Ad Area

विपद् जोखिम बढ्यो, एक महिनामा ६२ को मृत्यु


दाङ,२३ असार । मनसुन सुरु भएयता बाढी, पहिरो, चट्याङजस्ता मनसुनजन्य विपद्का कारण ६२ जनाको मृत्यु, चार जना बेपत्ता र ९० जना घाइते भएका छन् ।

गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले उक्त तथ्याङ्कबारे जानकारी गराएको हो । केन्द्रका अनुसार यस अवधिमा बाढीका कारण मोरङमा एक, दाङमा तीन, कैलालीमा एक, काभ्रेपलाञ्चोकमा दुई, उदयपुरमा एक, पाल्पामा एकगरी नौ जनाको मृत्यु भएको छ । बाढीकै कारण दुई जना बेपत्ता छन् । पाँच घरमा पूर्ण रुपमा क्षति पुगेको छ । ११ घरमा आंशिक क्षति भएको छ ।

पहिराका कारण ३४ जनाले ज्यान गुमाएका छन् । पहिराले दुई जना बेपत्ता र ३८ जना घाइते भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । पहिराले ४३ घर पूर्ण रुपमा क्षति भएको छ । २४ घरमा आंशिक क्षति पुगेको छ । १९ वटा गोठमा क्षति भएको छ भने १२ जना घाइते भएका छन् । ११ घर पूर्णरुपमा र छ घर आंशिक रुपमा क्षतिग्रस्त छन् ।

बाढी र पहिराले हालसम्म आठ करोड छ लाख बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ । चट्याङ्बाट १९ जनाको मृत्यु र ३५ जना घाइते भएका छन् । “बाढी, पहिरो, डुबान, चट्याङजस्ता मनसुनजन्य घटना अझै बढ्दो क्रममा छ, क्षति न्यूनीकरणका लागि सम्बन्धित निकायसँग समन्वय र सहकार्य गरेर अगाडि बढिरहेका छौँ”, प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले भन्नुभयो, “यस वर्ष सरदरभन्दा बढी पानी पर्ने र १८ लाख मानिस प्रभावित हुने आँकलन गरिएको छ, तसर्थ सतर्कता अपनाउन जरुरी छ ।” उहाँका अनुसार यस वर्षको मनसुन अवधिमा चार लाख १२ हजार घरधुरी मनसुनजन्य विपद्मा पर्ने आँकलन गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागका प्रवक्ता सुनील पोखरेलले सोमबारदेखि मुलुकभर बाढीको जोखिम कम हुने जानकारी दिनुभयो । गृह मन्त्रालयको नेपाल विपद् जोखिम न्यूनीकरण पोर्टलअनुसार एक सातामा मुलुकको एक सय १० स्थानमा पहिरो गएको छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad