Ad Area

आत्मनिर्भरकाे प्रयासले पर्यावरण संरक्षण गर्ने विद्यार्थीहरुको प्रतिवद्धता


घोराही, २१ असार । बढ्दो कार्वन उत्सर्जन कम गर्दै रोजगारी सिर्जना गरेर गरिबी अन्त्य गर्ने सवालमा भुमिका खेल्ने घोराहीका विद्यार्थीले सामुहिक प्रतिवद्धता जनाएका छन् ।

आत्मनिर्भर लघवित्त वित्तीय संस्था लिमिटेड दाङले शुक्रबार आयोजना गरेको मानवका कारण भई रहेको विनासको असर विषयक सेमीनारमा पर्यावरण संरक्षणमा बढ्दो चुनौतिको सामना गर्दै वातावरण जोगाउने उनीहरुले प्रतिवद्धता जनाएका हुन् ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत सोगतबीर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाले अबलम्बन गरेको थ्री जिरो अर्थात शुन्य कार्बन उत्सर्जन, शुन्य गरिबी र शून्य बेरोजगारीका सवालमा जानकारी लिँदै पृथ्वी जोगाउन र हरित उद्यमका क्षेत्रलाई प्रवर्द्धन गर्ने अठोट लिईएको छ ।

घोराहीका १० वटा विद्यालयबाट सहभागी करिव ६ सय विद्यार्थीले सेमीनारमार्फत लिएको ज्ञानलाई दैनिक जीवनमा उतार्ने र समुदाय स्तरमा फैलाउन आवश्यक रहेको बताएका छन् । बढ्दो प्रदुषणको कारक मानिसकै गलत गतिविधि भएकाले यसको न्यूनीकरण गर्न आफुबाटै असल अभ्यासको थालनी गर्ने उनीहरुको प्रतिवद्धता थियो ।

अहिले नेपालबाट युवाहरुको विदेश पलायनका कारण बारे पनि प्यानल छलफल भएको थियो । देशमै स्वरोजगारमुलक कामलाई प्रोत्साहन गर्ने र हरित उद्यमलाई प्राथमिकता दिएर आर्थिक विकासका क्षेत्रमा योगदान दिने उनीहरुको भनाई थियो ।

Blog Post Ad

सो अवसरमा, ग्रामीण महिला उत्थान केन्द्रकी संस्थापक अध्यक्ष आसमानी चौधरीले संस्थाले आर्थिक क्रियाकलापसँगै वातावरण संरक्षणका सवाललाई उजागर गर्ने काम गर्दै आएको बताउनुभयो । १२ देखि ३५ वर्ष उमेर समुहका व्यक्तिलाई थ्री जिरो क्लबमा आवद्ध गराउने प्रयासका साथ काम भईहेको हुँदा यसबाट थुप्रै आयाम ल्याउन सकिने उहाँको विश्वास थियो ।

नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष बसुन्धरा गौतमले थ्री जिरो क्लबको अवधारणा समुदायमा अझ व्यापक बनाउनुपर्ने बताउनुभयो । जनज्योति विद्या मन्दिरका शिक्षक जीवन आचार्यले राज्यले गर्नुपर्ने कामलाई संस्थाले गरिरहेको प्रयास अनुकरणीय रहेको बताउनुभयो । उहाँले सिकेको कुरा र ज्ञानलाई सबैले अनुशरण गर्न जरुरी रहेको बताउनुभयो ।

पद्मोदय पब्लिक नमुना माविका शिक्षक प्रकाश देवकोटाले सेमीनार निकै उपलब्धिमुलक रहेको बताउनुभयो । मावि रझेनाका शिक्षक मदन खनाल संस्थाले सचेतनाका पक्षमा गरिरहेको काम प्रशंसनीय रहेको छ । बालविकास माविका शिक्षक यादव आचार्यले सकारात्मक सोँच लिएर व्यवहारमा लागू गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा बालविकास मावि, अल्फा मावि, पद्मोदय पब्लिक नमुना मावि, सरस्वती मावि, दीपशिखा मावि, शान्तिसुधा मावि, मेरील्याण्ड मावि, मावि रझेना, जनज्योति विद्या मन्दिरका विद्यार्थीहरु, लक्ष्मीपुर थ्री जिरो क्लबका सदस्य लगायतको सहभागीता रहेको थियो ।सेमीनारमा संस्थाका हितबहादुर थापाले कार्वन उत्सर्जनको असर र चुनौतिका बारेमा, थ्री जिरो क्लबका बारेमा पार्वती बस्नेत, लघु वित्तका बारेमा पुरन अधिकारी र थ्री जिरो क्लबको महत्व र विद्यार्थीहरुको भुमिका बारे प्यानल छलफल छवि पुरीले गर्नुभएको थियो ।

आत्म निर्भर लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सोगतबीर चौधरीको विषय प्रवेशबाट शुरु भएको कार्यक्रमको सहजीकरण पार्वती बस्नेतले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad