Ad Area

बाढी र पहिरोले ठाउँँ–ठाउँँमा क्षति


घोराही, २४ असार । अविर बर्षादका कारण जिल्लामा बाढी र पहिरोले ठाउँ ठाउँमा क्षति गरेको छ । पहिरो खस्दा घोराही–मसिना–सैघा सडक अवरुद्ध भएको छ । लगातार परेको बर्षादका कारण घोराही उपमहानगरपालिका– १८ र १९ को सिमाना अम्धारामा सडकमा पहिरो खस्दा सडक अवरद्ध हुन पुगेको सैघा स्वास्थ्य चौकीका प्रमुख ज्वलन्त खड्काले जानकारी दिनुभएको छ ।

स्वास्थ्य चौकी प्रमुख खड्काका अनुसार घोराही–मसिना–सैघा सडक अवरुद्ध हुँदा उक्त सडक खण्डमा सवारीसाधनहरु सञ्चालन हुन सकेका छैन । उक्त सडक हुँदै घोराही उपमहानगरपालिका वडा नं. १९ को सैघासँगै साना सवारीसाधन रोल्पाको धौलावाङ र होलेरीसम्म जाने गर्दछन् । लगातारको बर्षादका कारण अवरुद्ध सडक खुलाउन नसकिएको घोराही उपमहानगरपालिका वडा नं. १९ का अध्यक्ष ज्ञानबहादुर रायमाझीले जाकारी दिनुभएको छ । सडकका विभिन्न स्थानमा खसेको पहिरोसँगै भेलका कारण खोलामा सडक विग्रिएको भन्दै वडा अध्यक्ष रायमाझीले बर्षाद कम भएपछि पहिरो हटाएर अवरुद्ध सडक सञ्चालन गरिने जानकारी दिनुभएको छ ।

त्यसैगरी पहिरोका घोराही–रामपुर हुँदै हाँसीपुर जोड्ने विपी मार्ग शनिवारदेखि अवरुद्ध भएको छ । बर्षादका कारण बंगलाचुली गाउँपालिका वडा नं. ३ र ४ अन्तर्गत विभिन्न स्थानमा पहिरो खसेका कारण सडक अवरुद्ध भएको बंगलाचुली गाउँपालिका–८ मुलावारी निवासी पशुपति खत्रीले जानकारी दिनुभएको छ । सडक अवरुद्धसँगै जंगल क्षेत्रमा रुख ढलेर विद्युतको तारमा पर्दा शनिवारदेखि विद्युत अवरुद्ध हुन पुगेको छ ।

Blog Post Ad Blog Post Ad