog Post Ad Blog Post Ad